+
+

बुढेसकालको लौरो

छोराछोरी दुवैले बाबा-मामुको मन पढ्न सकेनन् । व्यथा बुझेनन् । हामी छोराछोरीको व्यवहारले मर्माहत भयौं । तर पीर कस्तो भने कसैलाई भन्न र बाँड्न पनि नसकिने ।

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०८० जेठ २४ गते ८:५८

हाम्रो अन्तरमनमा नरमाइलो लागेको त धेरै नै दिन भइसकेको थियो । ‘भोलिको सूर्योदय नहोस् प्रभु !’ हामी बुढाबुढीले रातभर जाग्राम बसेर प्रार्थना गर्‍यौं । तर, त्यो हाम्रो वशमा थिएन । समयमा नै सूर्योदय भयो ।

छोरो पनि केही दिनदेखि निन्याउरो देखिन्थ्यो ।

साथीहरू सबैका छोराछोरी हुर्किसके, आफ्ना भने साना भन्ट्याङभुन्टुङ नै छन्, अझै । ‘छोराछोरी बुढेसकालका लौरी हुन्’ भन्छन् । हामी बुढो हुँदा त यी नाबालकै हुन्छन् कि क्या हो ?

छोरालाई लिटो खुवाउँदै श्रीमतीले भनेको हिजो जस्तो लाग्छ ।

छोरो अमेरिका जाने दिन पनि आयो । पासपोर्ट र भिसा भन्दै दिनहरू कटेर गए । छोरो अमेरिका जाने भनेर हामी पेटभरि खुशी हुन र दुःखी हुन पनि सकेनौं ।

सबै वैदिक विधि पुर्‍याएर हामीले छोरालाई बिदाइ गर्‍यौं । मनले मानेन, छोरालाई एयरपोर्टसम्म पुर्‍याउन गयौं । साइतको लागि हामीले लगाइदिएको रातो टीका उसको निधारमा टलक्क टल्केको थियो । आँखा रसिला बनाएर छोराले बिदा माग्दा हामी बुढाबुढी किन हो किन असाध्यै पाक्कियौं । मैले त आँसु रोक्न नै सकिनँ, बरबर्ती खसे । बुढी सम्हालिंदै थिइन् वा मनलाई कठोर बनाएकी थिइन्, कुन्नि ! म जस्तो भल्भल्ती रोएकी भने थिइनन् ।

‘बाबा, हजुर के हुनुभएको ? मामु रुनुभएको छैन’ छोराले मेरो आँखाको डिलको आँसु पुछिदिंदै सम्झायो, ‘पढेर फर्किहाल्छु नि !’

‘बिदाइको आँसु हो छोरा, तिमी राम्रोसँग जाऊ । फोन गर्दै गर’ मैले सकी-नसकी रुञ्चेस्वरमा छोराको शिरमा हात राख्दै भनें ।

मामु ! छोराले मामुलाई अंकमाल गर्‍यो । श्रीमतीले मौनतामा नै छोराको शिरमा हात राखिन् ।

‘पीर नमानिकन बस्नुहोला । म बेला-बेलामा फोन गर्छु’ छोराको गहभरि आँसु डबडबाए ।

छोरो हामीलाई ढोगेर देब्रे हातको फेरोले आँसु पुछ्दै टर्मिनल भित्र पस्यो ।

हामीले हाम्रा गह्रुँगा हातहरू उठाएर बिदाइका लागि विस्तारै हल्लायौं । र आँखा तानी-तानी ऊ गएको देखुन्जेलसम्म हेरिरहृयौं । नदेखिएपछि देखिन्छ कि भनेर पनि हेरिरहृयौं ।

छोरो टर्मिनल भित्र पसे पनि उसकोे जहाज नउडेसम्म हामीलाई घर फर्किन मन लागेन ।

केही खान मन पनि भएन, भोक पनि थिएन । गगनभेदी आवाज निकाल्दै प्लेन एकपछि अर्को उडिरहेका थिए । बत्तीको उज्यालोमा एयरपोर्ट झलमल्ल बनेको थियो । एयरपोर्टको एउटा छेउमा बसेर हामी बुढाबुढी प्लेन उड्ने समय पर्खेर बसिरहृयौं ।

