
१९ जेठ, काठमाडौं । धरानमा खानेपानीको अभावका कारण अस्पताल सेवा समेत प्रभावित हुन थालेको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानी अभाव हुँदा विभिन्न समस्या भएको भन्दै विद्यार्थीहरुले विरोध र्याली निकालेका छन् ।
विगत दुई हप्तादेखि पानीको चरम अभाव भइरहेकोले आवश्यक पानीको व्यवस्थापन हुनुपर्ने माग राख्दै शान्तिपूर्ण र्याली निकालिएको इन्टर्न डाक्टर प्रशान्त राईले जानकारी दिए ।
उनले भने, ‘पटक पटक समस्या आइरहेको हो तर यो पटक चाँहि अत्ति नै भयो । दुई हप्तादेखि पानीको चरम अभाव भएपछि हामीले शान्तिपूर्ण र्याली निकालेका हौं ।’
विद्यार्थी कल्याण समाजको नेतृत्वमा र्याली निकालिएको उनले बताए । अस्पतालले पानी किनेर ल्याइरहेपनि पनि किनेको पानीले पानीको पर्याप्त नभएको उनले बताए ।
अस्पतालमा पानीको अभावले उपचार सेवामा प्रभाव परेको डा.विष्णु पोखरेलले बताए । ‘डायलसिस सेवामा, ओपिडिमा, ओटिमा प्रभाव परिरहेको छ । विरामी हेरेर, अप्रेसनपछि राम्रो हात धुन पाइँदैन । यसले गर्दा इन्फेक्सन हुने सम्भावना बढी हुन्छ’, उनले भने ।
अस्पतालभित्र विद्यार्थी, डाक्टर, कर्मचारी गरेर करिब तीन हजार सहित स्वास्थ्य उपचारको लागि पानीको आवश्यक पर्छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै तीन वटा पानीको स्रोत भएपनि व्यवस्थापन हुन नसक्दा पानीको अभाव हुन गएको हो ।
प्रतिक्रिया 4