+
+

कांग्रेसमा विशेष महाधिवेशन बोलाउन कति सम्भव ?

विशेष महाधिवेशनको माग गर्नलाई स्वयं शेखर भने तयार हुनुपर्छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन माग सार्वजनिक रुपमा गरेका छैनन् । महामन्त्रीद्वय निकटका नेताहरुका अनुसार कार्यकर्ताले अघि बढ्न दबाव दिएको अवस्थामा उनीहरु आँट गर्ने पक्षमा छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० जेठ १३ गते १९:५३

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसमा बेलाबखत विशेष महाधिवेशनको माग महत्वका साथ उठाइन्छ । २०७४ सालको निर्वाचनलगत्तै र गत १० वैशाखमा भएको उपनिर्वाचनपछि कांग्रेसमा विशेष महाधिवेशनको माग सुनिएको छ ।

पार्टीको अवस्था कमजोर भएको र यसमा कांग्रेस नेतृत्वको असक्षमता देखिएको भन्दै संस्थापन इतर पक्षबाट विशेष महाधिवेशन माग उठेको छ ।

२०७४ को आम निर्वाचनमा प्रतिनिधिसभामा कांग्रेसले प्रत्यक्षतर्फ जम्मा २३ सिट जितेको थियो । पार्टीको ‘शर्मनाक’ हारको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने भन्दै विशेष महाधिवेशन बोलाउनुपर्ने तर्क गरिएको थियो । अहिले पनि उही माग दोहोरिएको छ ।

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनको बलले कांग्रेसले ५७ क्षेत्रमा प्रत्यक्ष चुनाव जित्यो भने समानुपातिकतर्फको सिटसमेत हिसाब गर्दा ८८ सिट छ । तर गत १० वैशाखमा भएको उपनिर्वाचनमा कांग्रेसले पहिले जितेको तनहुँ–१ मा जित्न सकेन ।

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको उक्त क्षेत्रमा कांग्रेसका गोविन्द भट्टराईले कांग्रेसको मत सुरक्षित गर्न सकेनन् । कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले भारी मतान्तरले जिते ।

स्थानीय तह, प्रदेश र संघमा कांग्रेसको शक्ति २०७४ सालको तुलनामा बढेपनि कांग्रेसभित्र असन्तुष्टि उस्तै छ । २०७४ सालमा बाम गठबन्धनले गर्दा पराजित भए पनि स्थानीय सरकारलेखि संघीय सरकारसम्म कांग्रेसको प्रभावशाली उपस्थिति रहे पनि कार्यकर्ता र नागरिकमा आशा जगाउन नसकेको र यसमा पार्टी नेतृत्व जिम्मेवार रहेको विशेष महाधिवेशन माग गर्नेहरुको छ ।

कांग्रेसको ७० वर्ष भन्दा लामो इतिहासमा विशेष महाधिवेशन एक पटक मात्र भएको छ । २०१२ सालमा भएको छैटौं महाधिवेशनबाट सभापतिमा सुवर्णशमशेर राणा चयन भएका थिए । त्यसको दुई वर्षमै २०१४ सालमा विशेष महाधिवेशन गरेर बीपी कोइराला सभापति चयन भएका थिए ।

कांग्रेसको विधानमा विशेष महाधिवेशन बोलाउन मिल्ने दुई विधि छन् । पहिलो, केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा । केन्द्रीय समितिले विशेष महाधिवेशनको आवश्यक ठानेर निर्णय गर्ने परिस्थिति हाललाई देखिँदैन । विशेष महाधिवेशन नचाहने सभापति शेरबहादुर देउवासँग केन्द्रीय समितिमा पर्याप्त बहुमत छ । ८२ प्रतिशतको शक्ति देउवासँग रहेकाले केन्द्रीय समितिले विशेष महाधिवेशन आवश्यक देख्ने सम्भावना शून्यप्रायः छ । देउवा अनुकूलको संख्या उनलाई हटाउने मागका विरुद्धमा उभिन तयार नहुन सक्छ ।

विधानको दफा १७ को उपदफा २ मा उल्लिखित महाधिवेशन कार्यविधिले विशेष महाधिवेशन आह्वान गर्न दोस्रो विकल्प दिएको छ । दोस्रो विधिमा ‘केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा’ विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

विधानमा लेखिएको छ, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ ।’

विशेष महाधिवेशन बोलाउने यो विकल्प देउवाले चाहेर पनि रोक्न नसक्ने अवस्था छ । त्यसका लागि विशेष महाधिवेशन पक्षधरले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको संख्या पुर्‍याउनुपर्ने हुन्छ । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर लिखित अनुरोध गर्नुपर्दछ । लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ ।

