 
																			१५ जेठ, धनगढी । रेशम चौधरीलाई आममाफी दिएर सरकारले आफूहरुमाथि अन्याय गरेको टीकापुर घटनाका पीडितहरुले बताएका छन् ।
टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम, सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि सोमबार बिहान मात्र छुटेका छन् ।
टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशब बोहराकी पत्नी शारदा भने अदालतले दोषी ठहर गरेका रेशमलाई रिहा गरेर आफूहरुलाई अपराधी करार गरिदिएको बताउँछिन् ।
‘यो विषयमा बोल्ने कुनै शब्द नै छैन,’ बोहराले भनिन्, ‘सरकारले सत्ता टिकाउन जे पनि गरिदिने ? सरकारले हामीलाई अपराधी घोषणा गरेको छ । रेशम पीडित र हामी पीडक भयौं ।’
सर्वोच्च अदालतले २ जेठमा रेशमको जन्मकैद सदर गरेको थियो । लगतै रेशमले बाँकी कैद सजाय माफी मिनाहका लागि निवेदन दिएपछि शारदा पनि त्यसलाई रोक्न माग गर्दै राष्ट्रपति कार्यालय पुगिन् ।
त्यसकाका बावजुद सरकारले आममाफीका लागि सिफारिस गरेपछि शारदा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेकी थिइन् । तर उनको रिट दर्ता प्रक्रियामै रहेका बेला राष्ट्रपतिबाट माफी पाएर रेशम छुटेका छन् ।
डिल्लीबजार कारागारबाट रिहा भएपछि टीकापुर घटनामा ज्यान गुमाएका प्रहरीको परिजारलाई न्याय दिलाउन सघाउने रेशमको प्रतिक्रियाप्रति समेत उनले आपत्ति जनाएकी छन् ।
‘रेशम चौधरीले हामीलाई न्याय दिलाउछौं भनेको समाचार पढेर थाहा पाए । उहाँलाई म भन्न चाहान्छु सुरुमा तपाईँ जसलाई मोहरा बनाएर बुवा र श्रीमतीलाई सत्तामा पुर्याउनुभयो, आफू जाने तयारीमा हुनुहुन्छ,’ बोहराले भनिन्, ‘उहाँहरुलाई न्यायदिनुस्, तपाईँसँगै जेलजीवन बिताइरहेका तपाईँका मान्छेलाई न्यायदिनुस् ।’
टीकापुर घटनामा ज्यानगुमाएका प्रहरी निरीक्षक बलराम विष्टकी छोरी जानुले पनि सरकारले रेशम चौधरीलाई रिहा गरेपछि स्तब्ध भएको बताइन् । तीनतहका अदालतले न्याय दिए पनि सरकारले आफूहरुमाथि अन्याय गर्दै पीडा थपिदिएको उनी बताउँछिन् ।
‘सर्वोच्च अदालतको फैसला सुनेपछि दोषीले सजाय पायो भनेर खुसी लागेको थियो तर अहिले सरकारको यो कदमले निशब्द बनायो । बोल्नलाई कुनै शब्द नै रहेन,’ विष्टले भनिन्, ‘हत्या गर्दै हिड्ने मान्छेलाई सरकारले माफी दिँदै जाने यो कस्तो कानून हो ?’
उनले सरकारको कदमविरुद्ध अन्य पीडितहरुसँग मिलेर पुनः न्यायिक लडाइँ लड्ने बताइन् ।
टीकापुर घटनामा ज्यान गुमाएका टीकापुरका १८ महिने बालक टेक साउदका बाजे जंगबहादुरले सरकारको निर्णय अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् । उनले अदालतले गरेको निर्णय सरकारले कुल्चिने भए कारागार र अदालत नै राख्नन हुने तर्क पनि गरे ।
‘कसैलाई जेलमा थुन्ने कसैलाई आममाफी दिने यो अन्यायपूर्ण कुरा भयो’ जंगबहादुरले भने, ‘उसो भए यो देशमा जेल किन चाहियो ? अदालत किन चाहियो ? सबैलाई माफी गरिदिएभयो ।’ २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा बालक साउद र नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4