+
+

महामन्त्रीमाथि संस्थापनको प्रश्न : ‘सभापतिलाई नङ्ग्याएर कांग्रेस रूपान्तरण हुन्छ ?’

‘सभापति माथि आक्रोश पोख्ने महामन्त्रीसँग चाहिं केन्द्रीय सदस्यले प्रश्न गर्नै नपाउने ?’

लिलु डुम्रे लिलु डुम्रे
२०८० जेठ १९ गते ११:३७
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ।

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ता निराश हुनु र पार्टीप्रति नागरिकको वितृष्णा बढ्दै जानुमा सभापति शेरबहादुर देउवा प्रमुख कारक रहेको भन्ने आरोप कांग्रेसभित्रको एकपक्षले लगाउँदै आइरहेको छ । उनीहरूको भनाइमा, ‘कांग्रेस कमजोर हुनुको अपजस सभापति बाहेक अरूले लिनसक्ने अवस्था छैन ।’

आफूलाई ‘संस्थापनइतर’ भन्ने देउवा विरोधी नेताहरू देउवाप्रति आक्रामक देखिएपछि संस्थापन पक्षका नेताहरू त्यसको प्रतिवादमा उत्रिन थालेका छन् । पार्टीभित्रको निर्णय प्रक्रियामा सहभागी हुने तर बाहिर भने त्यसको विरोध गर्ने शैली पार्टीमा हुर्कंदै गएको यो पक्षका नेताहरू बताउँछन् ।

‘पार्टीभित्र समस्या छन्, हामीलाई पनि थाहा छ । तर त्यसका लागि बैठकमा कुरा गरौं’ देउवा निकट एकजना पदाधिकारी प्रश्न गर्छन्, ‘सभापतिलाई नङ्ग्याएर कांग्रेस रूपान्तरण हुन्छ ? सभापतिलाई धारेहात लगाएर समस्याको समाधान हुन्छ ?’

कांग्रेस तीनै तहको सरकारमा छ । संघीय संसदको प्रतिनिधिसभामा प्रमुख दल छ । संसदको अंकगणितमा पहिलो दल भए पनि कार्यकर्तामा भने ऊर्जा नरहेको नेताहरू टिप्पणी गर्छन् । ‘पहिले पहिले जिल्ला जाँदा संगठन बनाउने हो, अहिले हारे पनि अर्कोपटक जित्ने हो भन्ने साथीहरू पाउने गर्थें’  महामन्त्री गगन थापा भन्छन्, ‘यो पटक विचित्रको अवस्था छ । सबै तहमा हाम्रो सरकार छ । तर, त्यो बेला हार्दा निराश नभएका साथीहरू अहिले निराश देख्छु ।’

सभापतिले पार्टी विधिसम्मत तरिकाले चलाउन नसकेको भन्दै असन्तुष्टि चुलिएको छ । तर त्यस्तो असन्तुष्टि पार्टीभित्रका बैठकमा व्यक्त हुनुपर्ने तर्क संस्थापन पक्षका नेताहरू गर्छन् । सभापतिले विधिसम्मत काम नगरेको प्रश्न गर्ने थलो पार्टी बैठकलाई बनाउनुपर्ने उनीहरूको भनाइ छ ।

‘मानौं, सभापति पद्धति अनुसार हिंड्नुभएन रे ! महामन्त्रीले पद्धति मान्नुभएको छ ?’ देउवा पक्षीय ती नेता प्रश्न गर्छन् । सभापति कहाँ–कहाँ सच्चिनुपर्ने त्यसका लागि पार्टी बैठकमा कुरा राख्न उनले महामन्त्रीद्वयलाई सुझाव दिएका छन् ।

सभापतिका कारणले पार्टीले गरेका निर्णय कार्यान्वयन हुन नसकेको भन्दै एक पक्षले प्रश्न उठाइरहेको छ । निर्णय कार्यान्वयन गर्न सभापति वाधक भएको सुन्न संस्थापन पक्ष तयार छैन । भ्रातृ संस्थाको तदर्थ समितिलाई पूर्णता दिनका लागि सभापतिले रोक्दै नरोकेको उनी पक्षीय नेताहरू दाबी गर्छन् । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायत भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिने भनिंदै आए पनि कार्यान्वयन हुनसकेको छैन ।