छोरी अष्ट्रेलिया जाँदा छोरो साथमा थियो । म त्यति धेरै भावुक बनेको थिइनँ । छोरी गएको पनि सात वर्ष पुगिसक्यो, काम गर्दै पढ्दै गर्दा त पढेर कहिल्यै सकिंदोरहेनछ । बस्दा बस्दै गाडी किन्न मन लाग्ने रहेछ । ऋणमा गाडी किनेपछि खान-लगाउन, कलेज भर्नाको अतिरिक्त गाडीको किस्ता तिर्नुपर्ने दायित्व थपिंदोरहेछ, छोराछोरीहरूमा । त्यसपछि पैसाको लागि काम, काम भन्दाभन्दै पढाइ त छाडिंदोरहेछ, कता हो कता । गोरेको सेवामा निर्लिप्त हाम्रा छोराछोरी वर्षौं काम गर्दा पनि बाउआमालाई भेट्न घरसम्म आउने पैसा र समयको जोहो गर्न सक्दा रहेनछन्, विचरा !

मैले जापान, अमेरिका, अष्टे्रलियामा बसेर काम गर्दै पढ्नेहरू भेट्दा बुझेको गुहृय कुरा यही थियो । सम्झेर मन तर्सियो ।

अब हाम्रो पर्खाइको अर्को शृङ्खला सुरु भयो । म टोलाई नै रहेको थिएँ ।

‘हजुरले यति धेरै पीर मान्नुहोला जस्तो मानेको थिइनँ, मैले’ श्रीमतीले मेरो टाउको मुसार्दै सोधिन् ।

मन पाक्किएर आयो । म बुढीको काखमा घोप्टिएँ ।

छोरी अष्ट्रेलिया जाँदा छोरी फर्किन्छिन् भन्ने लाग्थ्यो, मलाई । छोरीको बाध्यता र हाम्रो रहरको आजसम्म भेट हुन सकेन, बुढी । त्यसैले म भावुक बनेको हुँ । छोरो पनि जान्छ र त्यही भासमा खस्छ । छोराछोरी जन्मँदाको खुसी साँझ त एकपटक ।

दुवै बुढाबुढी मिली-मिली तेल घसेको, ट्वाइलेट पेपर भिजाई-भिजाई आची पुछेको, फकाई-फकाई दूध खुवाएको । पिलो आएर छोरी रुँदा आफैं रोएको । कहिले काँधमा कहिले बुई बोकेर हिंडेको । आफ्ना सबै सपना र इच्छालाई एकातिर पन्छाएर रगत-पसिना खर्चेर हुर्कायौं, बढायौं, पढायौं । अहिले न छोराछोरी आफूलाई हुने भए न त देशलाई नै । यो कस्तो वातावरण बन्यो-बन्यो, हाम्रो समाजमा ? छोराछोरी हुर्कने अनि उड्ने, चराहरूको जस्तै । अनि बाबुआमा त्यसैमा रमाउनुपर्ने बाध्यता । मैले आफैंलाई सम्झाउन सकिरहेको थिइनँ ।

‘बाबा ! मैले पनि सकेर हो र ? छोराले पीर मान्ला भनेर मात्रै दबाएर राखेकी थिएँ, सबै पीडा’, मेरो कुरा सुनेपछि श्रीमती भक्कानिंदै मेरो काखमा घोप्टो परिन् ।

हामी बुढाबुढी धेरै बेर एयरपोर्टमा नै बस्यौं । एकअर्काको काखमा भक्कानिंदै ।

‘बाबामामु ! मेरो इमिग्रेसन, सेक्युरिटी चेक, बोर्डिङ भइसक्यो । अब एकैछिनमा प्लेन उड्छ’ छोराले फोन गर्‍यो । ‘राम्ररी जाऊ, पुगेपछि फोन गर है, बाबु’ हामी दुवैले रुञ्चेस्वरमा आशीर्वाद दियौं ।

