+
+

‘ई-हाजिरी’ कि ‘नो हाजिरी’ !

‘जहाँ इच्छा त्यहाँ उपाय’ वा ‘चोरका अनेक दाउ’ भने झैं मान्छे स्वयं इमानदार नहुने हो भने प्रविधिको प्रयोगले मात्रै पनि सबै किसिमको दुरूपयोग रोक्न सकिंदैन ।

डा. बच्चुकैलाश कैनी डा. बच्चुकैलाश कैनी
२०८० जेठ ११ गते ९:३३

भर्खरै मात्रै एउटा समाचार पढें, ‘संघीय संसदमा छिट्टै ई-हाजिरी लागू गर्ने तयारी हुँदैछ।’ यो पढ्ने बित्तिकै मेरो मनमा धेरै कुरा आए। उतिबेला रजिस्टरमा हाजिर गरेको सम्झिएँ। नेपालमा मैले केही वर्ष पहिले काम गर्ने कार्यालयमा ई-हाजिरी लागू गर्दा भोगेका कुरा याद आए। बेलायतमा १६ वर्षे जागिरे जीवनका भोगाइ त भुल्ने कुरै भएन।

नेपालमा पहिले पहिले हाजिरी कापी वा रजिस्टरमा बिहान कार्यालय पुग्ने बित्तिकै र साँझमा कार्यालयबाट निस्कनु भन्दा अघि समय लेखी दस्तखत गरी हाजिरी गर्ने प्रचलन थियो। सुरु–सुरुमा जागिर गर्न जाँदा हाजिर कापीमा हाजिर गर्दा मन कम्ती खुशी हुँदैनथ्यो।

त्यस्तै, वर्षको अन्त्यमा कालो, नीलो र कहीं कहीं रातो कलमले लेखेको बाह्रै महिनाको पूरै हाजिर पेज हेर्दा कति छिट्टै वर्ष बितेछ भन्ने आभास हुन्थ्यो।

हाजिर कापीमा हाजिर गर्ने प्रचलनलाई अहिले करिब–करिब ई-हाजिरीले विस्थापित गर्ने अवस्था छ। समयानुकूल परिमार्जन वा सुधार हुँदै प्रविधिको प्रयोग हुनु स्वाभाविक हो। समयको माग पनि यही हो।

तर, अस्वाभाविक के हो भने देशकै नीति–नियम बनाउने समाजका सबैभन्दा अग्रज, विधायिका भनेर चिनिने र जनताले विश्वास गरेका वा जनमत प्राप्त जनप्रतिनिधिले हाजिरीको दुरूपयोग गरेकोले वा नैतिकता, सभ्य समाजको मूल्य र मान्यता भन्दा बाहिर गएर काम गरेकोले सो रोक्न ई-हाजिरी प्रयोग गर्नुपर्ने अवस्था आउनु दुःखदायी र दुर्भाग्यपूर्ण खबर हो।

उच्चतम नैतिकता देखाएर देश र समाजलाई अग्रपथमा लैजाने, देशलाई समृद्धि र समुन्नत बनाउने जिम्मेवारी जनप्रतिनिधिको हो। जनप्रतिनिधिको हरेक काम पारदर्शी हुनु जरुरी छ। उनीहरू सबैको लागि नमूना हुनुपर्छ।

उनीहरू मात्रै हैन जो–कोही अग्रजले कहीं कतै आफ्नो बाटो बिराउने छुट हुँदैन। यो कुरा जनप्रतिनिधिको हकमा मात्रै हैन, समाजका सबै नागरिकले पालना गर्नुपर्छ। तर, सुधारको सुरुवात अग्रजले गर्ने हो र जनप्रतिनिधि सबैको मान्य हुने हो। त्यो पनि नामले हैन कामले हुने हो।

कतिपय कुराहरू भनिरहनु पर्दैन। समाजमा एउटा प्रचलित मान्यता हुन्छ। त्यसलाई सबैले मान्नुपर्ने हुन्छ। कतिपय कुरा लिखितमा नै हुनुपर्छ भन्ने पनि छैन। जस्तो कि बेलायतको संविधान अलिखित छ तर पनि, सबैले मान्छन्। त्यसको पूर्ण परिपालना हुन्छ। सामाजिक मूल्य, मान्यता र नैतिकताको कुरा गर्दा कसैले भनिरहनुपर्ने वा सम्झाइरहनुपर्ने हुनु नपर्ने हो।

