+
+
गलत अभियोजन :

इन्स्पेक्टरलाई ठक्कर दिने गाडी चालकबाट १० लाख लिएर चलाइयो अभद्र व्यवहारमा मुद्दा

सवारी चालक ईश्वर मगरले मोटरसाइकलमा सवार इन्स्पेक्टर कृष्ण गिरीलाई ठक्कर दिएर घाइते बनाए । प्रहरी अस्पतालमा उपचार गराएका इन्स्पेक्टर गिरीलाई १० लाख रुपैयाँ उपचार खर्च पनि तिरे । तर, अहिले मगरलाई ‘अभद्र व्यवहार’को मुद्दा चलाइएको छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० जेठ ९ गते २०:५१

९ जेठ, काठमाडौं । मिति र समय : ३ फागुन २०७९ को राति साढे ८ बजे । स्थान : नयाँबजारको भ्याली कोल्डस्टोर अगाडि ।

बालाजुबाट नयाँबजार गइरहेको सामान बोक्ने हात्ती गाडी र टेकुबाट माछापोखरी जाँदै गरेको मोटरसाइकल नयाँबजारको भ्याली कोल्डस्टोर अगाडि ठोक्किए । गाडी ईश्वर मगरले चलाएका थिए भने मोटरसाइकलमा कृष्ण गिरी थिए । खोजतलासका क्रममा उनी काठमाडौं प्रहरी परिसर, टेकुमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) भएको खुल्यो ।

घटनालगत्तै वरपरका मानिस जम्मा भए, प्रहरीलाई खबर गरे । प्रहरी वृत्त लैनचौरबाट गएको टोलीले घाइते गिरीलाई ग्राण्डी अस्पताल, धापासी पुर्‍यायो । ठक्कर दिने गाडीका चालक ईश्वर मगरलाई पक्राउ गरेर लैनचौर वृत्तको हिरासतमा राख्यो ।

‘भोलिपल्ट बिहानै बिजुलीको सामान लिएर उपत्यका बाहिर जानुपर्ने थियो, म हतारहतार निस्किएँ’ मगरले भने, ‘खसीको मासु लिएर आउनु भनेर जहानले फोन गरेपछि भ्याली कोल्डस्टोरबाट मासु लिएर कोठा जाँदै गर्दा दुर्घटना भयो ।’

नयाँ बजारस्थित दुर्घटना स्थल विष्णुमती करिडोर ।

ईश्वर मगरले त्यो रात प्रहरी हिरासतमा बिताएपछि भोलिपल्ट बिहान उनलाई खोज्दै मामा राजेन्द्र मगर प्रहरी कार्यालय पुगे । प्रहरीले घाइते इन्स्पेक्टरको उपचार खर्च व्यहोर्नुपर्ने बतायो । अनि मामा राजेन्द्रलाई चालक ईश्वरका तर्फबाट साक्षी बस्न अनुरोध गर्‍यो । त्यही दिन राजेन्द्रले चालक ईश्वरका जेठान कृष्ण मगरलाई पनि बोलाए ।

घाइतेका परिवारले अस्वाभाविक रूपमा बारम्बार रकम माग्न थालेपछि पक्राउ परेका चालकका मामा राजेन्द्रले ‘अवस्था बुझ्न पाए हुने’ भनेर बिरामी भेट्न खोजे । गिरीको परिवारका सदस्यको टोलीले उनीहरूलाई हप्काए ।

दुवै जना भएर पर्सिपल्ट ग्राण्डी अस्पताल पुगे । दुर्घटना गराएको भनेर इन्स्पेक्टर कृष्ण गिरीको परिवार उनीहरूमाथि जाइलागे । आफ्नै नातेदारको गल्तीका कारण दुर्घटना भएको र पीडित स्वयं प्रहरी भएकाले उनीहरू रक्षात्मक बने । उनीहरूले सबै उपचार खर्च व्यहोर्न तयार रहेको बताए । अनि दोषीमाथि कारबाही शुरू भएकाले आफूहरूमाथि रिस नपोख्न आग्रह गरे ।

उनीहरूले त्यतिबेलासम्म अस्पतालमा उठेको ३० हजार रुपैयाँ बिल तिरे । घाइतेका परिवारले भोलिपल्ट उनीहरूलाई अस्पताल बोलाएर डेढ लाख रुपैयाँ मागे । चालकका नातेदार राजेन्द्रका अनुसार, ‘अस्पतालको बिल अनुसार पैसा तिर्छौं’ भनेपछि इन्स्पेक्टरका भाइ बताउने गणेश गिरी र नारायण गिरीले दुर्व्यवहार नै गरे ।