‘हस् बाबा, हस् मामु’ छोराको स्वर पनि भासिएको थियो ।

हाम्रा भावनाहरू छोराछोरीको सम्झनामा रमाउँदै चलायमान भइरहे । छोरो अमेरिका गएको पनि पाँच वर्ष पुगेछ । पैसा पठाउनुपर्दैन । फोन गरिराखे हुन्छ । हामीले भनेका थियौं । तर छोराछोरी कहिलेकाहीं मात्र फोन गर्दथे । हामी अत्तालिन्थ्यौं । हामी नै गर्दथ्यौं फोन, धेरै पटक

रातको एक बज्दै थियो । आकाशलाई झंकृत गर्दै जहाज दक्षिणबाट उड्यो र काठमाडौंलाई एक फन्को लगाएर पश्चिम हान्नियो । जहाजको प्लिक् प्लिक् रातो बत्ती देखुञ्जेल हामीले आकाशमा आँखा तानी-तानी हेरिरहृयौं । जहाज पूर्ण रूपमा अलप भएपछि मात्रै हामीले हेर्न छोड्यौं । र, ट्याक्सी खोजेर घर फर्कियौं ।

घर पुग्दा झल्याँस्स भयौं, हाम्रो मुटु पो छुटेको रहेछ, एयरपोर्टमा । शून्य घर, शून्य मन, जताततै शून्यै शून्य । सुनसानको राज । सर्वत्र अँध्यारो, दुईसय वाटको बल्बले पनि हाम्रो मनको अँध्यारो फाल्न सकिरहेको थिएन । यसो र उसो गर्दा गर्दै रातै सकियो । हाम्रो निद्रा पनि छोरासँगै विदेशिए झैं भयो ।

झलमल्ल बिहान भयो । हृदय अँध्यारै थियो । छोराछोरीविहीन रित्तो घर । हामी बुढाबुढी ओछ्यानमा नै पल्टिरहृयौं, तागत रित्तिएको मान्छे झैं । मर्निङवाक्मा जान पनि मन लागेन । भित्तामा छोराले किनिदिएको लौरो मलाई हेरेर भनिरहेको थियो, ‘मर्निङवाक् त छोड्नुहुँदैन नि, बाबा !’

‘बाबा ! मर्निङवाक्मा जाँदा यो लट्ठी टेक्नुहोला । यसमा चारवटा खुट्टा छन् । हत्तपत्त चिप्लिंदैन’, छोराले हिजो सम्झाएको थियो ।

म लट्ठीको भरमा हिंड्ने गरेको त थिइनँ । छोराले भविष्यको चाँजोपाँजो मिलाएको थियो होला । स्वास्थ्य नै धन हो, भन्छन् । छोराछोरी विदेशिए पनि बलियो त भैरहनु पर्‍यो नि ! रानीवनलाई एकदुई फन्को लगाएर आउने विचारले म मन लागी-नलागी बाहिर निस्कें ।

‘तपाईंलाई बधाई छ है, सर । छोरा पनि अमेरिका गएछ । छोराछोरी दुवै विदेश गए । तपाईंहरू त कस्तो भाग्यमानी मान्छे ।’

छिमेकीहरूको बधाईको ओइरो लाग्यो । मलाई भने जिस्क्याएको जस्तो भान भइरहेको थियो ।

‘धन्यवाद हजुरहरूलाई’ म औपचारिकता निभाउँदै अगाडि बढें । खोइ को भाग्यमानी हो ? पाक्किएको मन कसैले देख्दैन । मनमा कुराहरू खेलाउँदै रानीवारीको जंगल एकचक्कर लगाएर फर्कें ।

‘हजुरले पकाउने भए पकाउनुहोला, मलाई त भात पकाउन मनै लागेन । जाँगरै छैन । हजुर निस्केपछि त शून्यले निल्ला जस्तो गर्‍यो’, श्रीमती गहभरी आँसु लिएर झोक्राएकी थिइन् ।
उनलेे साह्रै धेरै पीर माने जस्तो लाग्यो ।