‘भ्रातृ संस्थाको कार्यसमिति छिटो बनाउन सभापतिले पदाधिकारी बैठकमा भनिसक्नुभएको छ’ देउवा पक्षीय नेता भन्छन्, ‘अरू समूहले नाम दिंदैनन् । सभापतिलाई दोष लगाएर हुँदैन ।’ उनका अनुुसार भ्रातृ संस्थाको तदर्थ समिति आकारमा बढाउन सभापति लचिलो छन् । पार्टीभित्र ‘भूमिका पाइएन’ भन्दै सभापतिकहाँ गुनासो गर्नेको संख्या बढेकाले ठूलो आकारको तदर्थ समिति बनाउन देउवा तयार भएका हुन् ।

संस्थापनइतरमा मात्रै होइन, संस्थापन पक्षकै कतिपय नेताहरू पुरानो ढर्राले पार्टी सञ्चालन हुन नसक्ने निचोडमा पुगेका छन् । पार्टी रूपान्तरणका लागि आफूहरू पनि तयार रहेको तर महामन्त्रीद्वयले आन्तरिक छलफललाई महत्व नदिएको उनीहरूको गुनासो छ ।

‘उहाँहरूको गुनासो सभापतिसँग छ । हाम्रो गुनासो उहाँहरूसँग छ’ देउवा पक्षका नेता एवं सहमहामन्त्री भीष्म आङदेम्बे भन्छन्, ‘उहाँहरूले आफूभन्दा माथिको पदमा रहेको सभापतिसँग असन्तुष्टि पोख्नुहुन्छ । हामी माथि रहनुभएका महामन्त्रीसँग प्रश्न गर्न किन नपाउने ?’ उपल्लो तहको पदमा हुनेसँग गुनासो गर्ने महामन्त्रीहरूले आफूभन्दा तल रहेकाहरूको कुरा नसुनेको आङदेम्बे बताउँछन् ।

पार्टीभित्र संख्यात्मक बल सभापति देउवासँग छ । पार्टीको क्षति जोगाउन सभापति देउवाले बाटो खाली गरिदिनुपर्ने एकथरीको तर्क छ । पार्टी संरचनामा शक्तिशाली देउवाले अरूका लागि पद त्याग्ने अवस्था नरहेको संस्थापन पक्षका नेता बताउँछन् । महाधिवेशन अघि सभापतिले पद छोड्ने वा विशेष महाधिवेशन गर्ने विषय अर्थहीन रहेको संस्थापन पक्षको भनाइ छ ।

आफू कुनै समूहमा नरहेको थापाको दाबी छ । कांग्रेसको रूपान्तरणको मुद्दामा आफ्नो समूहमा पनि विमति नरहेको देउवा पक्षीय एक केन्द्रीय सदस्य बताउँछन् । उनका अनुसार अहिलेको विकल्प भनेकै केन्द्रीय सदस्यहरूको बलमा महामन्त्रीहरू अघि बढेर सभापतिलाई लचिलो बनाउनु हो ।

‘विधिको कुरा गर्नेहरूले देउवाको पार्टीभित्रको पावर हेर्नुपर्दछ । उहाँलाई हटाउन सकिने अवस्था छैन’ देउवा पक्षीय नेता भन्छन्, ‘फेरि उहाँ सभापति हुने होइन । आउट गोइङ सभापतिसँग विवाद गरेर भन्दा छलफल गरेर पार्टी सुधार्न सकिन्छ ।’

सभापति देउवा समूहमा पनि दुई प्रकृतिका नेताहरू छन् । एकथरी, सभापति देउवाले बोलेपछि सकियो भन्ने र अर्कोथरी सुधारका पक्षधर । देउवा पक्षका एक केन्द्रीय सदस्य आफ्नो समूहका नेताहरू बारे विश्लेषण गर्छन्, ‘देउवा नजिक रहेका केही व्यक्ति यस्ता छन्, जो देउवाले बिहानलाई साँझ पर्‍यो भने पनि हो भन्छन् ।’

तर, त्यहाँभित्र पनि सुधारका पक्षधरहरू चाहिं महामन्त्रीसँगै कुरा गर्न सभापतिकहाँ जान तयार छन् । त्यसका लागि अग्रसरता चाहिं महामन्त्रीले लिनुपर्ने उनको भनाइ छ । पार्टीभित्र रूपान्तरणको पक्षमा रहेका सबैलाई विश्वासमा लिन महामन्त्रीहरू चुकेको उनको बुझाइ छ ।

