+
+

पर्यटन प्रवर्द्धनका लागि ‘ताप्लेजुङ–दार्चुला बाइक टुर’ 

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १३:१२

१० जेठ, काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि युवा पत्रकार तथा कलाकारको टोलीले १०–२५ जेठसम्म ‘ताप्लेजुङ–दार्चुला पर्यटन प्रवर्द्धन टुर’ गर्ने भएको छ । पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरुको थप प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि सामूहिक प्रयासस्वरुप ताप्लेजुङ–दार्चुला ‘बाइक टुर’ गर्न लागिएको हो ।

५ वटा मोटरसाइकलमा १० जनाको टिमले गर्ने टुरका लागि नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एसोसिएसन अफ नेपाल (हान) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग सहकार्य गरिएको छ ।

१० जेठदेखि सुरु हुने टुर अन्तर्गत काठमाडौंदेखि मध्यपहाडी लोकमार्ग भएर सिन्धुली, खोटाङ, भोजपुर हुँदै ताप्लेजुङ पुग्ने र ताप्लेजुङदेखि मेची राजमार्ग हुँदै झापा पुग्ने योजना छ । झापादेखि महेन्द्र राजमार्ग हुँदै कञ्चनपुर र कञ्चनपुरदेखि अत्तरिया हुँदै डडेल्धुरा भएर दार्चुला पुग्ने लक्ष्य छ ।

दार्चुलाबाट मध्यपहाडी लोकमार्ग भएर डोटी, अछाम, कालिकोट, दैलेख भएर सुर्खेत सदरमुकाम वीरेन्द्रनगर झर्ने योजना छ । सुर्खेतदेखि फेरि मध्यपहाडी हुँदै सल्यान, जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, बागलुङ हुँदै पोखरा भएर जेठ २५ गतेसम्म काठमाडौं फर्किने कार्यक्रम छ ।

ताप्लेजुङ–दार्चुला टुर अन्तर्गत सात प्रदेशका मुख्य सहर तथा पर्यटकीय क्षेत्र विराटनगर, जनकपुर, चितवन, लुम्बिनी, नेपालगञ्ज, कर्णाली चिसापानी, धनगढी र महेन्द्रनगरमा ‘नेपालको पर्यटन प्रवर्द्धनमा तीन तहका सरकार र निजी क्षेत्रको भूमिका, पर्यटनमा जलवायु परिवर्तनको असर, दिगो पर्यटनका चुनौति’ लगायतका विषयमा ‘प्यानल डिस्कसन’ हुनेछ ।

एनटीपी मल्टिमिडिया ग्रुप र नेपाल टुरिजम फेस्टिभलको संयोजनमा हुन लागेको ‘ताप्लेजुङ–दार्चुला बाइक टुर’ अन्तर्गत सात प्रदेशका एक सय पर्यटकीय गन्तव्य तथा एक हजार सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने टुर कार्यक्रमको उद्देश्य छ ।

युवा पत्रकार तथा कलाकारको यो टोलीको बाइक टुरले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा दिनुका साथै सातै प्रदेशको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरुको भूमिकालाई थप सशक्त बनाउने आयोजकको विश्वास छ ।

२०८० देखि २०९० सालसम्मलाई पर्यटन भ्रमण दशक बनाउने सरकारको महत्वाकांक्षी लक्ष्यलाई समेत साथ दिन गर्न लागिएको यो टुरले पर्यटन प्रवर्द्धनका चुनौती र सम्भावनाबारे थप बृहत छलफल तथा बहसको सुरुवात गर्दै नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गर्नुपर्ने काम तथा नयाँ कार्यक्रम ल्याउन पनि मद्धत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?