‘आफूहरूसँग पहुँच र पावर भएको भन्दै जे पनि हुनसक्ने धम्की दिए’ चालकका मामा राजेन्द्र मगरले भने, ‘त्यसपछि हामीले अस्पताल परिसरमा डेढ लाख रुपैयाँ नगद घाइतेको श्रीमतीलाई दियौं ।’ उनले इन्स्पेक्टर गिरीले उपलब्ध गराएको खातामा मामा राजेन्द्रको साथीको खाताबाट रकम जम्मा गरिदिएका थिए । भौचर लगायत कागजात उनले सुरक्षित राखेका छन् ।

घाइतेका परिवारले अस्वाभाविक रूपमा बारम्बार रकम माग्न थालेपछि पक्राउ परेका चालकका मामा राजेन्द्रले ‘अवस्था बुझ्न पाए हुने’ भनेर बिरामी भेट्न खोजे । गिरीको परिवारका सदस्यको टोलीले उनीहरूलाई हप्काए । उनीहरूले ‘डाक्टरले मात्रै भेट्ने गरेको’ भन्दै झपारेको उनी बताउँछन् । ग्राण्डीमा भर्ना भएका घाइते इन्स्पेक्टर गिरी तीन दिन अस्पताल बसेर ६ फागुनमा डिस्चार्ज भएका थिए ।

पक्राउ परेका चालक मगरको दाबीमा उनी आफ्नै लेनमा थिए । बाटोमा रोकेको अर्को गाडीलाई ओभरटेक गरेर जान खोज्दा लेन क्रस गरेको मोटरसाइकल दुर्घटनामा परेको हो । तर, दुर्घटनामा परेका इन्स्पेक्टर गिरीले लाइसेन्स नभएको चालकले चलाएको गाडीले आफूलाई हानेको दाबी गरेका छन् ।

अर्कै अभियोगमा बयान

यता हिरासतमा रहेका चालक ईश्वर मगरमाथि प्रहरीले कानुनी प्रक्रिया अघि बढाउने भन्दै बयान लिन थाल्यो । त्यसभन्दा अघि नै जिल्ला प्रशासन कार्यालयमा लगेर म्याद थप्दै उनको हिरासत अवधि प्रहरीले लम्ब्याएको थियो । थप आपत् आइलाग्ने देखेपछि मामा राजेन्द्र र जेठान कृष्णले धादिङ गल्छी गाउँपालिका–१ का वडाध्यक्षलाई फोन गरेर घटनाबारे बताए र सहयोग मागे ।

अस्पतालबाट डिस्चार्ज भएका इन्स्पेक्टर कृष्ण गिरीले चालक मगरका ती दुई नातेदारलाई नियमित सम्पर्क गरे । आफू प्रहरी अस्पताल महाराजगञ्जमा उपचाररत रहेको भन्दै खर्च व्यवस्थापन गर्न दबाब दिइरहे । आफूहरूसँग पैसा सकिएपछि उनीहरूले ईश्वरले चलाउने गाडीका साहु रमेश महर्जनसँग पैसा मागे । उनीहरूले इन्स्पेक्टर गिरीकी श्रीमतीको खातामा पटक–पटक पैसा जम्मा गरिदिए । उनीहरूका भनाइमा पटक–पटक गरेर बैंक खातामा ५ लाख रुपैयाँ बुझाएका थिए ।

पटक–पटक रकम माग्ने, तर घाइतेको अवस्था नबताउने गरेपछि मगरका आफन्तहरूलाई शंका लाग्यो । ‘घाइते भेटेको छैन, दुर्घटना कत्रो हो पनि थाहा छैन । भान्जा हिरासतमा छन्, कमाइखाने गाडी चौकीमा छ । घाइतेले फोनबाट पैसा मागिरहन्छन्’ राजेन्द्र भन्छन्, ‘फेरि दुई लाख रुपैयाँ मागे, मैले पैसा हाल्न सक्दिनँ, पहिले मलाई अस्पतालको बिल र घाइते देखाउनुस् भनें ।’

घाइते प्रहरी निरीक्षक गिरीलाई उपचार खर्च तिर्ने चालकका आफन्तहरु क्रमशः बायाँबाट राजेन्द्र मगर र कृष्ण रानामगर ।

