+
+

कोशीमा जसपाको निर्णयले मुख्यमन्त्री संकटमा, माओवादी दबाबमा

हरि अधिकारी हरि अधिकारी
२०८० जेठ १७ गते २०:३७
माओवादी नेता इन्द्रबहादुर आङ्बो र मुख्यमन्त्री हिक्मतकुमार कार्की (दाँया)

१७ जेठ, विराटनगर । जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशीमा एमाले नेतृत्वको सरकार संकटमा परेको छ ।

बजेट निर्माणको तयारीमा जुटिरहेको मुख्यमन्त्री तथा अर्थमन्त्री हिक्मतकुमार कार्कीलाई जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेसँगै बहुमत जुटाउन कठिन हुने देखिएको छ ।

केन्द्रको सत्ता गठबन्धन विपरीत एमाले नेतृत्वको सरकारमा रहिरहेको माओवादी केन्द्रलाई पनि जसपाले समर्थन फिर्ता लिएसँगै सरकार छाड्न दबाव परेको छ ।

केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितको गठबन्धन रहे पनि कोशीमा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको सरकार छ । कांग्रेसले सरकार छाड्न दबाव दिए पनि कोशीमा माओवादीले सरकार छाड्न अलमल गरिरहेको छ । त्यही बेला जसपाले समर्थन फिर्ता लिएपछि माओवादीमाथि दबाव बढाएको हो । जसपाको निर्णयसँगै कोशी सरकारमा स्वास्थ्यमन्त्री रहेकी जसपाकी निर्मला लिम्बुले राजीनामा दिएकी छन् ।

२५ पुसमा माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा एमालेका कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । तर राष्ट्रपति निर्वाचनअघि केन्द्रमा कांग्रेस–माओवादीसहितको गठबन्धन बनेको थियो । त्यसपछि केन्द्र र प्रदेशमा माओवादी नेतृत्वको सरकारबाट एमाले बाहिरियो ।

एमालेले सरकारको नेतृत्व गरेको प्रदेशहरुमा माओवादी केन्द्रसहितका दलहरु सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीहरुले विश्वासको मत पाउन नसकेपछि पदमुक्त भए । अहिले कोशीबाहेकका ६ प्रदेश र संघीय सरकारमा एमाले प्रतिपक्षमा छ ।

कोशीमा एमाले नेतृत्वको सरकार छाड्न नमानेका माओवादी र जसपालाई ५ जेठमा नेपाली कांग्रेसले लिखित रुपमा प्रदेश सरकारबाट बाहिरिन र समर्थन फिर्ता लिन आग्रह गरेको थियो ।

पत्र पाएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएपनि कुनै निर्देशन नआएको माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो बताउँछन् । उनले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि प्रदेश सरकारको विषयमा निर्णय हुने बताए ।

बुधबार प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले माओवादीले दोहोरो चरित्र देखाएको बताएका थिए ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट जीवन आचार्य वन पर्यटन तथा वातावरण मन्त्री र दुर्गा प्रसाद चापागाई भौतिक पूर्वाधार मन्त्री छन् । दुई मन्त्री बजेट ल्याएपछि मात्रै सरकारबाट बाहिरिनुपर्ने पक्षमा छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशी प्रदेशमा ४० सिटको नेकपा एमाले र ६ सिटको राप्रपा एक ठाउँमा छन् । दुई दलको मत संख्या ४६ छ । केन्द्रको सत्ता गठबन्धनमा रहेका दल कांग्रेसको २९, माओवादी केन्द्रको १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना गरी ४६ सांसद मात्र छन् । माओवादी केन्द्रबाट निर्वाचित भएका बाबुराम गौतम सभामुख छन् ।

त्यसैले दुवै गठनबन्धनलाई बहुमत जुटाउन सहज छैन । सहज बहुमत नभएका कारण नयाँ गठबन्धन बनेपनि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार टिकिरहेको माओवादी सांसदहरु बताउँछन् ।

सभामुखले मत दिएमा बहुमत जुटाउन सक्ने आशामा रहेको कांग्रेस–माओवादीसहित सत्ता गठबन्धनका दलहरु विश्वासको मत लिने र विधेयक पास गर्ने प्रयोजनमा बारम्बार विवाद हुने भएका कारण राप्रपालाई पनि आफूतर्फ ल्षउन प्रयास गरिरहेका छन् ।

राप्रपाले वातावरण बनेको खण्डमा नयाँ गठबन्धनमा आउने बताएको माओवादी केन्द्र र कांग्रेसका नेताहरु बताउँछन् ।

*अपडेट गरिएको

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?