+
+

‘लू’कसरी लाग्छ ? कसरी बच्ने ?

'लू'को असर अल्पकालीनसँगै दीर्घकालीन पनि हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते ११:२९

२३ जेठ, काठमाडौं । पछिल्ला दिनमा गर्मी बढ्दै गइरहेको छ । चर्किंदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या बढ्दै गएको छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर चिनिन्छ ।

गर्मी र ‘लू’ बाट बच्न निकै सतर्कता अपनाउनुपर्छ । सामान्य लापरबाही गर्दा ‘लू’ का कारण मानिसको मृत्यु समेत हुन्छ । नेपालमा ‘लू’ को असरले प्रति लाखमा दुई जनाको मृत्यु हुने गरेको छ ।

गर्मी मौसममा विशेषगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा वहन थाल्छ । पछिल्ला दिनमा तराईका जिल्लामा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । तातो हावा र ‘लू’ लाग्न थालेपछि तराई मधेशका विद्यालय बन्द गरिएको छ ।

गर्मी र ‘लू’ का कारण विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई असर पुर्‍याउने चिकित्सक बताउँछन् । ‘लू’ लाग्ने कारण, लक्षण र बच्ने उपायका विषयमा त्रिभुवन शिक्षण अस्पतालका वरिष्ठ जनरल फिजिसियन तथा छाती रोग विशेषज्ञ डा. निरज बमसँग गरेको कुराकानीको सम्पादित अंश :

‘लू’ कसरी लाग्छ ?

अत्यधिक गर्मीका कारण शरीरबाट धेरै पसिना बग्दछ । जसको कारण शरीरमा नुन र पानीको मात्रामा कमी हुन्छ । शरीरको रगतमा तापमान वृद्धि भएसँगै रक्तसञ्चार प्रक्रिया बढ्छ र शरीरभित्रको पानी पसिनाको माध्यमबाट बाहिर निस्किन्छ ।

‘लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको मात्रा कमी हुनु हो । अत्यधिक टाउको दुख्ने, वान्ता हुने, भोक नलाग्ने, बारम्बार प्यास लागिरहने, शरीरका मांसपेशी तथा हड्डी दुख्ने, नाडीको गति बढ्नु, रगतको गति पनि तीव्र बढ्ने हुन्छ ।

बिरामीमा छट्पटी र उदासीनताको भाव देखिने, अनुहार रातो हुने, बिरामीको शरीरको तापक्रम १०१ देखि १०४ डिग्री सेल्सियससम्म हुने, हातको हत्केला र खुट्टाको पैताला पोल्ने, श्वासप्रश्वासको प्रक्रिया बढ्दै जाने, कहिलेकाहीं बिरामी अचानक बेहोश भएसँगै केही मानिसको मृत्यु पनि हुन्छ ।

‘लू’ को कारण अल्पकालीन सँगै दीर्घकालीन असर समेत गर्छ । उच्च रक्तचाप, पक्षघात, श्वासनली सुक्खा हुने, घाँटी खसखस हुने, छालाको रंग गाढा र खुम्चिंदै जाने हुन्छ ।

‘लू’ लागेमा के गर्ने ?

जो-कोहीलाई पनि ‘लू’ लागेको थाहा पाउनासाथ तत्काल नै अस्पताल लैजानुपर्छ । तत्काल नै अस्पताल पुर्‍याउन सकिएन भने पनि प्राथमिक उपचार दिनुपर्छ । बेहोश भएको व्यक्तिलाई तत्काल चिसो ठाउँ तथा छहारीमा राख्नुपर्छ । यस्तो बेलामा मानिसको हातको नाडी छिटो वा मन्द गतिमा चलेको वा शरीर पहेंलो भएको हुन्छ । जसको कारण मस्तिष्कमा रगत पुग्न नसकेर मानिस बेहोश हुन्छन् ।

यस्तो बेलामा बिरामीको कपडा खोलिदिएर केही समय खुट्टा माथि र टाउकोको भागलाई तल पार्नुपर्छ । जसले मस्तिष्कसम्म रगत पुर्‍याउन मद्दत गर्छ ।

त्यसको साथ-साथै बिरामीको होश आएको अवस्थामा चिसो पानी, कागती र सर्बत पानी समय-समयमा पिइरहनुपर्छ ।