‘महामन्त्रीले छलफलका लागि बोलाउनुपर्‍यो । सभापतिले यो–यो काम गर्छु भन्नुभएको अहिलेसम्म गर्नुभएन भनी हामीले बुझाउनुपर्‍यो’ देउवा पक्षीय केन्द्रीय सदस्य भन्छन्, ‘महामन्त्रीहरूसँगै सभापतिलाई भेट्न हामी पनि जानेथियौं । सभापतिलाई तपाईंले गर्न भनेको काम किन गर्नुभएन ? भनी हामीले पनि प्रश्न गथ्र्यौं ।’ सामूहिक रूपमा देउवालाई भेटेर विषय बुझाउन सके सभापति लचिलो हुने उनको बुझाइ छ ।

पार्टीभित्र स्पष्ट दुई समूह छ । त्यसभित्र उप–समूहहरू पनि छन् । ती समूहलाई भत्काउने प्रतिबद्धता महामन्त्री थापा गर्छन् । उनी भन्छन्, ‘अब सबै समूह र गुट भत्काउने हो । पार्टीभित्र दुइटा गुट हुन्छ– एउटा, सुधार चाहने र अर्को, सुधार रोक्ने ।’

आफू कुनै समूहमा नरहेको थापाको दाबी छ । कांग्रेसको रूपान्तरणको मुद्दामा आफ्नो समूहमा पनि विमति नरहेको देउवा पक्षीय एक केन्द्रीय सदस्य बताउँछन् । उनका अनुसार अहिलेको विकल्प भनेकै केन्द्रीय सदस्यहरूको बलमा महामन्त्रीहरू अघि बढेर सभापतिलाई लचिलो बनाउनु हो ।

‘अहिले महामन्त्रीहरूले भने जस्तै पनि सम्भव हुन्न । देउवाका अनुसार पनि पार्टी चल्न सक्दैन’ संस्थापन पक्षका ती नेता भन्छन्, ‘कसरी अघि बढ्ने भनेर ठोस प्रस्ताव सहितको बैठक महामन्त्रीले राख्नुभयो भने म पनि जान्छु । गुट भनेर बस्दैनौं ।’

पार्टीमा निराशा आउनुको एउटा कारण चुनावी तालमेल रहेको नेताहरू विश्लेषण गर्छन् । देउवा पक्षका कतिपय नेता तालमेलको विरुद्धमा पनि छन् । तर, तालमेलको निर्णय समयानुकूल रहेको संस्थापन पक्षका केही नेता तर्क गर्छन् ।

‘अघिल्लो पटक प्रत्यक्षमा २३ सिट जितेका थियौं । अहिले गठबन्धन नभएको भए १३ सिट आउने थियो’ तालमेलका पक्षधर ती नेता भन्छन्, ‘पार्टी संगठनलाई ध्यान दिने र अब कुनै पनि चुनावमा गठबन्धन नगरौं भनेर केन्द्रीय समितिबाट निर्णय गराऔं ।’

दुई÷तीन पटकका चुनाव हारे पनि चुनावअघि गठबन्धन नगर्ने पार्टीले निर्णय लिनुपर्ने महामन्त्री थापा बताउँछन् । कांग्रेसको धुरीबाट बिग्रिएकाले समाधान पनि माथिबाट खोज्नुपर्ने थापा तर्क गर्छन्, ‘कांग्रेस जराबाट बिग्रिएको होइन, टुप्पो बिग्रिएको हो ।’ पार्टी सुदृढीकरणका लागि जोखिम उठाउँदा महामन्त्री पद गए पनि त्यसका लागि तयार रहेको उनी बताउँछन् ।

संस्थापनइतरका केही नेताले कांग्रेस रूपान्तरण सहितको अभियान लिएर सातै प्रदेशमा कार्यक्रम गरिरहेका छन् । उक्त कार्यक्रम एकपक्षीय भएकाले त्यसले कांग्रेसलाई ऊर्जा नथप्ने देउवा पक्षीय नेताहरूको बुझाइ छ ।

‘संस्थागत निर्णय सहितको अभियान होइन । एउटा समूह हिंडेर कांग्रेसमा सुधार हुँदैन’ देउवा पक्षीय ती नेता भन्छन्, ‘रूपान्तरण अभियान सबैले स्वामित्व लिने तरिकाको हुनुपर्दछ ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?