+
+
Shares

चितवनमा १५ दिनमै झण्डै ९६९ टन मल बिक्री, अनलाइनबाटै वितरण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा धान रोपाइँको मुख्य सिजनलाई लक्षित गरी कृषि सामग्री कम्पनी लिमिटेडले १५ दिनमा ९६९ टन रासायनिक मल वितरण गरेको छ ।
  • शाखा प्रमुख राजन बगालेले अनलाइन प्रणालीमार्फत वितरण गर्दा काम व्यवस्थित र पारदर्शी भएको उल्लेख गर्नुभयो ।
  • जिल्लाका २७८ वटा सहकारीले सूचीकृत भई मल वितरण गरिरहेका छन् भने भरतपुर महानगरमा सबैभन्दा धेरै मल खपत भएको छ ।

३२ असार, काठमाडौं । धान रोप्ने मुख्य सिजन सुरु भएसँगै चितवनमा रासायनिक मल वितरणको काम तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड भरतपुर शाखाले अनलाइन प्रणालीमार्फत १५ दिनमै ९६९ टन मल बिक्री गरेको छ ।

यो मल जिल्लाका सूचीकृत सहकारीहरूमार्फत बाँडिएको हो । शाखाका प्रमुख राजन बगालेले असारको अन्तिम १५ दिनमा ६६८.२ टन युरिया, २०१.८ टन डीएपी र ९९.१७५ टन पोटास बिक्री भएको जानकारी दिए ।

जिल्लाभरिका २७८ वटा सहकारीले अनलाइनबाटै मल वितरण गरिरहेका छन् । वितरण प्रणाली अनलाइन हुँदा काम व्यवस्थित र पारदर्शी भएको बगालेले बताएका छन् ।

कुन सहकारीले कति मल बेच्यो र कति मौज्दात छ भन्ने सबै रेकर्ड प्रणालीमै स्पष्ट देखिने भएकाले कसैले बदमासी गर्न नसक्ने उनको भनाइ छ । यसका लागि सहकारीले हरेक दिन आफ्नो विवरण अपडेट गर्नुपर्छ ।

कार्यालयको तथ्यांकअनुसार सबैभन्दा धेरै मल भरतपुर महानगरपालिकामा खपत भएको छ । भरतपुरमा २३९.१५ टन युरिया, १९७.०५ टन डीएपी र २२.२२५ टन पोटास वितरण गरिएको छ ।

त्यसैगरी माडी नगरपालिकामा ११५ टन युरिया र ९.५ टन पोटास, खैरहनीमा ९०.१ टन युरिया र १९.१ टन पोटास,  रत्ननगरमा ७३.९५ टन युरिया र २४.१ टन पोटास बाँडिएको छ ।

यस्तै राप्तीमा ६४.३ टन युरिया, ०.७ टन डिएपी र १०.२५ टन पोटास, कालिकामा ४९ टन युरिया र १४ टन पोटास तथा इच्छाकामना गाउँपालिकामा २८.५ टन युरिया बिक्री भएको छ ।

यसका साथै, आपत्कालीन अवस्थाका लागि छुट्याइएको ‘बफर’ मौज्दातबाट पनि ८.२ टन युरिया र ४.०५ टन डिएपी वितरण गरिएको बगालेले बताए ।

धान रोपाइँको यो सिजनमा चितवनभरि करिब २ हजार ५ सयदेखि ३ हजार टनसम्म रासायनिक मल माग हुने अनुमान छ । यसैलाई आधार मानेर किसानलाई सहज रूपमा मल दिन आवश्यक मौज्दातको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?