+
+

गौतम बुद्धको मावली खोज्दै खयरडाँडामा उत्खनन् सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १७:४८

१७ जेठ, बुटवल। बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको देवदह नगरपालिकाको खयरडाँडामा लुम्बिनी विकास कोषले उत्खनन् सुरु गरेको छ ।

बुधबार कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले संयुक्त रुपमा उत्खनन् को शुभारम्भ गरेका हुन् ।

लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा ७ जनाको टोली उत्खनन् मा खटिएको छ । लामो समयदेखि स्थानीय बासिन्दाको माग रहेपनि विविध कारण हुन नसकेको उत्खनन् यो पटक सुरु गरिएको महाशाखा प्रमुख उप्रेतीले बताए ।

देवदह नगरपालिका–९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबार क्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खनन् का लागि स्थानीयले माग गर्दै आएका थिए । उनीहरुले खयरडाँडामा बुद्धको मावली कोलिय गणराज्यको राजधानी देवदहको दरवार भएको दाबी गरेका छन् ।

‘देवदह कुन हो, त्यसका लागि पुरातात्विक रुपमा पुष्टि हुन बाँकी छ, तर खयरडांडा पुरातात्विक स्थल रहेकोमा कुनै शंका छैन’ कोषका कोषाध्यक्ष भट्टराईले भने ।

बौद्ध पुरातात्विक क्षेत्रहरुको उत्खनन् र संरक्षणमा पुरातत्व महाशाखालाई बलियो बनाएर अभियान सञ्चालन गर्ने योजना रहेको भट्टराईले बताए । उनले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरुको पुरातात्विक उत्खनन् गर्नुपर्ने बताए ।

उत्खनन् शुभारम्भमा देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले खयरडाँडा क्षेत्र नै कोलिय गणराज्यको राजधानीको दरवार क्षेत्र रहेको दावी गरे । उनले उत्तरतर्फ पुष्करणी दह, पश्चिमपट्टी रोहिणी नदी रहेकाले यही क्षेत्र नै देवदह भएको आफूहरुको विश्वास रहेको बताए ।

नगरप्रमुख खरेलले खयरडाँडामा भेटिएका पुरातात्विक वस्तु र स्मारकहरुलाई नगरपालिकाले संग्रहालय बनाएर राख्ने प्रतिबद्धता जनाए ।

पुरातात्विक रुपमा देवदहको पुष्टिका लागि उत्खनन्ले महत्वपूर्ण प्रमाणहरु जुटाउने अपेक्षा गरिएको छ । बुधबारदेखि सुरु भएको उत्खनन् आगामी असार १५ गतेसम्म चल्नेछ । उत्खनन् मा पुरातत्व महाशाखाका प्रमुख उप्रेती सहित नवराज अधिकारी, शुभेच्छा पोखरेल, निशा पन्थी, अम्बिका सुब्बा सहितको टोली खटिएको छ ।

यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातत्व विभागले भवानीपुरमा उत्खनन् गरेको थियो । कोषले यही आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार कपिलवस्तुको गोटिहवामा चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन् गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?