
१२ जेठ, काठमाडौं । नेकपा एमालेले अवरोध गरेपछि दिउँसो पौने १ बजे २० मिनेटका लागि भनेर स्थगित भएको संसद बैठक ३ बजे बस्ने सूचना जारी भएको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमले बैठक ३ बजे बस्ने सूचना निकालेका हुन् । तर बैठक बस्नका लागि दलहरुबीच सहमति जुटेको छैन ।
नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको थियो ।
एमालेले दाहालकाे भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।
यसरी स्थगित भएको बैठक बिना सूचना २ घन्टा भित्र सुरु नभएमा स्वत: स्थगित हुने व्यवस्था छ । त्यसैले बैठक बस्ने समय लम्ब्याउनका लागि महासचिव गौतमले बैठक ३ बस्ने सूचना निकालेका हुन् ।
संसद बैठक स्थगित गरी सहमतिका लागि बसेको सर्वदलीय बैठक लम्बिएको छ ।
प्रतिक्रिया 4