घटनाको दुई सातापछि इन्स्पेक्टर गिरीले राजेन्द्रलाई प्रहरी अस्पताल महाराजगञ्ज बोलाए । अस्पताल बाहिर गिरी र उनका साथी बसेका थिए । घाइते गिरी खुट्टामा कपडाको ब्यान्डेज र हातका औंलामा ब्याण्डेज गरेको अवस्थामा थिए । उनले घाउ सामान्य भएको तर आफ्नो देब्रे गालामा अप्रेशन गरेर दुई पटक स्टिल राखेको भन्दै अरू पैसा माग्न थाले । राजेन्द्र भन्छन्, ‘अप्रेसन गरेको भन्छन्, गालामा खत देखिंदैन । दुई पटक स्टिल राखेको भन्छन् अस्पतालको बिल दिंदैनन्, पैसा मात्रै माग्छन् ।’

दुर्घटना गराएका ती चालकको नातेदारको दाबी अनुसार, चालकको परिवारले अहिलेसम्म ९ लाख ७५ हजार रुपैयाँ तिरेकोमा ३ लाख ५० हजार रुपैयाँ अस्पतालमा बुझाएको थियो । केही नगद कारोबार भएको थियो भने ६ लाख २५ हजार रुपैयाँ घाइते गिरीको श्रीमतीको भनेर दिइएको सुमित्रा जमकट्टेलको बैंक खातामा जम्मा गरिएको थियो ।

दुर्घटनामा संलग्न चालकका मामा राजेन्द्र सामान्य लेखपढ गरेका व्यक्ति हुन् । प्रहरीचौकी धाउने सास्तीदेखि घाइते र उनको परिवारको धम्कीका कारण बेचैन बनेका उनले कतैबाट सहयोग पाइएला कि भनेर गाउँका वडाध्यक्षलाई फोन गरे । गल्छी गाउँपालिका–१ का वडाध्यक्ष यदुकुमार खतिवडा उनीहरूको सबै कुरा सुनेपछि काठमाडौं आएका थिए ।

‘ठूलो गाडीले ठक्कर दिएकाले दुर्घटना हुनुमा हाम्रो चालकको दोष होला । तर, घाइते इन्स्पेक्टरले त्योभन्दा चौगुणा असुलेका छन्’ वडाध्यक्ष यदुकुमार खतिवडाले भने ।

काठमाडौं आउने बित्तिकै उनी बिरामी भेट्न अस्पताल गएका थिए । आफू जनप्रतिनिधि अनि दुर्घटनामा परेको प्रहरी पनि सरकारी कर्मचारी भएकाले केही न केही समझदारी कायम गर्न सकिएला भन्ने उनको विश्वास रहेछ । ‘१३ सय रुपैयाँको फलफूल किनेर अस्पताल गएको थिएँ’ वडाध्यक्ष खतिवडाले भने, ‘अनेक जोडबल लगाएर प्रहरी निरीक्षक कृष्ण र उनकी पत्नीलाई भेटें । उनीहरूले त्यतिबेला चाहिं राम्रै कुरा गरेका थिए ।’

वडाध्यक्ष खतिवडाले अस्पतालमा पनि सबै कुरा बुझ्न खोजेका रहेछन् । डाक्टरले थप उपचार जरूरी नभएको भन्दै घाइते गिरीलाई डिस्चार्ज गरिदिएका रहेछन् । खतिवडाका भनाइमा, अहिले पनि इन्स्पेक्टरले फोन गरेर ‘म अहिले पनि निजी अस्पतालमा जँचाइरहेको छु, खर्च चाहियो’ भन्ने गर्छन् ।

‘ठूलो गाडीले ठक्कर दिएकाले दुर्घटना हुनुमा हाम्रो चालकको दोष होला । तर, घाइते इन्स्पेक्टरले त्योभन्दा चौगुणा असुलेका छन्’ उनी भन्छन्, ‘घरमा काम गर्ने मान्छे राखिदिनु पर्‍यो भनेर अहिले पनि मलाई फोन आउँछ । यो त बदमासी हो नि !’

यता ईश्वर मगर लामो समयदेखि प्रहरी हिरासतमा थिए । वडाध्यक्ष खतिवडा उनलाई भेट्न प्रहरी वृत्त लैनचौरमा समेत पुगेका थिए । त्यहाँका मुद्दा हेर्ने सईले गाडी चलाउने ईश्वर सवारी मुद्दामा हिरासतमा रहेको अनि घाइतेको उपचार खर्च व्यहोरिरहेकाले धरौटीमा छाड्न सकिने बताएका थिए ।

अभद्र व्यवहार

प्रहरीले चालक ईश्वरका आफन्तलाई सवारी मुद्दामा अनुसन्धान भइरहेको बताए पनि प्रहरीले पक्राउ परेदेखि नै अभद्र व्यवहारको मुद्दा लगाउने तयारी गरेको पछि मात्रै थाहा भयो । मदिरा सेवन गरेर होहल्ला र झगडा गरेको आरोपमा प्रहरीले मुद्दा अघि बढाएको थियो । जुन कुरा वडाध्यक्ष खतिवडालाई पछिसम्म थाहा थिएन ।

