
काठमाडौं । रमेश क्षितिजका नयाँ कविताहरूको संग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’को विमर्श गरिएको छ । शनिबार सिन्धुपाल्चोकको सुकुटे बीचमा भएको विमर्शमा चार दर्जनभन्दा बढी कवि तथा लेखकले क्षितिजका कविता र कवितायात्रामाथि टिप्पणी गरे ।
रमेश क्षितिजका कवितालाई अनुवाद गर्दा आफू चकित भएको लेखक कुमार नगरकोटीले बताए । ‘कुनै समय कवि श्रवण मुकारुङमार्फत मैले क्षितिजका कविता अंग्रेजी भाषामा अनुवाद गरेको थिएँ । मुकारुङले कविता थमाउँदा क्षितिजका कवितालाई खासै वास्ता गरेको थिइनँ तर जब भट्टीमा पसेर पढ्न थालें, मदिराले भन्दा बढी मात उनका कविताले लगाए,’ उनले भने ।
साहित्यकार तथा पत्रकार बसन्त बस्नेतले क्षितिजको कविता लेखनको विशेषता र समकालीन नेपाली कविताको बुनोट र बान्कीबारे संवाद गरे । समालोचक राजकुमार बानियाँले पुस्तकमाथि टिप्पणी गर्दै भने, ‘अहिलेका नेपाली कवितामा अ-कविता हाबी भइरहेका बेला क्षितिजका कविताले नेपाली कविताको क्षेत्रमा युगीन अर्थ राख्छ । कवितामा खास कविता तत्त्व हराउँदै जाँदा नारालाई कविता मानेर पढिरहेका पाठकलाई यी कविता भीरमाहुरीले बनाएको महजस्तै स्वास्थ्यवर्द्धक लाग्नेछन् ।’
लेखक बुद्धिसागरले कुनै समय उपन्यास लेख्न कथाको खाका बनाएका क्षितिज नेपाली कविताका अनन्त सर्जक रहेको उल्लेख गरे ।
कवि ज्योति जंगल, हेम प्रभास, मणि लोहनी, बुद्धिसागर, यज्ञश, पवन आचार्य, रूपेश श्रेष्ठ, कुमार नगरकोटी लगायतले क्षितिजका कविता वाचन गरेका थिए । कार्यक्रममा बोल्दै कवि क्षितिजले आफूले गरिरहेको हृदय-यात्राको अर्को रूप कविता भएको उल्लेख गरे ।
कार्यक्रममा संगीतकार एवं गायक सन्तोष श्रेष्ठले क्षितिजका दुई गीत प्रस्तुत गरेका थिए । अर्को साँझ पर्खेर साँझमा, घर फर्किरहेको मानिस, आफैं आफ्नो साथी भएँ (गीत संग्रह)पछि क्षितिजको यो कविता संग्रह प्रकाशन भएको हो ।
बुकहिलले प्रकाशन गरेको ५२ वटा कविताको हार्ड कभर संस्करणको मूल्य ४५५ रुपैयाँ राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4