+
+

फुटबल नखेलाउने एन्फा !

‘सहमहासचिव नियुक्त गरेर मासिक पारिश्रमिक दिने, पदाधिकारीहरुको सुविधा बढाउने, नयाँ कर्मचारी थप्न हुने तर, टिमले खेल्न नपाउने ?,’ नेतृत्वसँग असन्तुष्ट उपाध्यक्ष केसी भन्छन्, ‘त्यो पैसाले टिमलाई खेल्न पठाएको भए हुन्थ्यो ।’

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० जेठ ११ गते २०:२१
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ (बीचमा चश्मा लगाउने) सहित अन्य पदाधिकारी ।

११ जेठ, काठमाडौं । एसियन फुटबल महासंघ (एएफसी)ले बिहीबार यू–२३ एसिया कप छनोट खेल्ने देशहरुको समूह छुट्यायो । ११ वटा समूहमध्ये १० वटा समूहमा चार देश छन् भने ११औं समूहमा तीन देश मात्र छन् । कारण हो नेपाल ।

आगाामी भदौ १८ देखि २६ गतेसम्म कतारमा हुने छनोट प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नाम नै दर्ता गराएको छैन । जबकी उमेर समूहको प्रतियोगिता राष्ट्रिय टिमको ब्याकअप तयार गर्ने महत्वपूर्ण अवसर हो ।

त्यसैले नेपालले पछिल्ला वर्षहरुमा एएफसी यू–२३ एसिया कप छनोटमा निरन्तर सहभागी हुँदै आएको थियो । यस पटक भने राष्ट्रिय टिमलाई ध्यानमा राखेर सहभागी नभएको एन्फा प्रवक्ता सुरेश शाह बताउँछन् ।

यू–२३ टिममा राष्ट्रिय टिमकै खेलाडीहरु हुने भन्दै उनले भने, ‘विश्वकप छनोट अक्टोबरमा छ, यू–२३ छनोट सेप्टेम्बरमा । त्यसैले राष्ट्रिय टिमलाई ध्यान दिएका हौं ।’

तर विश्वकप छनोटको तयारीका क्रममा एक्स्पोजरका लागि पनि यू–२३ एसिया कप छनोट महत्वपूर्ण होइन र ? एन्फा पदाधिकारीहरुसँग प्रष्ट जवाफ छैन ।

किनकी यू–२३ एसिया कप छनोटमा टिम नपठाउनुको कारण आर्थिक संकट प्रमुख भएको पदाधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार एन्फाको गतिविधि आर्थिक रुपमा अपरादर्शी भएको उजुरी परेपछि फिफाले दिने अनुदानमा कन्ट्रोल फन्डिङ लगाइदियो ।

काम सम्पन्न गरेपछि फिफा आफैंले अडिट गरेर मात्रै रकम निकाशा हुने नियमबाट एन्फा नेतृत्व अप्ठ्यारोमा छ । आर्थिक मन्दी तथा कमजोर मार्केटिङका कारण एन्फाले ए डिभिजन लिगमा समेत प्रायोजक ल्याउन नसक्दा आम्दानीको अन्य श्रोत पनि बन्द भएको छ ।

यो मात्र होइन, यू–१९ पुरुष साफ च्याम्पियनसिप आयोजना गर्ने कि नगर्ने भन्ने पनि अलमल कायमै छ ।

नेपालले गत मंसिरमा दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)बाट यो प्रतियोगिता आयोजना गर्ने अधिकार पाएको थियो । तर एक महिना मात्र समय बाँकी रहँदा पनि प्राविधिक, प्रशासनिक र राष्ट्रिय टिम तयारी सुरु भएको छैन ।

यथोचित कारणबिना अन्तर्राष्ट्रिय प्रतियोगितामा टिम सहभागी नगराउने र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना पनि नगर्ने कदमले नेपाली फुटबलको प्रशासनिक निकाय एन्फा नेतृत्वमाथि प्रश्न उठेको छ । एन्फा कार्यसमितिमै पनि असन्तुष्टि छ ।

एन्फा उपाध्यक्ष दीर्घबहादुर केसी भने यू–२३ टिमलाई विदेश खेल्न नदिनु गलत भएको बताउँछन् । ‘सहमहासचिव नियुक्त गरेर मासिक पारिश्रमिक दिने, पदाधिकारीहरुको सुविधा बढाउने, नयाँ कर्मचारी थप्न हुने तर, टिमले खेल्न नपाउने ?,’ नेतृत्वसँग असन्तुष्ट उनी भन्छन्, ‘त्यो पैसाले टिमलाई खेल्न पठाएको भए हुन्थ्यो ।’

कामभन्दा विवाद धेरै

गत असारमा चुनिएको पंकज विक्रम नेम्वाङ नेतृत्वको एन्फा कार्यसमिति कामभन्दा धेरै विवादमा फसेको छ । कार्यसमितिमा भागबण्डाको विवाद अझै सल्टिएको छैन । विवादकै बीच कार्यसमितिका निर्वाचित र मनोनित पदाधिकारीको तलव सुविधा भने बढाइएको छ ।

एन्फामा अहिले निर्वाचित भएका र मनोनित गरी २ दर्जन बढी पदाधिकारी छन्, जसमा मनोनित भएका महासचिव, कोषाध्यक्ष र सहमहासचिवदेखि प्रवक्तासम्मले निश्चित रकम पारिश्रमिक लिन्छन् । उनीहरुको तलव एन्फाको पछिल्लो कार्यसमितिले बृद्धि गरेको छ । एन्फाका वरिष्ठ उपाध्यक्षले पनि मासिक तलव लिन्छन् ।

