+
+

‘कपास खेती गर्ने किसान अब खाडी त जानु होला नि !’

कपास विकास समिति खारेज भएपछि कपास खेती गर्ने हामी जस्ता किसानको आम्दानीको मुख्य बाटो बन्द भएको छ । अब कामका लागि भारत वा खाडी मुलुक त जानु होला नि !

मित्रलाल पुन, कपास कृषक दाङ मित्रलाल पुन, कपास कृषक दाङ
२०८० जेठ १९ गते १५:०३

लमही नगरपालिकाको रिहार क्षेत्रका करिब ५०-६० हामी किसान २०५७ सालदेखि कपास खेती गर्दै आएका छौं। कपास विकास समितिका कर्मचारीहरूले हामीलाई कपास खेती गर्न बीउ, विषादी र अन्य प्राविधिक सहयोग गर्दै आएका छन् ।

कपास खेती हुनुभन्दा पहिले नै समितिले कपासको मूल्य तोकिदिन्थ्यो । हामीले उत्पादन गरेको कपास पनि समितिले किनिदिने ग्यारेन्टी थियो । हाम्रै गाउँबस्तीमा आएर खरिद गरी एकमुष्ट पैसा दिन्थ्यो । कपास खेती गरेर हामीले एकमुष्ट आम्दानी गर्थ्यो।

यो वर्ष पनि मैले करिब ८ कट्ठामा कपास खरिद गर्ने भनेर समितिबाट बीउ पनि ल्याइसकेको थिएँ । एक्कासी रेडियोबाट कपास विकास समिति खारेज भयो भन्ने सुन्दा हामी अचम्ममा परेका छौं ।

समिति खारेज भएपछि हामीले उत्पादन गरेको कपास कसले किनिदेला भन्ने चिन्ता बढेको छ । नेताहरूले चुनावको बेला जनतालाई गाँस, बास, कपासको व्यवस्था गर्छौं भनेर भाषण गरेको मैले सुनेको छु । तर काम भने उल्टो गर्छन्।

हामीलाई चाहिने कपास हामीले उत्पादन गरिरहेका थियौं। कपास खेतीलाई बढाएर नेपाललाई चाहिने कपास नेपालमै उत्पादन गर्नुपर्ने थियो तर नेताहरूले त कपास खेतीलाई सिध्याउने गरेर समितिलाई नै बन्द गरेर के गर्न खोजेका होलान् ! अब त पूजापाठका लागि बत्ती कात्न चाहिने कपास पनि विदेशबाटै किनेर ल्याउनुपर्ने दिन आए।

२०-२२ वर्षदेखि समितिले सहयोग गर्दै आएको थियो। समिति खारेज भएपछि कपास खेतीका लागि सरकारले दिने अनुदान पनि बन्द हुन्छ होला। हामीले उत्पादन गरेको कपास कसले किन्ला भन्ने अन्योल छ।

सिंचाइको सुविधा नभएको क्षेत्रमा कपास खेती हुन्थ्यो। सिंचाइ सुविधा नभएको बारीमा अरू खेती बाली पनि राम्रो हुँदैन । भए पनि बँदेलले धेरै नोक्सान गरिदिन्छ।

कपासमा जस्तो आम्दानी हुँदैन। कपास खेती गर्न सक्ने अवस्था भएन भने सिंचाइ सुविधा नभएका जंगल नजिक गाउँ बस्ती भएका हामी जस्ता गरिब किसानलाई धेरै समस्या हुन्छ। त्यसैले सरकारले कपास समिति खारेज गर्दा हामी कपास खेती गर्ने धेरै किसान चिन्तित भएका छौं।

२०-२२ वर्षदेखि समितिले सहयोग गर्दै आएको थियो। समिति खारेज भएपछि कपास खेतीका लागि सरकारले दिने अनुदान पनि बन्द हुन्छ होला। हामीले उत्पादन गरेको कपास कसले किन्ला भन्ने अन्योल छ।

कपास राम्रो भएको वर्ष हामीले वर्षमा तीन पटकसम्म टिप्थ्यौं । एक कट्ठामा एक क्वीन्टलसम्म उत्पादन हुन्छ । हामीले पनि ७०-८० किलो सम्म उत्पादन गरेका थियौं । कपास बालीमा अरू बालीमा भन्दा अलि बढी दुःख भने छ। रोपेपछि राम्रो हुर्किएका बोटहरू राखेर अन्य बोटहरू गोडमेल गरेर हटाउनुपर्छ। रोग, कीराबाट बचाउन पटक-पटक विषादी छर्नुपर्छ।

मिहिनेत परे पनि समितिले कपास खेतीमा सहयोग गरिरहेको थियो। अन्य बाली खेती गर्दा हामी किसानले कुनै सहयोग पाउँदैनौं। सिंचाइ, रासायनिक मल र उन्नत बीउ नपाउँदा अन्न बालीबाट पनि खासै फाइदा हुँदैन। त्यसमा पनि रोग-कीरा र जंगली जनावरले सताउँछन्। खेती किसानी भनेकै दुःखको काम हो।

कपास विकास समिति खारेज भएपछि कपास खेती गर्ने हामी जस्ता किसानको आम्दानीको मुख्य बाटो बन्द भएको छ। अब कामका लागि भारत लगायत खाडी मुलुक त जानु होला नि !

(दाङ, लमहीका कपास कृषक पुनसँग पत्रकार कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?