+
+

‘हाम्रो व्यक्तित्वमा आँच पुर्‍याइयो’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १४:१५
दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक कृष्ण गिरी ।

९ जेठमा ‘इन्स्पेक्टरलाई ठक्कर दिने गाडी चालकबाट १० लाख लिएर चलाइयो अभद्र व्यवहारमा मुद्दा’ शीर्षकमा समाचार अनलाइनखबरमा प्रकाशित भएको थियो । समाचारमा दुर्घटनाका घाइते प्रहरी निरीक्षक कृष्ण गिरीसँग लामो कुराकानी गरेर उनको दाबी पनि समाचारकै रुपमा प्रकाशित गरिएको थियो ।

काठमाडौंमै भएको सडक दुर्घटना र दुर्घटनाका कारण प्रहरीकै जिम्मेवार अधिकृत घाइते भएको घटनालाई नजिकको प्रहरी कार्यालय सोह्रखुट्टेले दुर्घटना नै नभएको प्रहरी प्रतिवेदन बनाएर फरक अभियोजनमा मुद्धा दायर गरेको सप्रमाण समाचारमा उल्लेख छ ।

दुर्घटना गराउने चालक ईश्वर मगरबाट दुर्घटनाका कारण घाइते भएका गिरी परिवारले उपचार शोध भर्नाका रुपमा ९ लाख ७५ हजार रुपैयाँ बुझिसकेको र थप उपचारसमेत भइरहेको सत्य एकातिर र प्रहरीले चलाएको मुद्दा अर्कोतिर भएपछि गलत अभियोजन सम्बन्धमा समाचार प्रकाशित गरिएको थियो ।

समाचारमा चालक पक्षले नगद दिएको र रकम जम्मा गरेको बैंक खाता सञ्चालक एवं पीडित श्रीमती सुमित्रा जमकट्टेलले लामो प्रतिक्रिया अनलाइनखबरलाई पठाउँदै समाचारमा आफूहरुलाई अन्याय गरिएको दाबी गरेकी छिन् । समाचार भ्रमपूर्ण भएको र आफूहरु पीडित अवस्थामा रहँदा रहँदै थप पीडित बनाउने गरी समाचार संप्रेषण भएको उनको दाबी छ । सुमित्रा जम्कट्टेलले गरेको दाबी समाचारको प्रतिक्रियाको रुपमा सम्पादन गरेर यहाँ प्रकाशित गरिएको छ ।

प्रस्तुत विषयमा अनलाइनखबरमा मेरो श्रीमानको दुर्घटनाको विषयमा मिति २०८०/०२/०९ गते लेखिएको समाचारको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा उल्लिखित तथ्यका सम्बन्धमा सत्य तथ्य व्यहोरा निम्नानुसार रहेको छ ।

****

१. एक निष्ठावान, कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारी आफ्नो ड्यूटी सकेर घर फर्कने क्रममा मिति २०७९/११/०३ गते राति अत्यधिक मदिरा सेवन गरी, सवारी चालक अनुमति पत्र समेत नभएको चालकले लापरवाहीपूर्ण तरिकाले सवारी चलाई दुर्घटना गराएकोमा मेरो श्रीमान उक्त गाडीको ठक्करबाट गम्भीर घाइते भई जीवन मरणको दोधारको अचेत अवस्थामा तत्कालै स्थानीय तथा प्रहरीले उद्दार गरी ग्राण्डी अस्पताल पुर्‍याई आईसीयूमा उपचाररत रहेको ।

२. उक्त दुर्घटनामा मेरो श्रीमानको खुट्टा, दुबै हात, कुम तथा अनुहारका समेत गरी गरी १३ ठाउँमा हड्डी भाँचिएको, डाक्टरहरुको सल्लाह बमोजिम अनुहार तथा हातको तत्काल सर्जरी गर्नुपर्ने भनी सल्लाह दिनु भएकोमा हालसम्म ५ ठाउँमा अप्रेसन गरेको तथा स्वास्थ्यमा समस्या आई पुनः अप्रेसन गर्नुपर्ने भएको, तत्कालिन समयमा सवारी पक्ष सम्पर्कमा समेत नआएको ।

३. तत्कालिन समयमा ग्राण्डी अस्पतालमा उपचार पश्चात हाम्रो न्यूनतम आर्थिक अवस्था रहेको तथा सवारी धनी पक्षलाई पनि सहज होस भनी सहुलियत दरमा नै उपचार होस् भन्ने हेतुले सुविधा सम्पन्न ग्राण्डी अस्पतालको आईसीयूबाटै रेफर गर्न लगाई नेपाल प्रहरी अस्पतालमा आई सोही अस्पतालमा अनुहार लगायतको अप्रेसन गरेको, उपचार गर्ने क्रममा थप जटिल समस्या आए पश्चात बाध्यात्मक अवस्था सिर्जना भई सो अस्पतालबाट रिफर गरिएको ।

४. मिति २०७९/१२/०६ गते ब्लुक्रस अस्पतालमा हातको अप्रेसन गरी हालसम्म हात, खुट्टा लगायतको फिजियो थेरापी गर्दै आइरहेकोमा हातमा पुनः समस्या देखिएकाले पुनः अर्को अप्रेसन गर्नुपर्ने भनी डाक्टरले सल्लाह दिई सोही बमोजिम तय गरिएको । पुन अप्रेसन पश्चात पनि हात पहिलेकै अवस्थामा नफर्कन सक्ने भनी लिखित रुपमा सुझाव दिएको ।