एन्फा पदाधिकारीहरु सेवा सुविधा र पद भागवण्डामा अल्झिँदा फुटबल भने प्रभावित भएको छ ।

एन्फाको नयाँ कार्यसमितिले साफ महिला च्याम्पियनसिप, बंगलादेश र पाकिस्तानसँग मैत्रीपूर्ण खेल, प्रधानमन्त्री थ्री नेसन्स कप, महिला ओलम्पिक फुटबल छनोटमा समूह चरणको खेल आयोजना ग¥यो । उमेर समूहमा नेपालको पुरुष र महिला टिमले केही अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भयो । नेपाली टिमले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि पनि जितेको थियो ।

एन्फाले आयोजना गरेको शहीद स्मारक ए डिभिजन लिग जारी छ । तर, यसको न मार्केटिङ गतिलो छ, न लिगको स्तर नै देखिएको छ । खेलाउनकै लागि खेलेको जस्तो देखिएको छ । उपत्यकाका तीन भेन्यूमा नियमित फुटबल भइरहेको छ तर, फुटबल माहोल र दर्शकको उपस्थिति अत्यन्तै न्यून छ ।

बी र सी डिभिजन लिग हुने नहुने टुंगो छैन । जेठ महिनामा हुनु पर्ने ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको पनि अत्तोपत्तो छैन ।

महिला खेलाडीहरुले भारतको लिगमा तहल्का मच्चाइरहँदा उनीहरुका लागि वर्षमा एउटा लिग पनि सञ्चालन गर्न एन्फा असमर्थ छ । जिल्ला लिग र राष्ट्रिय लिगको अवधारणा पंकज नेम्वाङको चुनावी नारामात्र बनेको छ ।

२०७८ को अन्तिममा राष्ट्रिय महिला लिगको पहिलो चरण भयो । त्यसको दोस्रो चरण २०७९ कात्तिकमा गर्ने एन्फाले बताए पनि सञ्चालन गर्न सकेन । पहिलो चरणकै नतिजाका आधारमा विजेता घोषणा गरियो । यस्तै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण २०७९ मै गर्ने भनिएको थियो, तर हुन सकेन ।

एन्फा प्रवक्ता शाह पनि एन्फाको क्यालेन्डरमा केही तलमाथि भएको स्वीकार गर्छन् । २०२३ का लागि क्यालेन्डर बनाइरहेको भन्दै उनले भने, ‘बी र सी डिभिजन लिग, ललित स्मृति यू–१८ सबै त्यसमा समावेश हुन्छ । यो सबै कार्यक्रम फिफा फरवार्ड.३ अन्तर्गत नै हुन्छ । हामीले जसरी पनि गर्ने योजनामै छौं ।’ नेपाल सुपर लिग एनएसएलका लागि २०८० भदौ–कात्तिकको मिति दिएको प्रवक्ता शाहले जानकारी दिए ।

तर एन्फाकै पदाधिकारीहरु यो मन्न तयार छैनन् । उनीहरु नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिरहेको बताउँछन् । ‘एन्फामा अहिले फुटबल बाहेक सबै कुरा हुन्छ । फुटबल विकासबारे छलफल हुँदैन । विदेश घुम्ने र आफ्नो व्यक्तिगत लाभका लागि मात्र काम भइरहेको छ,’ नेतृत्वसँग असन्तुष्ट एक पदाधिकारी भन्छन् ।

उपाध्यक्ष दीर्घबहादुर केसी पनि नयाँ कार्यसमिति निर्वाचित भएदेखि नै समस्या सुरु भएको बताउँछन् । ‘विधि र विधान अनुसार काम गर्न आएको नयाँ कार्यसमितिले सपथ ग्रहण कार्यक्रममै बिना एजेन्डा कार्यसमिति बैठक राखेर महासचिव र कोषाध्यक्ष मनोनित गरेपछि समस्या सुरु भएको हो,’ उनको आरोप छ, ‘फुटबल विकासभन्दा आफू कसरी सर्भाइभ हुने भन्नेमा उनीहरु केन्द्रित छन् ।’

उनका अनुसार अष्ट्रेलियामा हुने महिला विश्वकप हेर्न जान एन्फाकै पदाधिकारीहरु प्रतीक्षामा छन् । जबकी २०२२ डिसेम्बरमा कतारमा भएको विश्वकपको टिकट बिक्रीको विवाद अझै सल्टिएको छैन । ‘कतारमा विश्वकप हेर्न को–को जानुभयो ? कतिको टिकट थियो भन्न सक्नुभएको छैन । अब अष्ट्रेलिया जाने लाइन छ रे भन्ने सुनेको छु,’ उपाध्यक्ष केसीले भने ।

एन्फा प्रवक्ता शाह विश्वकपको टिकटको विषयमा अडिट रिपोर्ट सार्वजनिक गरिने दाबी गर्छन् । ‘एन्फा विदेशी (फिफा र एएफसी) को अनुदान र आन्तरिक प्रायोजकबाट चल्ने हो । पदाधिकारीहरुको विदेश भ्रमण त्यही अनुदान कार्यक्रम अन्तर्गत नै हुने हो,’ उनले थपे, ‘काम गर्दा केही कमजोरीहरु हुनसक्छ, बाहिरबाट देखिएजस्तो फुटबलको स्थिति ड्यामेज नै होइन ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?