+
+

साम्तेनका दुई नेपाली फिल्ममा संयुक्त लगानीका लागि अन्तर्राष्ट्रिय वितरकको चासो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १२:०४

काठमाडौं । फिल्म निर्देशक साम्तेन भुटियाको कान्स डेब्यु उपलब्धिपूर्ण देखिएको छ । उनका दुई नेपाली फिचर फिल्ममा संयुक्त लगानीका लागि बेलायत, अमेरिका र जापानका वितरकले रुचि देखाएका छन् भने एक अंग्रेजी फिल्म निर्माणका लागि उनले बेलायती निर्मातासँग सहकार्य गर्ने निधो भएको छ ।

साथै, एक छोटो फिल्मलाई पनि कान्स बजारमा ‘पिचिङ’ गरेका छन् । कान्सबाट फर्किएपछि अनलाइनखबरसँग कुरा गर्दै निर्देशक भुटियाले ड्रामा जनराको एक नेपाली फिचर फिल्मको लागि बेलायत, अमेरिका र जापानका वितरकले रुचि देखाइरहेको बताए ।

‘उहाँहरुसँग म निरन्तर छलफलमा छु । ती देशका वितरकसँग साझेदारीका लागि कागजपत्र तयार पार्ने काम सुरु भएको छ,’ उनले भने, ‘यी तीनमध्ये दुई देशका वितरकलाई यो फिल्ममा फाइनल गर्नेछु ।’

अर्को एक नेपाली फिल्मका लागि पनि आफूले कान्समा स्क्रिप्ट पेश गरेको र वितरकले यसमा पनि रुचि देखाएको उनले बताए । यी दुईमध्ये पहिलो फिल्मको छायांकन आगामी वर्षदेखि नेपालको पहाडी क्षेत्रमा गर्ने उनको तयारी छ । दोस्रो फिल्मलाई चाहिं नेपाल र सिक्किममध्ये कुन ठाउँमा छायांकन गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

उनले सहनिर्माण गर्ने बेलायती अंग्रेजी फिल्मको छायांकन चाहिं भारतमा गर्ने तयारी छ । ‘उहाँ वितरक पनि बेलायती नै हुनुुहुन्छ र साइन गर्न बाँकी छ,’ उनले भने, ‘अब यी प्रोजेक्टका लागि म पेपरवक्र्समा लाग्छु ।’ उनले आफ्नो कान्स यात्रा सफल रहेको र औधी खुसी भएको प्रतिक्रिया दिए ।

कान्स मार्केटजस्ता ठूला प्लेटफर्ममा अन्तर्राष्ट्रिय वितरकले युनिभर्सल अपील बोक्ने खालका कथावस्तुलाई छनोट गर्ने गरेको उनले बताए । ‘भाषा मुख्य होइन । जुन भाषाको भए पनि हुन्छ । तर कथावस्तुले संसारका सबै मान्छेको हृदयलाई छुन सक्नुपर्‍यो,’ उनले भने, ‘बरु हृदय छुनेको जमात कत्रो हुन्छ, त्यो उनीहरुको चासो हुने रहेछ ।’

उनले अगाडि भने, ‘हामीले थोरै दर्शकको जमातलाई लक्षित गर्दै फिल्म बनाउँछौं । तर बाहिर चाहिं व्यवसायिक मात्र नभएर कलात्मक फिल्मको कथावस्तुले संसारका सबै खाले दर्शकलाई हल्लाएर राख्छ ।’ नेपाली फिल्मले यस्तो खाले बजारको खोजी गर्नुपर्ने उनको सुझाव छ । ‘मैले यसपटक विगतका गल्तीबाट धेरै सिक्ने अवसर पाएको छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?