जसले कहीं केही काम गर्छ र त्यसको लागि नियमले तलब वा भत्ताको व्यवस्था गरेको हुन्छ भने त्यहाँ तलब वा भत्ता पाउनको लागि उपस्थित भएर मात्रै हुँदैन, तोकिएको काम नै गर्नुपर्ने हुन्छ। त्यस्तै बैठकमा उपस्थित भएर तोकिएको ठाउँमा बस्नु, माननीयहरूको कुरा सुन्नु, आफ्नो कुरा सुनाउनु र विचार राख्नु माननीयहरूको काम, कर्तव्य र अधिकार हो। जति सक्रियतापूर्वक बैठकमा भाग लियो, उति आफ्नो कुरा राख्ने, केही कुरा सुन्ने र बुझ्ने अवसर मिल्छ।

हाम्रा माननीयहरूले पनि संसदमा हाजिर नै गर्नु नपर्ने गरी सबै जनताको विश्वास जित्ने र विश्वासको वातावरण बनाउने काम गर्ने हो भने कुनै पनि हाजिरी वा ‘ई-हाजिरी’ को जरुरत पर्दैन। उहाँहरूले राम्रो काम गर्ने, आफ्नो कर्तव्य राम्रोसँग पालना गर्ने र देश, समाज र जनताको समृद्धि र समुन्नत नेपालको लागि निष्ठापूर्वक काम गर्ने हो भने उहाँहरूको लागि ‘नो हाजिरी’ भनिदिए हुँदैन र ?

तर, हाम्रा धेरै माननीयको कुरा नै बेग्लै छ। कतिपय माननीय बैठकमा अनुपस्थित हुने, कोही बैठकमा भत्ताको लागि मात्रै हाजिर जनाउने, कतिपय उपस्थित भए पनि निदाउने, धेरैले बैठकमा सक्रियता नजनाउने आदि कुरा सामान्य नै भइसक्यो। बैठकमा नबस्ने तर उपस्थित जनाएर निस्कनु गैरकानुनी मात्रै हैन, सामाजिक मान्यता र नैतिकताको पनि विपरीत हो।

नेपालमा ई-हाजिरी अर्थात् इलेक्ट्रोनिक हाजिरी गर्ने कुरा भर्खर–भर्खर केही वर्ष यता सुरु भएको हो। यो प्रणाली विस्तारै देशका सुगम मात्रै हैन दुर्गमतिर पनि लागू हुँदै गइरहेको समाचार पढ्न र सुन्न पाइन्छ। प्रविधिले फड्को मारेसँगै ई-हाजिरीको प्रचलन भरपर्दो, किफायती र विश्वसनीय बनेको कुरा नकार्न सकिंदैन। यसका पक्ष र विपक्ष दुवैमा तर्क र वितर्क गर्न सकिन्छ, तर यो लेखको उद्देश्य त्यो हैन।

कर्मचारी वा हाजिर गर्ने जो कोही इमानदार नहुने हो भने ई-हाजिरीले मात्रै दुरूपयोग रोक्दैन भन्ने कुरा मैले अनुभव गरेको छु। केही वर्ष पहिले म कार्यालय प्रमुख भई काम गरेको नेपालको एउटा कार्यालयको एउटा घटना सुनाउँछु।

पहिले आफ्नो परिचयपत्र कार्ड रिडरमा देखाएर, छुवाएर वा ट्याप गरेर ई-हाजिरी गर्ने प्रचलन थियो। अधिकांश कर्मचारीले इमानदारीपूर्वक ई-हाजिरी गर पनि केही कर्मचारीले छिटो जानु पर्दा वा अर्को दिन ढिलो आउने हो भने आफ्नो कार्ड आफ्नो साथीलाई दिने र हाजिर गर्न लगाउने गरेको पाइयो।

यसैलाई रोक्न हामीले आँखाको रेटिना पढ्न सक्ने वा हातको औंठा छाप गरेर हाजिर गर्ने वा दुवै हुने व्यवस्था मिलाउनुपर्ने भयो। हातको औंठा छाप प्रयोग गर्दा कतिले मेरो हात यो मेसिनले पढ्न सक्दैन भन्नेसम्मका बहाना बनाए। कति पटक कर्मचारीले नै मेसिन बिगारेर दुःखद र खेदपूर्ण हर्कत गरेको पनि जानकारी आयो। ‘जहाँ इच्छा त्यहाँ उपाय’ वा ‘चोरका अनेक दाउ’ भने झैं मान्छे स्वयं इमानदार नहुने हो भने प्रविधिको प्रयोगले मात्रै पनि सबै किसिमको दुरूपयोग रोक्न सकिंदैन।