५. बिगत करिब तीन महिना लामो समयको ह्वीलचियरको जिन्दगी पश्चात वैशाखीको सहाराले सामान्य हिँडडुल गर्न सक्ने भए पनि हातको समस्याले थप जटिलता ल्याइरहेको ।

६.नेपाल प्रहरी अस्पतालबाहेक अन्यत्र अस्पतालहरुमा गरेको सम्पूर्ण उपचार खर्च स्वयं मेरो परिवारले बेहोर्दै आएको, खर्चको सम्पूर्ण विवरण बिल हामीसँग समेत सुरक्षित रहेको र सोको विवरण सम्बन्धित अस्पतालहरुमा पनि सुरक्षित रहेको जानकारी गराउन चाहन्छु ।

७.तत्काल सवारीधनी पक्षलाई पटक पटक सम्पर्क गर्दा समेत नआएको, सुविधा सम्पन्न ग्राण्डी अस्पतालको आईसीयूबाटै नेपाल प्रहरी अस्पताल रिफर गरी न्यूनतम खर्चमा उपचार होस् भनी रेफर गर्न लगाएको, सो अस्पतालमा उपचारको क्रममा समस्या जटिल बन्दै गएपछि ज्यानै बचाउनु ठूलो कुरा हो भनी रेफर गरी आफ्नै खर्चमा उपचार गरी ज्यान बचाएको (प्रहरी अस्पताल बाहेकको अन्य अस्पतालको कुनै पनि उपचार खर्च प्रहरी अस्पतालले नबेहोरेकामा उपचारको सम्पूर्ण खर्च बेहोरेको भनि गलत समाचार सम्प्रषण गरेको), प्रहरीमार्फत पटक पटक उपचारमा संलग्न हुन सम्बन्धित सवारी धनीका पक्षलाई जानकारी गराउँदा हामी आउन भ्याउँदैनौ मान्छे बचाउनुपर्छ उपचारमा लागेको सम्पूर्ण खर्च हामी बेहोर्छौं भन्दै आएकोमा सुरु सुरुमा हामी आउन सकेनौ उपचार गर्नुहोस् भन्दै लागेको बिल बमोजिमको खर्च खातामा हालिदिएकोमा मेरो श्रीमानको स्वास्थ्यमा थप समस्या देखिई अस्पताल धाउन पर्दा उपचारको क्रममा आउनुहोस् भन्दा सम्पर्क बिहीन भई बिभिन्न माध्यमबाट टर्चर सिर्जना गराउदै आएको । हालसम्म सवारी धनी पक्षले तिरेको रकम भन्दा धेरै रकम मेरो परिवारका सदस्यले उपचारको क्रममा खर्च गरेको सोको सम्पूर्ण प्रमाण हामीसंग रहेको ।

८.राष्ट्रसेवक कर्मचारीलाई आफ्नो कर्तव्य पालनाको सिलसिलामा मादक पदार्थ सेवन गरी, सवारी चालक अनुमति पत्रसमेत नभएको व्यक्तिले लापरवाहीपूर्ण तवरले सवारी चलाई मरणासन्न अवस्थामा पुर्‍याई विगत चार महिनादेखि निरन्तर उपचाररत रहेको र कहिलेसम्म यो अस्पतालको कठिन यात्रा चलिरहने यकीनसमेत नभएको, पारिवारिक अवस्था बेहाल भएको, भावबिह्वल अवस्थामा रहेको, मेरो श्रीमान आफ्नो कर्तव्यपालनामा फर्कन समेत नसकेको ।

९.यस्तो विषम परिस्थितिमा चार महिनादेखि बेड रेस्टमा रही जीवन मरणको दोधारको स्थितिबाट उपचाररत रहेको अवस्थामा के कुन मुद्दा चल्यो सम्बन्धित कार्यालय प्रमुखलाई नै थाहा हुने कुरा हो, प्रहरी भएकै कारण, अनुशासित संगठन एवं चेन अफ कमाण्डमा रहेको, बाहिर आफ्ना कुरा राख्न सक्दैनन् भनी उपचार गरी बाँच्नै नपाउने भन्ने त भएन नि ? मरणासन्न अवस्थामा पुर्‍याई, उपचाररत रहेको, ह्वीलचियरको जिन्दगीबाट बैशाखीको सहारामा बाँचिरहेको व्यक्तिलाई, वास्तविकता समेत नबुझी जिम्मेवार सञ्चार माध्यमबाट मादक पदार्थ सेवन गरी, सवारी चालक अनुमति पत्र समेत नभएको व्यक्तिले, लापरवाहीपूर्ण तवरले सवारी चलाई मरणासन्न अवस्थामा पुर्‍याएकोमा त्यस्तो व्यक्तिलाई पीडित देखाई भ्रमात्मक, कपोकल्पित समाचार सम्प्रेषण गरी गम्भीर घाइते भई उपचाररत पीडितलाई मानसिक टर्चर गरी, सामाजिक इज्जत प्रतिष्ठालाई मानमर्दन गरी प्रहरी भएकै कारण उपचार गरी बाँच्न पाउने अधिकारलाई नै कुण्ठित गरिनु खेदजनक छ, वास्तविकता सम्प्रेषण गरी पाउँ ।

१०.वास्तविकता बुझी, कानून बमोजिम न्याय पाऊँ भनी बिनम्रतापूर्वक यो अनुरोध पेश गरेकी छु ।

सुमित्रा जम्कट्टेल

(घाइते प्रहरी निरीक्षक कृष्ण गिरीकी श्रीमती)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?