+
+

चालु आव सकिन ४५ दिन बाँकी, पूँजीगत खर्च ३६ प्रतिशत मात्र

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १४:१८

१५ जेठ, काठमाडौं । कमजोर विनियोजन दक्षता र फितलो बजेट कार्यान्वयनका कारण आलोचित हुँदै आएको सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० मा समेत आफ्नो कार्यशैलीलाई सुधार गर्न सकेन । परिणामस्वरुप आव सकिन ४५ दिन मात्र बाँकी रहँदा पूँजीगत खर्च ३६ प्रतिशत मात्रै पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आइतबारसम्म पूँजीगत खर्च १ खर्ब ३६ अर्ब ८३ करोड ८ लाख रुपैयाँ मात्र भएको छ । यस आर्थिक वर्षमा सरकारले ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट पूँजीगत खर्च गर्ने गरी लक्ष्य राखेको थियो ।

आइतबारसम्म भएको पूँजीगत बजेट खर्च ३५.९७ प्रतिशत हो । सरकारले बजेटको लक्ष्य भेट्टाउन बाँकी ४५ दिनमा २ खर्ब ४३ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ खर्च गर्नुपर्छ । यसअनुसार अब दैनिक ५ अर्ब ४१ करोड २३ लाख रुपैयाँ पूँजीगत बजेट खर्च गर्नुपर्छ ।

सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ । नयाँ बजेट १ साउनदेखि कार्यान्वयनमा आउनेछ ।

चालु खर्च भने सामान्य

आइतबारसम्म सरकारले चालु प्रकृतिको बजेट ८ खर्ब २३ अर्ब ५५ करोड रुपैयाँ खर्च गरिसकेको छ । यो यस आवमा लिइएको लक्ष्यको ६९.६ प्रतिशत हो ।

यस आवमा सरकारले ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ बराबर चालु बजेट खर्चको लक्ष्य लिएको छ । बाँकी ४५ दिनको अवधिमा सरकारले ३ खर्ब ५९ अर्ब ६७ करोड रुपैयाँ पूँजीगत खर्च गरिसक्नुपर्छ । जस अनुसार सरकारले यस अवधिमा दैनिक ७ अर्ब ९९ करोड २८ लाख रुपैयाँ चालु बजेट खर्च गरिसक्नु पर्छ ।

वित्तीय व्यवस्थातर्फ सरकारले आइतबारसम्म १ खर्ब ४१ अर्ब रुपैयाँ बजेट खर्च गरिसकेको छ । यो लक्ष्यको ६१.३२ प्रतिशत हो । यस आवमा सरकारले २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ वित्तीय व्यवस्थाका लागि विनियोजन भएको छ ।

राजस्व संकलन लक्ष्यभन्दा धेरै कम

चालु आर्थिक वर्षमा राजस्व संकलन भने लक्ष्य भन्दा धेरै कम भएको छ । चालु आवमा सरकारले राजस्व संकलनको लक्ष्य १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राखेको छ । तर, आइतबारसम्म संकलन भने मात्र ७ खर्ब ८८ अर्ब ४३ करोड रुपैयाँ भएको छ । यो लक्ष्यको ५६.१९ प्रतिशत मात्र हो । लक्ष्य भेटाउन बाँकी ४५ दिनको अवधिमा सरकारले ६ खर्ब १४ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गर्नुपर्छ । यस अनुसार अब दैनिक १३ अर्ब ६६ करोड रुपैयाँ राजस्व उठ्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?