 
																						२१ जेठ, काठमाडौं । सरकारले केन्द्र मातहतमा रहेका सबै अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने घोषणा गरेको छ । तर, विज्ञहरू भने हतारमा ल्याइएको यो महत्वाकांक्षी योजना भएको प्रतिक्रिया दिन्छन् । गत सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै केन्द्रीय अस्पतालबाट मिर्गौला प्रत्यारोपणको सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
प्रत्यारोपणका लागि अस्पतालमा शल्यचिकित्सक र फिजिसियन पूर्णकालीन हुनुपर्छ । अस्पतालमा दुईवटा अप्रेसन थिएटर, त्यसलाई चाहिने एनेस्थेसियाको इक्वीपमेन्ट, भेन्टिलेटर, मनिटर, रक्त परीक्षण २४ घण्टै उपलब्ध हुनुपर्ने जस्ता उपकरण आवश्यक पर्छन् । त्यसैगरी, युरोलोजिस्ट, नेफ्रोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट, मुटुरोग विशेषज्ञ, क्रिटिकल केयर, तालिम प्राप्त नर्स, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट जनशक्ति अनिवार्य चाहिन्छ ।
प्रत्यारोपणका लागि स्वास्थ्य संस्थासँगै चिकित्सकको लाइसेन्स पनि अनिवार्य हुनुपर्छ । जबकि, नेपालमा मिर्गौला प्रत्यारोपण सर्जन १२ जना मात्रै छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११ र बाहिर एक जना छन् । यस्तै, लाइसेन्स प्राप्त मिर्गौला रोग विशेषज्ञ २१ जना मात्रै छन् ।
मिर्गौला प्रत्यारोपण जटिल प्रकारको विज्ञता हो । प्रत्यारोपणका लागि ‘डेडिकेट टिम’ नै अस्पतालमा पूर्णकालीन हुनुपर्छ । तर, केन्द्रीय अस्पतालमा यी जनशक्तिको दरबन्दी भएतापनि खाली छ । अझ भनौं, नेपालमा मिर्गौला प्रत्यारोपण सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति न्यून संख्यामा छन् ।
वीर अस्पतालका युरोलोजी विभागका प्रमुख प्रा.डा. रविनबहादुर बस्नेत भन्छन्, ‘दक्ष जनशक्तिको विषयलाई ख्याल नगरी सरकारले धेरै नै महत्वाकांक्षी कार्यक्रम घोषणा ग¥यो ।’
हाल सरकारी तवरबाट नियमित रूपमा शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ले मात्रै मिर्गौला प्रत्यारोपण गर्दै आएका छन् ।

प्रत्यारोपण सेवा सञ्चालनका लागि अस्पतालमा आधारभूत युरोलोजी तथा डायलासिस सेवा चाहिन्छ । तर, सबै प्रादेशिक अस्पतालमा यी सेवा उपलब्ध छैनन् । ‘साधारण सेवा नै उपलब्ध नभएको अवस्थामा प्रत्यारोपण गर्न सम्भव हुँदैन’ डा. बस्नेत भन्छन्, ‘प्रत्यारोपण घोषणा गर्नुको सट्टा सबै प्रादेशिक अस्पतालमा युरोलोजी तथा नेफ्रोलोजी सेवा र जनशक्तिको व्यवस्था गर्नतर्फ ध्यान जानुप¥यो ।’
डा.बस्नेतले भनेझैं सरकारी तथ्यांक हेर्ने र केन्द्र मातहतका स्वास्थ्य संस्थाको तथ्यांक केलाउने हो भने ७० प्रतिशतभन्दा बढी विशेषज्ञ दरबन्दी खाली छन् । २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको डडेल्धुरा अस्पतालमा एक जना पनि पदपूर्ति हुनसकेको छैन । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि तीन जना मात्रै कार्यरत छन् ।