गत महाधिवेशनमा सभापतिमा डा. शेखर कोइरालाले प्राप्त गरेको मतको आधारमा ४० प्रतिशत प्रतिनिधि पुग्ने देखिन्छ । गत महाधिवेशनका प्रतिनिधि चार हजार ७४३ जना थिए । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्दा देउवाले दुई हजार ७३३ मत पाएका थिए । प्रतिस्पर्धी कोइरालाले १ हजार ८५५ मत पाएका थिए । कूल महाधिवेशन प्रतिनिधिबाट ४० प्रतिशतको हस्ताक्षर पुर्‍याउन १ हजार ८९७ जना आवश्यक पर्दछ ।

विशेष महाधिवेशनको माग गर्नलाई स्वयं शेखर भने तयार हुनुपर्छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन माग सार्वजनिक रुपमा गरेका छैनन् । महामन्त्रीद्वय निकटका नेताहरुका अनुसार कार्यकर्ताले अघि बढ्न दबाव दिएको अवस्थामा उनीहरु आँट गर्ने पक्षमा छन् ।

पार्टीप्रतिको चिन्ताले नेतृत्व परिवर्तन गर्ने कार्यकर्ताको माग उठ्दा त्यसका लागि नेता शेखर तयार हुने नेता गुरुराज घिमिरे विश्वास गर्छन् ।

कार्यकर्ताको मनोभावना बुझ्नकै लागि संस्थापनइतरका नेताहरु रुपान्तरणको एजेण्डा लिएर अभियान सुरु गरेका छन् । जेठ ११ मा जनकपुरमा भएको बहस तथा अन्तर्क्रियाबाट कार्यकर्ता मूल नेतृत्व परिवर्तनका पक्षमा देखिएको नेता घिमिरेले बताए ।

‘कार्यकर्ता एकदमै निराश र आक्रोशित जस्तो देखिन्छन् । पार्टी सञ्चालन गर्ने कार्यशैलीले कांग्रेसको भविष्य के हुने हो भन्ने छ’, नेता घिमिरे भन्छन्, ‘पार्टीमा गल्ती भएको छ । पार्टी बेला बेला चुकेको छ । त्यसमा किन नेताहरु बोल्दैनन् भन्ने आक्रोश छ ।’

महामन्त्रीद्वय गगन–विश्व कार्यकर्ताको धारणा बुझेपछि विशेष महाधिवेशनको सन्दर्भमा विचार व्यक्त गर्ने पक्षमा छन् । कार्यकर्ताको अपेक्षा र भावना बुझ्नका लागि देशभर पुग्ने महामन्त्री थापाले घोषणा गरिसकेका छन् ।

केन्द्रमा बनेको धारणा लिएर कार्यकर्तासमक्ष नपुगी स्थलगत रुपमा विचार बुझ्न सबैतिर पुग्न लागेको घिमिरेले बताए । ‘तदर्थवादमा पार्टी चल्न नसक्ने निष्कर्षमा कार्यकर्ता पुगेको देखियो । मूल नेतृत्व बदल्नुस् भन्ने धेरैको राय छ’, घिमिरे भन्छन् ।

२०७८ मंसिरमा भएको चौधौं महाधिवेशनबाट देउवा दोस्रोपटक सभापति निर्वाचित भएको डेढ वर्ष पुग्न लागेको छ । विधानतः उनको यो कार्यकाल अझै ४ वर्षसम्म रहन सक्छ । कार्यकर्तामा आशाको सञ्चार ल्याउन तथा कांग्रेसको साख जोगाउन विशेष महाधिवेशन मात्रै विकल्प हुने संस्थापनइतरका कतिपय नेता तर्क गर्छन् ।

विशेष महाधिवेशन गर्नुपर्ने माग उठिरहेपनि त्यसको सम्भावना नरहेको संस्थापन पक्षका नेता दाबी गर्छन् । ‘कांग्रेस कम्युनिस्टहरु जस्तो पार्टी होइन, बोल्न पाइन्छ,’ केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ भन्छन्,‘आआफ्नो डम्फु बजाइरहेका छन् ।’ ठूलो दल भएर पनि कांग्रेसका कार्यकर्तामा निराशा बढेको भने श्रेष्ठले स्वीकारे । सबैका कुरा सुनेर अघि बढ्नपर्ने देउवालाई उनको सुझाव छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?