‘बुढी ! पीर नमान् । तिम्रो भरोसा म, मेरो भरोसा तिमी, हामी त छौं नि साथै । आखिर हामी बुढाबुढी त हौं, एकअर्काको भर । सातफेरो लगाउँदा हामी एकअर्काले गरेको बाचा’, मैले सम्झाउने कोसिस गरें ।

‘हुन त हो, तर मुटुका टुक्रा छोराछोरीलाई कहाँ बिर्सन सकिन्छ र, बाबा ?’ बुढीको छातीमा व्यथा उम्लिरहेको थियो ।

‘खान त मलाई पनि मन छैन । थोरै पकाउँला नि त, म । तिमी आराम गर’, म उठेर खाना पकाउन भान्छातिर लागें ।

‘छोराछोरी त पाहुना झैं आए, पाहुना झैं गए’ रुञ्चेस्वरमा बुढीले मनको वह पोखिन् ।

पाहुना त भए नि ! उनीहरू आएको रमाइलो सपना झैं भयो । गएको अन्त्यहीन विलौना । मैले पनि थपें ।

दुई छोराछोरी दुवै विदेशिए । छोराछोरी समेतका लागि भनेर बनाएको घर, भान्छा, बैठक उनीहरू विदेशिएपछि त डङरङ्ग ठूला भए । के गर्नु के नगर्नु ? हिजोअस्ति कोठा नपुगेर बिजोग । अहिले जता गयो उतै खाली खाली कोठाहरू ।

छोराछोरी जान त पढ्न भनेर गएका हुन् नि ! तर छोरी पढी सिध्याएर पनि नफर्केको कारण हाम्रो मन अत्यन्तै कमजोर भएको थियो ।

हाम्रा हरेक कुराकानीको आरम्भ छोराछोरीबाट हुन्छ । हामी दुवै गफ गर्दागर्दै छोराछोरी सम्झन्छौं र सम्झेपछि पिलपिलाउन थाल्दथ्यौं । भक्कानिन्थ्यौं र एकअर्कालाई सम्झाउँथ्यौं । रुने र सम्झाउने हाम्रो दिनचर्या बनेको थियो ।

छोराछोरीलाई साथमा नै राख्न हामीले छोराछोरी दुवैलाई धेरै सम्झाएका थियौं । ‘देशमा नै उच्च शिक्षा हासिल गर, सरकारी वा प्राइभेट जस्तो जागिर खान मन लाग्छ खाऊ । बाबामामुलाई छोराछोरी साथमा भएको रमाइलो र तिमीहरूलाई पनि बाबामामुसँग बसेर कमाएको, खाएको रमाइलो हुन्छ ।’

तर देशमा अड्याउने वातावरण नै बनेन । रोक्नै सकेनौं ।

किन हाम्रा छोराछोरीलाई विदेश जानुपर्ने बाध्यता आयो ? एक पेट खान र एक धर लगाउन त हजुरबाले जोडिदिनुभएको सम्पत्ति प्रशस्तै थियो । नेपालमा पनि त अवसरै अवसर छन्, गर्नेहरूलाई । म सोच्न थालें ।

छोरीले ‘बुग्ली बुग्ली मामु भन्दै गाला तानेको र छोराले छुच्ची मामु’ भन्दै जिस्क्याएको सम्झेर म भुतुक्कै हुन्छु । हजुर बाहिर गएको बेलामा एक्लै रुन्छु, बेस्सरी । श्रीमती मलाई अँगालो हाल्दै सुँकसुकाइन् ।

छोरीले ‘प्यारो बाबा किसु’ भन्दै अंकमाल गरेको हिजो जस्तो लाग्छ । म पनि भावुक भएँ, पुराना दिनहरू सम्झेर ।

