+
+

पारिश्रमिक नपाएकोबारे बुद्धि तामाङको गुनासो : ६० वटा चेक साट्नै बाँकी छ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १२:४०
फाइल तस्वीर

काठमाडौं । अभिनेता बुद्धि तामाङ अहिलेका निकै व्यस्त कलाकार हुन् । फिल्मदेखि देश–विदेश दौडाहामा उनलाई भ्याइनभ्याइ छ । फिल्ममा उनी यति व्यस्त छन् कि एक वर्षसम्मै उनको फिल्म ‘लाइनअप’ प्याक छ । फिल्म वृत्तमा ‘इमान्दार’ छविको रुपमा चिनिने तामाङले काम गराइको तीतो यथार्थ मिडियासामु पोखेका छन् ।

कामप्रतिको आफ्नो लगावलाई फिल्म निर्मातादेखि धेरै साथीभाइले उपयोग गर्न खोजेको गुनासो उनले गरे । फिल्ममा काम गरेअनुसार पारिश्रमिक नपाएकोदेखि सापटी लिएर फिर्ता नगर्नेसम्मको हैरानी उनका छन् । हिमालय टिभी एचडीको कार्यक्रम सेलेब्स टकमा कुरा गर्दै उनले आफ्नो घरमा झण्डै ६० जति चेक साट्न बाँकी रहेको बताए ।

‘ती चेक साटेबापत उठाउनुपर्ने रकम एक करोडभन्दा बढी छ,’ उनले भने । तर उनले कुन फिल्म र व्यक्तिबाट पारिश्रमिक लिन र चेक साट्न बाँकी हो भन्ने खुलाएनन् । ‘१५-२० वटा चेक साटिएला भन्ने त आशा मारिसकें,’ उनले गुनासो पोखे । कतिपय फिल्म निःशुल्क समेत गरेको उनले बताए ।

‘केहीले समाजसेवाजस्ता उद्देश्य राखेर फिल्मको प्रस्ताव ल्याउनुहुन्छ । ती फिल्मलाई या त निकै कम शुल्क र निःशुल्क पनि गरेको छु,’ उनले भने । उनले आफ्नो रेट तोकेको जानकारी समेत दिए । बुद्धिले कम्तीमा १० लाख रुपैयाँ पारिश्रमिक लिने चर्चा रहे पनि उनले पारिश्रमिकबारे खुलाएनन् ।

‘छक्कापञ्जा’ र ‘कबड्डी’ सिरिजले आफूलाई दर्शकमाझ चिनाएको उनले बताए । बुद्धि फिल्ममा हैट थेगोले पनि चर्चित छन् । ‘यो थेगोले चिनिंदा एकातिर खुसी छु भने अर्कोतिर दुःखी,’ बुद्धि भन्छन्, ‘समग्रमा खुसी छु ।’ दर्शकले ‘इन्जोय’ गरेकै कारण आफूलाई साइड रोलमा काम गर्दा मज्जा आइरहेको उनले बताए । ‘खुसी भएकै कारणले साइड रोलमा खेलेको छु । लिड रोलमा अहिलेसम्म अफर आएको छैन । आइहाल्यो भने गर्नेछु,’ उनले भने ।

बुद्धिले हालै ४० वर्षको उमेरमा विवाह गरे । उनकी २९ वर्षीया श्रीमती पढ्न अष्ट्रेलिया पुगेकी छन् । श्रीमतीसँगै अष्ट्रेलिया पुगेका बुद्धि केही समय बसेर फिल्म खेल्न काठमाडौं फर्किएका छन् । ‘घरबाट निकै दबाब आएर १० दिनमै विवाहको छिनोफानो भयो । २५ देखि ३० को उमेरमा नाटकमा व्यस्त भएपछि विवाह जुरेन,’ उनले भने ।

बुद्धि अभिनित पछिल्ला छक्कापञ्जा ४ र कबड्डी ४ ब्लकबस्टर फिल्महरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?