यस्तै, भरतपुर अस्पताल, चितवनमा ७ जना (४७ जनामध्ये) विशेषज्ञ चिकित्सकको दरबन्दी खाली छ । भेरी अस्पताल नेपालगञ्जमा ४४ जनाको विशेषज्ञ दरबन्दी छ तर १९ जना मात्रै चिकित्सक कार्यरत छन् ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाह सरकारले चर्चा कमाउन मात्रै हतारमा कार्यक्रम ल्याएको जिकिर गर्छिन् । ‘नेपालमा प्रत्यारोपण गर्ने सक्षम जनशक्ति न्यून छ । काठमाडौंका केही अस्पताललाई जनशक्तिको धौ–धौ परेको अवस्थामा प्रादेशिक अस्पतालमा अहिले नै प्रत्यारोपण नियमित गर्न सम्भव छैन’ डा. शाहले अनलाइनखबरसँग भनिन्, ‘अप्रेसन गर्नु मात्रै ठूलो कुरा होइन । त्यसलाई सफलतासँग पनि जोडेर हेर्नुपर्छ ।’

लामो समय अनुभव भएका युरोलोजिस्ट, नेफ्रोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट एक वर्षसम्म बसेर प्रादेशिक अस्पतालका जनशक्तिलाई तालिम दिएपछि प्रत्यारोपण सेवा सञ्चालन केही सहज हुने उनको भनाइ छ । ‘सरकारले अहिले प्रादेशिक अस्पतालमा युरोलोजीको सेवा विस्तारसँगै जनशक्तिलाई तालिम दिनेतर्फ ध्यान दिनुपर्थ्यो तर वास्तविकतालाई बेवास्ता गरेर प्रत्यारोपण सेवा सुरु गर्ने निर्णय गर्नुको कुनै औचित्य छैन’, डा. शाह भन्छिन् ।
हाल केन्द्र मातहतमा काठमाडौं बाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा), नारायणी अस्पताल (वीरगञ्ज), भरतपुर अस्पताल (चितवन), भेरी अस्पताल (नेपालगञ्ज), कोशी अस्पताल (विराटनगर), डडेलधुरा अस्पताल (डडेलधुरा) र गजेन्द्रनारायण सिंह अस्पताल (राजविराज) छन् ।
‘प्रत्यारोपण संख्यामा होइन, सफलतासँग मापन गर्नुपर्छ’
विज्ञका अनुसार अप्रेसन सफल भए मात्रै मिर्गौला प्रत्यारोपण सफल भएको भन्न मिल्दैन । जब, बिरामी मिर्गौला प्रत्यारोपण गरेपछि एक वर्ष, पाँच वर्ष वा दश वर्षसम्म बाँच्ने दर कस्तो छ भनेर हेर्नुपर्छ ।
‘हामीले यस्तो प्रत्यारोपण सेवा दिनुपर्छ । एक वर्षसम्म १०० प्रत्यारोपण गरेका बिरामीमध्ये कम्तीमा पनि ९० जनाको अंगले काम गरेको अवस्थामा मात्रै औचित्य रहन्छ’ डा. शाह भन्छिन्, ‘तर, त्यो सफलता पाउन फलोअपमा हेर्ने चिकित्सक पनि अनिवार्य अस्पतालमा हुनुपर्छ ।’
कम्तीमा जीवनको दुई दशक त्यही क्षेत्रमा लगानी गरेपछि मात्रै दक्ष मिर्गौला सर्जन वा विशेषज्ञ बन्छन् । डा. शाहका अनुसार प्रादेशिक अस्पतालमा वर्षको ५–७ वटा प्रत्यारोपण गर्दैमा गुणस्तरीय सेवा र दक्ष विशेषज्ञ उत्पादन गर्ने अवस्था रहँदैन ।

‘अस्पतालमा सबै विभाग मजबुत भएको अवस्थामा उपचारका क्रममा केही समस्या देखिएमा पनि त्यसको तत्काल समाधान गर्न सहज हुन्छ । सबै विशेषज्ञ भएको अस्पतालमा बिरामीको उपचार र त्यसको नतिजा राम्रो हुन्छ । अहिलेको अवस्थामा केन्द्रीय मातहतमा रहेका धेरै अस्पताल प्रत्यारोपण गर्न सक्ने अवस्थामा पुगेका छैनन्’, डा.शाहले थपिन् ।