अब, यता बेलायततिरको कुरा गरौं। करिब १६ वर्ष बेलायतमा काम गर्दा मैले पूर्णकालीन र आंशिक गरी नौ वटा संस्थाहरूमा काम गर्ने अवसर पाएँ। त्यो पनि एउटा बाहेक सबै सरकारी अस्पताल र विश्वविद्यालयमा काम गरें मैले। यो १६ वर्षे बेलायती जागिरे जीवनमा अहिलेसम्म कुनै पनि संस्थाहरूमा मैले हाजिरी गरेको अनुभव छैन।

मैले मात्रै हैन मैले काम गर्ने यी कार्यालय वा संस्थाहरूमा अरु कोही कर्मचारीले पनि हाजिरी गरेको देखेको र सुनेको छैन मैले। किनकि त्यहाँ कसैलाई पनि हाजिर गर्नुपर्ने नियम थिएन। केवल कामको प्रतिफल वा नतिजाले नै हाजिर भएको प्रमाणित हुने अवस्था थियो। कामको प्रतिफल नआउने हो भने हाजिर गरेर मात्रै त्यसको कुनै मतलब हुँदैन। कार्यालयमा काम गर्दा वा कुनै काम गर्दा मुख्य कुरा वा उद्देश्य हाजिर गर्ने हैन, कसैले कामको कति प्रतिफल दियो वा कामको कस्तो नतिजा आयो भन्ने हो।

बेलायतमा यसो किन हुन्छ? यसका धेरै कारण छन्। बेलायतको समाज सभ्य छ। अधिकांश मानिस कर्तव्यनिष्ठ छन्। आफ्नो जिम्मेवारी राम्रोसँग पालना गर्छन्। धेरैजसो मानिस आफ्नो उत्तरदायित्व राम्रोसँग बहन गर्छन्। देश र समाज पनि विधि र विधानमा चल्छ। हरेक कर्मचारीले आफ्नो कर्तव्य र दायित्व इमानदारीपूर्वक पालना गर्ने हो भने हाजिरीको जरुरत किन पर्छ ?

यदि कसैलाई हप्ताको पाँच दिन सोमबारदेखि शुक्रबारसम्म ९-५ को समय काम गर्ने गरी समयतालिका तोकिएको छ भने उसले त्यही समयतालिका अनुसार काम गर्नुपर्छ र गर्छ भन्ने मान्यता हुन्छ। कुनै काम परेर छुट्टी लिनु परेको अवस्था वा बिरामी भएको अवस्थामा मात्रै खबर गर्नुपर्ने वा फर्म भर्नुपर्ने हुन्छ। अन्यथा, सबैले आफ्नो काम आफ्नो समयमा गर्छन् भन्ने हुन्छ। त्यसैले हाजिरीको जरुरत परेको छैन यता बेलायतमा।

भनिन्छ नि, संसार विश्वासमा चलेको छ। अविश्वास गर्ने हो भने सम्बन्ध र संसार दुवै लथालिंग र भताभुंग हुन्छ। प्रख्यात लेखेक स्टेभिन कोभेले भनेका छन्, ‘विश्वास मानव प्रेरणाको उच्चतम रूप हो, यसले मानिसहरूको असली रूप बाहिर ल्याउँछ।’

हाम्रा माननीयहरूले पनि संसदमा हाजिर नै गर्नु नपर्ने गरी सबै जनताको विश्वास जित्ने र विश्वासको वातावरण बनाउने काम गर्ने हो भने कुनै पनि हाजिरी वा ‘ई-हाजिरी’ को जरुरत पर्दैन। उहाँहरूले राम्रो काम गर्ने, आफ्नो कर्तव्य राम्रोसँग पालना गर्ने र देश, समाज र जनताको समृद्धि र समुन्नत नेपालको लागि निष्ठापूर्वक काम गर्ने हो भने उहाँहरूको लागि ‘नो हाजिरी’ भनिदिए हुँदैन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?