+
+

गर्मीयाममा कौसी खेती गर्दा के कुरामा ध्यान दिने ?

सुजाता अधिकारी, कौसी खेती प्रशिक्षक सुजाता अधिकारी, कौसी खेती प्रशिक्षक
२०८० जेठ २० गते ११:०२

जनसंख्या वृद्धिसँगै सहरमा खेतीयोग्य जमिन नासिंदै गएको छ । यस्तो बेला घरघरमा कौशी खेतीको प्रचलन बढेको छ । कौशीमा तरकारी उब्जाएर उपभोग गर्दा पैसाको पनि बचत भइरहेको छ ।

बारीमा जस्तै कौशीमा पनि मौसम अनुसारको तरकारी उब्जाउन सकिन्छ । अहिले गर्मीको मौसम छ । यसबेला आफूलाई मन लागेका तरकारी आफ्नै घरको कौशीमा उब्जाएर खान सकिन्छ ।

कौसी खेतीमा तरकारी र फलपूmल दुवैको खेती गर्न सकिन्छ । अहिले कौसीमा गरिने तरकारीमा सिमी, गोलभेंडा, भन्टा, भिण्डी, खुर्सानी, तीतेकरेला, काँक्रो, लौका, घिरौंला, बोडी, फर्सी, कुरिलो फलाउन सकिन्छ । त्यस्तै फलफूलमा अंगुर, अम्बा, आँप, कागती, जुनार, एभोकाडो गर्मीयाममा लगाउन सकिन्छ ।

काउली, बन्दाकोभी, ब्रोकाउली, धनियाँ, लसुन, प्याज रामतोरिया, सलगम, मुलालगायत सदावहार मानिने तरकारी पनि गर्मीयाममा लगाउन सकिन्छ ।

माटो व्यवस्थापन कसरी गर्ने ?

कौशीमा तरकारी खेती गर्ने हो भने लगाउने बालीअनुसार उपयुक्त माटो छनोट गर्नुपर्छ । यसको लागि साधारण माटो भन्दा पनि बजारमा पाइने कोेकोपित, कम्पोस्ट मल र अरु हल्का चीजको मिश्रित जस्तै आफ्नै घरबाट उत्पादन भएका फोहोरलाई मल बनाएर, मसिना बालुवा, पात पतिंगर, काठको भुस, धानको भुसजस्ता कच्चा पदार्थ प्रयोग गर्न सकिन्छ ।

वर्षायामको बेलामा फोहोर हुने, पुराना घरमा पानी जमेर पानी चुहिने भएकाले माटोको प्रयोग नगर्दा उपयुक्त हुन्छ । तर माटोमा नै तरकारी लगाउने सोच छ भने सफा ठाउँको राम्रो मलिलो माटो ल्याएर गर्न सकिन्छ । त्यसमा भएका डल्ला फोर्ने, छेस्का, ठुटा, गिर्खा राम्ररी केलाएर माटो सफा बनाउनुपर्छ । सफा गरिएको माटोलाई एकचोटि भिजाएर मात्र बिरूवा सार्नुपर्छ ।

व्यवस्थित ढंगले कौसी खेती गर्ने तरिका

कौशीमा स्ट्रोड राख्ने, त्यसको माथि गमला राख्ने, हरेक गमलाको तल एउटा प्लेट (माटो, प्लास्टिक, सेरामिक्स) वा बाटा राख्नुपर्छ । जसले गर्दा धेरै वर्षपछि छतको भुईं मक्किएर पानी चुहिने वा दाग बस्ने समस्याबाट जोगाउन सकिन्छ । यसरी गर्दा कौशी खेती सफा र आकर्षक देखिन्छ । कौशी खेती भनेर भद्रगोल तरिकाले सिधै छतमा गमला राखेर गर्नु उपयुक्त हुँदैन । यसले उत्पादनमा कमी आउनुका साथै छत समेत फोहोर बनाउँछ ।

त्यस्तै सिंचाईको लागि सकेसम्म पाइप जडान गर्नु राम्रो हुन्छ । जसलाई थोपा सिंचाई भनिन्छ । यसको लागि कृषि क्षेत्रबाट अनुदानको पनि व्यवस्था छ । यदि यसो गर्न सकिएन भने बोतलमा सियोले स-सानो प्वाल बनाएर प्रत्येक गमलामा राखेर सिंचाई गर्न सकिन्छ । जसले गमलाबाट झरेको पानी त्यसमा बस्छ र त्यसलाई झोल मलको रुपमा पुनः प्रयोग गर्न सकिन्छ । यसले घरको छत सफा र व्यवस्थित गर्न मद्दत पुर्‍याउँछ । कौशीमा खेती गरिएका फलफूल र तरकारीलाई एकनासको चिस्यानको आवश्यकता पर्छ ।

हेरचाह कसरी गर्ने ?

बेलामा गोडमेल गर्ने, माटो सुख्खा हुन नदिने, गमलाका झारपात बारम्बार उखेल्ने सफा गरिदिने, लहरा जाने बोट छ भने डोरी टाँगीदिने, कमजोर बिरुवालाई साना-साना लठ्ठी गाडेर सहारा दिने, एउटै गमलामा धेरै बिरुवा नरोप्ने, एउटा गमला सकेसम्म एउटा मात्र बोट रोप्ने, बोटबिरुवामा लागेका रोगअनुसार अर्गानिक औषधि छर्किदिने गर्नुपर्छ । जसले बोट मौलाउन पाउँछ र राम्रो उत्पादन हुन्छ ।

गर्मीयाममा जाडोमा भन्दा बढी सुख्खा हुने भएकाले सिंचाईमा विशेष ध्यान दिनुपर्छ ।

मल कस्तो प्रयोग गर्ने ?

गमला खेतीको लागि घरबाट निस्केका कुहिने फोहोरबाट नै मल बनाउन सकिन्छ । बजारमा पाइने रसायनिक मल भन्दा पनि अर्गानिक मल प्रयोग गर्दा राम्रो हुन्छ ।

गमला कस्तो ?

कौशी खेती गर्न महँगा गमला नै चाहिन्छ भन्ने हुँदैन । घरमा भएका प्लास्टिकका फुटेका, चुहिएका काम नलाग्ने भाँडाकुँडालाई गमलाको रुपमा प्रयोग गर्न सकिन्छ । यसले पैसाको साथै पुराना समानको प्रयोग पनि हुन्छ ।

(अधिकारी ग्रीन लाइफ नेपालकी सञ्चालक समेत हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?