युवापिंढीलाई विश्वास दिलाउने गरी हाम्रो देशको शिक्षा, स्वास्थ्य र रोजगारी भरपर्दो हुनै सकेनन् । हराभरा भौतिक पूर्वाधार पनि बन्नै सकेनन् । युवाहरूले देशमा भविष्य देखेनन् र उनीहरू विदेश जान मात्र हतारिने भए । पढ्न जानु ठिक छ, तर पढेपछि उतै हराउनु, बाउआमालाई बिर्सनु त आश्चर्य नै हो नि ! छोराछोरी पढेर फर्के त कति रमाइलो हुन्थ्यो, घरगाउँ र देश । सबै मिलेर देश बनाउने हो भने त हाम्रो देशै स्वर्ग नै छ नि ! कल्पनाको सागरमा धेरै कुराहरू पौडिरहे । म टोलाइरहें ।

हुर्काउने, पढाउने हामी, हाम्रा छोराछोरीहरूको काम कमाइ खाने चाहिं विदेशी । मैले बुढी पिलपिलाएको सहन सकिरहेको थिइनँ ।

देशका भोलिका कर्णधारहरूको निरन्तर पलायन राष्ट्रिय समस्या हो । हरेक छोराछोरी बाबुआमाका लौरी हुन् र देश निर्माता । राज्यले सोच्नुपर्ने हो नि ! हामी बुढो हुँदा कसले हेर्ने ? कसले पाल्ने, स्याहार गर्ने ? हाम्रो सम्पत्तिको सुरक्षा कसले गर्ने ? देशको सीमाको रक्षा कसले गर्ने ? मनमा कुराहरू खेल्दा खेल्दै मलाई पनि भात पकाउने खासै जाँगर आएन ।

देशका छोराछोरी देश विकासका खम्बा हुन् । देशको भाग्य निर्माता हुन् । तर ती विदेशमा गएर जोतिएका छन् । विदेशमा ऋणको फन्दामा परेका छन् । हाम्रा सन्तानलाई ऋणबाट निखन्ने कसले ? पढेर आएका हाम्रा सन्तानलाई मिल्दो गरी रोजगारी वा व्यवसाय गर्ने वातावरण मिलाउने कसले र कहिले, बाबा ?

श्रीमतीलाई छोराछोरी विदेश गएर परेको पीर भकभकी पाकिरहेको थियो ।

बुढी ! अन्तर्राष्ट्रिय बसाइँसराइ आजको विश्वमा आम प्रवृत्ति बनेको छ । धेरै देशका युवायुवती पढेर वा सीप सिकेर फर्कने वातावरण बनाउन सरकारले नै उत्प्रेरणाका सुविधा दिएको हुन्छ । तर हाम्रो देशमा स्वदेश फर्कने वातावरण नै बन्न सकेन । टाठाबाठा युवाहरू मुग्लान पसेकै राम्रो भन्छन् कि कसो हो, राजनीति गर्ने संकीर्णहरूले । अविकास, हिलोधुलो, धुवाँ, अपराध, अस्थिरता र अभाव हाम्रा शत्रु हुन् । यी शत्रुलाई पराजित नगरेसम्म विदेश गएका हाम्रा छोराछोरी फर्कंदैनन् । म बुढीलाई सम्झाउँदै सम्झाउँदै फेरि खाना बनाउन थालें ।

पढे-बढेका छोराछोरीले एकदिन आफ्नो कर्तव्य बुझ्छन् र फर्कनेछन् भन्ने आशामा हाम्रा दिन-रातहरू निरन्तर बगिरहे । सम्झेर पाक्किने क्रम पनि चलिरहृयो । लौरीहरू बर्सेनि विदेश पनि गइरहे । हामीलाई छोराछोरी फर्कने आशामा बाँच्ने बानी पनि पार्दै गयौं । हामी अन्त्यहीन पर्खाइमा बाँचिरहृयौं

हाम्रा भावनाहरू छोराछोरीको सम्झनामा रमाउँदै चलायमान भइरहे । छोरो अमेरिका गएको पनि पाँच वर्ष पुगेछ । पैसा पठाउनुपर्दैन । फोन गरिराखे हुन्छ । हामीले भनेका थियौं । तर छोराछोरी कहिलेकाहीं मात्र फोन गर्दथे । हामी अत्तालिन्थ्यौं । हामी नै गर्दथ्यौं फोन, धेरै पटक ।