‘सवारी दुर्घटनाको मुद्दामा अभद्र व्यवहार मुद्दा लाग्छ र ? मलाई त सवारी मुद्दा भनेका थिए । फेरि अर्को मुद्दा हाल्यो र ?’ वडाध्यक्ष खतिवडा भन्छन्, ‘घाइते गिरी (प्रहरी इन्स्पेक्टर) अहिले रिसमा हुनुहुन्छ । तपाईंहरू सही गर्नुस् उहाँले आएर सही गरेपछि चालक ईश्वर मगर छुट्छन् भनेपछि म घर फर्किएको हुँँ । अहिले त त्यो केटो छुटेको छ ।’

२८ फागुन २०७९ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएको ‘अभद्र व्यवहार’ मुद्दाको अभियोगपत्रमा ईश्वर मगरले मदिरा सेवन गरेर झगडा गरेको उल्लेख छ । दुर्घटना भएको मिति र समय, घटनास्थल लगायतका सारा विवरण उही राखेर प्रहरीले अर्को मुद्दा लगाएको थियो । अभियोगपत्रमा गाडीले मोटरसाइकललाई ठक्कर दिएको, मोटरसाइकल चालक कृष्ण गिरी घाइते भएको, ग्राण्डी अस्पतालमा उपचार भएको लगायत सबै विवरण लुकाइएको छ ।

दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक कृष्ण गिरी

प्रहरीले तयार पारेको प्रतिवेदनमा भनिएको छ— ‘ईश्वर मगरले रक्सी सेवन गरी सडकमा आवतजावत गर्ने मानिसलाई विना कारण गालीगलौज र अभद्र व्यवहार गरिरहेको अवस्थामा प्रहरीले सम्झाई–बुझाई गर्दा प्रहरी कर्मचारीलाई नै गालीगलौज र धरपकड गर्न खोजी अभद्र व्यवहार गरेकाले कानुन बमोजिम कारबाही र सजाय गरिपाऊँ ….।’

प्रहरीले ईश्वर मगरको पनि बयान लियो । बयानमा सवारी दुर्घटनाबारे कुनै पनि विवरण उल्लेख छैन, बरु ‘मैले मदिरा सेवन गरेर नशाको सुरमा सार्वजनिक ठाउँमा प्रहरीको काम–कर्तव्य र शान्ति सुरक्षामा बाधा अवरोध गरेकाले कानुन बमोजिम सहन मञ्जुर छु’ भन्ने व्यहोरा उल्लेख छ ।

‘बिल हेरेर मात्रै घाइतेको उपचारको खर्च तिर्ने हो । तर, अहिले व्यक्तिगत खातामा नै रकम पठाउने चलन छ’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले भने ।

प्रहरी प्रतिवेदनको सत्यता र अरू विवरणको सामान्य परीक्षण समेत नगरी सरकारी वकिल सुरबहादुर परियारले जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा अघि बढाइदिए । प्रहरीले पटक–पटक गरी उनीविरुद्ध म्याद थप गरिरह्यो र २८ फागुनमा मुद्दा दायर गर्‍यो । त्यही दिन उनी ३० हजार रुपैयाँ धरौटीमा थुनामुक्त भए ।

२६ वर्षीय चालक मगर धरौटीमा छुट्दा निकै खुसी भए । आफ्नो गरेको गल्ती के हो र प्रहरीले के अभियोग लगायो भन्नेबारे उनले कुनै मेसो पाएनन् । आउने बिहीबार (११ जेठमा) उनी विरुद्धको मुद्दाको सुनुवाइ छ ।

मोटरसाइकललाई ठक्कर दिने हात्ती गाडीका चालक ईश्वर मगर ।

कुनै पनि व्यक्तिलाई उसले गरेको कसुरसँग असम्बन्धित विषयमा मुद्दा दायर गर्नुलाई ‘झुटो अभियोजन’ भनिन्छ । फौजदारी न्यायप्रणालीमा यो दण्डनीय मानिन्छ । ‘कुनै व्यक्तिविरुद्ध एउटा विषयमा जाहेरी पर्‍यो, तर त्योसँग जोडिएको अर्को कसुरमा संलग्न देखिए मुद्दा चल्ने गरेको छ’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता लोकराज पराजुलीले भने, ‘तर सम्बन्धित व्यक्ति कुनै पनि रूपमा संलग्न नै नभएको अभियोगमा मुद्दा दायर गर्नु गलत हो, त्यसो गर्नै मिल्दैन ।’