चिसो पानीमा कपडा भिजाएर बिरामीको निधार, हात, खुट्टामा राख्नुपर्छ, साथ-साथै बिरामीको शरीर कपडाले पुछ्ने गर्नुपर्छ । मौसमी फलफूल जस्तै सुन्तला, अंगुर, खर्बुजा र मौसमको रस बिरामीलाई पिउन दिनुपर्छ । ‘लू’ का बिरामीलाई तरल पदार्थ नै पिउन दिनुपर्छ ।

बिरामीको प्रेसर, नाडीको गतिमा पनि कमि परिवर्तन नभए वा बोल्न गाह्रो भएमा, खुट्टा टेक्नै नसक्ने भएमा अनिवार्य रूपमा नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्छ । यस्तो बेलामा मानिसको शरीरमा नुन र पानीको मात्रा कम हुने हुँदा स्लाइन पानी चलाइन्छ ।

के खाने, के नखाने ?

‘लू’ बाट बच्नका लागि प्रशस्त मात्रामा चिसो पानी पिउनुपर्छ । त्यसको साथ-साथै बढी झोलपदार्थ भएको खानेकुरा खानुपर्छ । त्यसैगरी, आँप, कागतीको सर्बत, सागपातको सेवन गर्नुपर्छ । बेल, आँप तथा कागतीको सर्बतले शरीरमा पानीको मात्रालाई कायम गरिराख्छ ।

गर्मीको समयमा तारेका तथा चिल्लो-पिरो खानेकुरा खानुहुँदैन । प्रायः हल्का खाना खानुपर्छ । यो समयमा रक्सी सेवन गर्नै हुँदैन । रक्सी सेवन गर्ने व्यक्तिमा जलवियोजन भइरहेको हुन्छ । त्यसको साथ-साथै घाममा हिंड्दा थप शरीरबाट पसिना जाँदा त्यसले शरीरका तन्तु समेत सुन्निंदै जान्छन् । मदिरापान गर्ने मानिसलाई ‘लू’ लागेमा आईसीयू वा भेन्टिलेटरमा समेत राखेर उपचार गर्नुपर्छ । गर्मी छ भनेर चिसो बियर खाने व्यक्ति त तत्काल बेहोसै हुनसक्छन् ।

‘लू’ बाट बच्ने उपाय र ध्यान दिनुपर्ने कुरा !

घाममा धेरै ननिस्कनु नै उत्तम उपाय हो । बिहान १० देखि ३ बजेसम्म मानिसलाई बढी असर गर्छ । यदि निस्कनै पर्ने छ भने पर्याप्त मात्रामा पानी पिएर निस्किनुपर्छ । छाता ओढेर र शरीरमा पूरै सुतीको कपडा लगाएर मात्र निस्किनुपर्छ ।

यस्तै गरी धेरै पसिना आएमा जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडा जस्ता पेयपदार्थ पिउनुहुँदैन ।

गर्मी मौसममा दीर्घरोग वा ज्येष्ठ नागरिकलाई विशेष ख्याल पुर्‍याउनुपर्छ । त्यसैले पनि हरेक सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्छ ।

यस्तो बेलामा एसी वा पंखामा बस्नुभएको छ भने एकैपटक अत्यधिक घाममा निस्किनुहुँदैन । एसीमा रहँदा रक्तनलीहरू संकुचित भइरहेकाले चर्को घाममा अचानक जाँदा शरीरको तापमानमा परिवर्तन हुन्छ । जसले गर्दा रक्तनली फैलिने र ब्लड प्रेसर हृवात्तै बढ्छ । यस्तो अवस्थामा केही समयका लागि कुनै शीतल ठाउँमा बसेर शरीरको तापमानलाई सामान्य बनाउनुपर्छ ।

गर्मी मौसममा काँक्रोको सेवन गर्नुपर्छ । जसबाट शीतलता प्राप्त गर्न सकिन्छ । कसेसम्म घाममा खाली पेट निस्कनुहुँदैन । धेरैभन्दा धेरै पानी पिउनुपर्छ । खाना खाँदा पनि सकेसम्म प्याज, सलाद बढी खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?