विज्ञका अनुसार प्रत्यारोपणको सफलता पाउन र विशेषज्ञ उत्पादन गर्न एक स्वास्थ्य संस्थाले वर्षमा कम्तीमा पनि २५ प्रत्यारोपण गरेको हुनुपर्छ ।
‘उपत्यका बाहिर प्रत्यारोपणका लागि केन्द्रबाट बिरामी र जनशक्ति जान्छन्’
पछिल्लो समय काठमाडौं बाहिर सरकारी मातहतमा रहेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ । तर, ती अस्पतालले आफ्नै जनशक्तिले प्रत्यारोपण भने गरेका होइनन् ।
अस्पतालमा प्रत्यारोपण सेवा सुरु गर्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा शल्यक्रिया गर्ने टोली गएको थियो । त्यसको साथै केन्द्रबाट नै बिरामी पनि लगिएको थियो ।
तर, केन्द्रबाट नै शल्यक्रिया गर्ने टोली र बिरामी लगेर शल्यक्रिया गर्नुले कुनै सफलता हासिल नगर्ने मिर्गौला प्रत्यारोपण सर्जन बताउँछन् । ‘अस्पतालकै चिकित्सक र जनशक्तिलाई तालिम दिएर त्यहीको स्रोत–साधनले स्थानीय मानिसलाई प्रत्यारोपण गराउन सक्नुपर्थ्यो,’ ती चिकित्सक भन्छन्, ‘तर जनतालाई भ्रममा पार्ने काम मात्रै भयो । जसले गर्दा न त्यहाँका जनशक्तिले तालिम पाए न स्थानीय नागरिकले सेवा नै पाए ।’
चिकित्सकहरूका अनुसार प्रत्यारोपणपछि मानिस कति बाँच्ने भन्ने कुरा उसको उमेर, औषधि, खानपान, नियमित परीक्षण र प्रत्यारोपणमा भर पर्ने हुन्छ । ‘अस्पतालकै विशेषज्ञले प्रत्यारोपण गर्न सक्ने बनाउनुपर्छ । काठमाडौंका विशेषज्ञले गएर एक–दुई वटा प्रत्यारोपण गर्नुको कुनै अर्थ हुँदैन’ डा. शाह भन्छिन्, ‘प्रत्यारोपणपछि लामो जीवनका लागि नियमित स्वास्थ्य परीक्षण आवश्यक पर्छ । स–सानो समस्याले मिर्गौला फेल हुनुका साथै बिरामीको ज्यान जान्छ ।’

अहिले काठमाडौं बाहिरका फलोअप गर्ने विशेषज्ञ चिकित्सक अभाव हुँदा प्रत्यारोपण गरेका मिर्गौला बिरामीका लागि झन् सास्ती हुने विशेषज्ञ बताउँछन् । उनीहरूका अनुसार प्रत्यारोपणको लागि दक्ष जनशक्ति र आवश्यक उपकरण नहुँदा प्रत्यारोपण गर्न एक वर्षसम्म कुनुपर्ने बाध्यता छ । ‘प्रत्यारोपण गर्नुपर्ने बिरामी धेरै छन् तर, त्यो अनुसार आवश्यक उपकरण र जनशक्ति नहुँदा प्रत्यारोपणले गति लिनसकेको छैन’, डा. बस्नेत भन्छन् ।
मिर्गौला बिरामीका लागि सबभन्दा राम्रो विकल्प प्रत्यारोपण हो, जुन सहज र सुलभ छैन । प्रत्यारोपण नभइञ्जेल डायलासिस गरेर बाँच्नुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा सरकारी र निजी अस्पतालमा गरी हालसम्म २ हजार २०० हाराहारीमा प्रत्यारोपण भएको छ ।
विज्ञका अनुसार, नेपालमा वार्षिक तीन हजार मिर्गौला बिरामी थपिन्छन् । हाल ३५ हजार हाराहारी मिर्गौला रोगी रहेको सरकारी अनुमान छ । जसमध्ये सात हजारले डायलासिसको भरमा जीवन लम्ब्याइरहेका छन् । पछिल्ला वर्षको तथ्यांक अनुसार नेपालमा वार्षिक ३५० को हाराहारीमा प्रत्यारोपण हुने गरेको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4