बाझिने विवरण

घटनाको अनुसन्धानमा संलग्न प्रहरीहरूले भने आफैंले तयार पारेको प्रतिवेदन बाझिने गरी जवाफ दिएका छन् । घटनाको मुचुल्का गरेका प्रहरी वृत्त लैनचौरका प्रमुख गणेशबहादुर बमको विवरण अनुसार, त्यो दिन दुर्घटनाका कारण घाइते इन्स्पेक्टर अहिले पनि उपचाररत छन् । वृत्तकै मुद्दा शाखा इन्स्पेक्टर शेखर खड्काले भने, ‘त्यो बेला म बिदामा थिएँ । गिरी गम्भीर घाइते भएर आराम गरिरहेका छन् ।’

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेश भएको अभद्र व्यवहारको अभियोगबारे प्रश्न गर्दा अहिले प्रहरीहरू एकले अर्कोलाई देखाउँछन् । मुद्दा हेरेका लैनचौर वृत्तका सई नारायण रेग्मीले भने, ‘मैले यसबारेमा बोल्न मिल्दैन, माथि जिल्ला प्रहरी परिसरलाई सोध्नुस् ।’ लैनचौर वृत्तका डीएसपी बमको जवाफ पनि उस्तै छ । उनी भन्छन्, ‘मैले ठ्याक्कै मिसिल हेरेको छैन, यो घटना परिसरले हेरेको हो, उता नै बुझ्नुहोला ।’

हामीले यसबारेमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा सम्पर्क गर्‍यौं । प्रवक्ता एसपी सीताराम रिजालले ग्राण्डीमा घाइतेको उपचार गर्दा सवारी चालकले धेरै खर्च गर्नुपर्ने भएकाले प्रहरी अस्पतालमा ल्याएर सहुलियत दिन खोजेको बताए । बिल विना नै पटक–पटक रकम मागिएको बारेको जिज्ञासामा उनले भने, ‘बिल हेरेर मात्रै घाइतेले उपचारको खर्च तिर्ने हो । तर अहिले व्यक्तिगत खातामा नै रकम पठाउने चलन छ ।’

तर, गाडी चलाउँदा मोटरसाइकललाई ठक्कर दिएका चालक ईश्वर मगरलाई प्रहरीले त्यो घटनासँग सम्बन्ध नै नभएको ‘अभद्र व्यवहार’को मुद्दा किन चलाएको होला ?

प्रहरीले अभियोगपत्र उल्लेख गरेको होहल्ला गरेको, जथाभावी गाली गरेको, धरपकड गर्न खोजेको भन्ने जस्ता विवरण यथार्थसँग मेल खाँदैनन् । त्यसबारेमा प्रहरी परिसरका प्रवक्ता एसपी रिजाल भन्छन्, ‘अहिले चालकलाई अर्को मुद्दा लगाएर होल्ड मात्रै गरिएको हो, सवारी अंगभंगमा पनि मुद्दा चल्छ ।’

दुर्घटनामा घाइते इन्स्पेक्टर गिरीले चाहिं आफूले दोस्रो जुनी पाएको प्रतिक्रिया दिए । दुर्घटनामा परेर १३ वटा हड्डी भाँचिएको र ५ वटा अपरेसन गर्नुपरेको उनको भनाइ छ । डेढ महिनासम्म ह्विलचेयर प्रयोग गरेको र अहिले बैसाखीको सहारामा हिंडडुल गरिरहेको उनको भनाइ थियो ।

तपाईंले किन अस्पतालमा लागेको उपचार खर्चको रकम व्यक्तिको खातामा हाल्न भन्नुभयो भन्ने प्रश्नमा उनले भने, ‘मैले बिल अनुसारको पैसा तिर्नुस् भनेको हुँ, उपचार गरेर मेरो ज्यान त बाँच्नुपर्‍यो नि, मैले कसैलाई धम्क्याएको छैन ।’

नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायत प्रहरी सेवामा रहेका कसैको पनि उपचारमा शुल्क नलाग्ने बताउँछन् ।

‘प्रहरीको उपचार सबै यहाँको अस्पतालमै हुने हो । नहुने उपचारको पनि अन्यत्र भएको सबै खर्च अस्पतालमा रहेको मेडिकल बोर्डले व्यहोर्छ’ प्रवक्ता कडायत भन्छन्, ‘यो घटना भएको बेलामा म अहिलेको जिम्मेवारीमा थिइनँ, बुझेर मात्रै थप प्रतिक्रिया दिन सक्छु ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?