+
+

दाङका स्थानीय तहले बनाए आफ्नै पाठ्यक्रम

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० जेठ २२ गते १८:०३

२२ जेठ, दाङ। जिल्लाका ६ स्थानीय तहले स्थानीय विषयवस्तु समेटर पाठ्यक्रम तयार गरेका छन्। बाँकी चार वटा स्थानीय तह पनि पाठ्यक्रमको तयारीमा जुटेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई स्थानीय भाषा, भूगोल, संस्कृति लगायतका विषय समेटेर पाठ्यक्रम तयार गर्न पाउने व्यवस्था गरेको छ ।

घोराही उपमहानगरपालिकाले चालू शैक्षिक सत्रदेखि १ देखि ८ कक्षासम्म ‘हाम्रो घोराही’ विषयमा स्थानीय पाठ्यक्रम तयार गरेर पठन पाठन सुरु गरेको छ।

‘पाठ्यक्रममा घोराहीको भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्यता, तालतलैया, मठमन्दिरहरु राखेका छौं’, नगर शिक्षा अधिकृत नारायणप्रसाद पौडेलले भने, ‘स्थानीय स्रोत साधन र स्थानीय परिवेश सुहाउँदो विषयवस्तु समेटेर पाठ्यक्रम तयार गरेका हौं।’

तुलसीपुर उपमहानगरपालिकाले गत वर्षदेखि ६७ सामुदायिक विद्यालयमा ‘हाम्रो तुलसीपुर’ नामक पाठ्यक्रमको कक्षा १ देखि ८ सम्म पठनपाठन सुरु गरेको छ। ‘स्थानीय विषयहरु समेटेर पाठ्यक्रम तयार गरेर अध्यापन भइरहेको छ’ तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्काले भने, ‘अब पुस्तक छापेर विद्यार्थीलाई बाड्ने तयारीमा छौं।’

उनले केन्द्रीय पाठ्यक्रमले नसमेटेका विषयसँगै कृषि, रैथाने तरकारी खेती, वनस्पतिजन्य वस्तुहरू, जीवन उपयोगी शिक्षा, धार्मिक ऐतिहासिक, सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटकीय स्थल जस्ता विषयहरु पाठ्यक्रममा समावेश गरिएको बताए।

राजपुर गाउँपलिकाले ‘हाम्रो राजपुर’ नामक पाठ्यक्रम तयार गरेर कक्षा १ देखि ८ कक्षासम्म पठनपाठन गराइरहेको छ। राजपुरमा ३२ वटा सामुदायिक र ५ वटा निजी गरी ३७ वटा विद्यालयमा स्थानीय पाठ्यक्रमको पठनपाठन भइरहेको छ।

राप्ती, शान्तिनगर र बगलाचुली गाउँपालिकाले पनि स्थानीय पाठ्क्रम गत वर्षदेखि नै पाठ्यक्रम लागू गरिसकेका छन्। लमही नगरपालिका, दंगीशरण, गढवा र बबई गाउँपालिकाले भने स्थानीय पाठक्रम निर्माणको तयारीमा छन्। त्यसका लागि कार्यपालिकामा छलफल समेत भएको जनप्रतिनिधिहरुले बताएका छन्।

गढवा गाउँपालिकाले पनि स्थानीय भूगोल, सम्पदा, धर्म, कला, संस्कृति लगायतका समग्र अवस्थालाई समेटेर पाठ्क्रम निर्माणको अन्तिम चरणमा रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख श्यामबहादुर विक बताउँछन्। ‘स्थानीय पाठ्यक्रम निर्माणको अन्तिम चरणमा छौ, सम्भवतः यही वर्षदेखि लागु गर्ने तयारीमा छौं’ उनले भने ।

बजेट अभावमा पुस्तक छपाइमा ढिलाइ

स्थानीय तहले पाठ्यक्रम लागु गरेपनि पुस्तक भने विद्यार्थीको हातमा पुगेको छैन। पालिकाहरुले तयार गरेका पाठ्यक्रमको छपाइ नगर्दा विद्यार्थीले पुस्तक नपाएका हुन्। पाठ्यक्रम लागु गरेको जिल्लाका कुनै पनि स्थानीय तहले हालसम्म पाठ्यपुस्तक छपाइ गरेका छैनन्। विद्यालयलाई पाठ्यक्रमको ई-कपी उपलब्ध गराएर अध्यापन भइरहेको पालिकाका अधिकारीहरु बताउँछन् ।

घोराही र तुलसीपुर उपमहानगरले पाठ्यक्रम लागु गरेपनि बजेट अभावमा पुस्तक छपाइ हुन नसकेको बताउँछन्।’पालिकामा बजेट अपुग हुँदा यो वर्ष पुस्तक छाप्न सकेनौं’, तुलसीपुरका नगर शिक्षा अधिकृत मनबहादुर खड्का भन्छन्, ‘बजेटको स्रोत सुनिश्चिता भए पाठ्य पुस्तक छपाइको काम अघि बढाउँछौं ।’ यद्यपि उनले पुस्तक नै आवश्यक पर्छ भन्ने नभएको बताएका छन् ।

स्थानीय पाठ्यक्रमले प्रयोगात्मक र व्यवहारिक शिक्षालाई जोड दिएकाले पुस्तक अनिवार्य नभएको उनी सुनाउँछन्। स्थानीय पाठ्यक्रममा समुदाय केन्द्रित शिक्षण सिकाइमा जोड दिएकाले ई-कपी मार्फत पनि पठनपाठन गर्न सकिने उनको बुझाइ छ ।

राजपुर गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रम तत्काल छपाइ नगर्ने बताउँछ । ‘यो पाठ्यक्रम खेल्दै सिक्दै गर्ने व्यवहारिक शिक्षामा बढी केन्द्रित छ’, गाउँपालिका शिक्षा अधिकृत केशव लम्सालले भने, ‘अहिले हामी परीक्षण चरणमा भएकाले तत्काल पुस्तक नछापेर हेरौं भन्ने छ।’ उनले पनि शिक्षकहरुलाई ई-कपी उपलब्ध गराएर पठनपठान गराइरहेको बताए।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?