छोराछोरीसँग फोनमा कुरा गरेको दिन घरमा चाडबाड आए जस्तो हुन्थ्यो, हामीलाई । झन् भिडियो कलले त सँगै बसे जस्तो बनाउँथ्यो । तर पनि मन रमाउँदैनथ्यो, साथै भए झैं । साथसाथै बस्ने खाने हिंड्ने रहर भने उम्लिन्थ्यो ।

चाडबाडमा खिच्रो, लट्टे, सेल पकाउँथ्यौं । खानेबेलामा छोराछोरी सम्एझिएर गला लाग्दथ्यो । दशैंको टीकाको सर्दाम बनाउने जाँगर आउन्नथ्यो । अरूहरू छोराछोरीसँग साथै हिंडेको देख्दा हामीलाई पनि सँगै हिंड्न पाए हुन्थ्यो भन्ने रहर लागेर आउँथ्यो । तर …

दिनहरू बितेर गए ।

एकदिन, श्रीमती मर्निङवाक्मा निस्कँदा घरको पिंढीमा चिप्लेर लडिन् । गोडा फ्याक्चर

भएछ । मैले अस्पताल लगेर प्लास्टर गरेर ल्याएँ । छोरीसँग सम्पर्क हुन सकेन ।

‘बाबु, मामुको गोडा भाँचियो, लडेर । मामुले छोराछोरीलाई बोलाई दिनुस्न भनेकी छन् । मामु एकदम आत्तिएकी पनि छन् । एक-दुई दिनलाई मात्रै मिलाएर आउन ल’ मैले छोरालाई अनुरोध गरें ।

‘एकैदिन पनि जागिर छोड्न मिल्दैन, पहिले नभनेपछि । सरी बाबा ! यसपटक म आउन सक्दिनँ । मामुको गोडा त फ्याक्चर भएको हो नि, मिलाउनुस् न’ दया-माया सकिए झैं छोराले भन्यो ।

‘तिमीलाई गाह्रो हुन्छ भने नआउ नि त बाबुु, बाबाले गरिहाल्नुहुन्छ सबै’, श्रीमतीले छोरालाई मुक्त गरिदिइन् ।

श्रीमतीको गोडा ठीक भएको हप्ता दिनपछि छोरीसँग सम्पर्क भयो । मलाई श्रीमतीको गोडा भाँच्चिएको कुरा गर्नै मन लागेन । श्रीमतीले नै सुनाइन् ।

‘मामु ! थाहा पाएको भए पनि म आउन सक्दिनथें । उत्ति नै खेर त हिंड्नै सकिंदैन । थाहा नपाएकै ठिक भयो’, छोरीले आफ्नो बाध्यता सुनाइन् ।

‘कति निष्ठुरी मन हो । कति कठोर बाध्यता हो ? बेक्कार भनेको ।’ छोराछोरीको जवाफले श्रीमती अत्यन्त खिन्न भइन् । सुँक्कसँुक्क रुन थालिन् ।

छोराछोरी दुवैले बाबामामुको मन पढ्न सकेनन् । व्यथा बुझेनन् । हामी छोराछोरीको व्यवहारले मर्माहत भयौं । तर पीर कस्तो भने कसैलाई भन्न पनि नसकिने, बाँड्न पनि नसकिने । भन्यो भने खुच्चिङ् खाइस्, छोराछोरी विदेश गएका छन् भन्दै फुर्ती गथ्र्यौ, बल्ल पायौं स्वाद भन्छन्, छरछिमेकी, बन्धुवान्धव सबै ।

हामी मरिच झैं चाउरियौं ।

लौरोको भरमा हिंडडुल गर्नुपर्ने दिनहरू पनि आए । शरीर थर्थराउँथ्यो । छोराले किनेर छोडेको लौरीको भरमा म साँझ-बिहान हिंड्ने गर्न थालें ।

एकदिन, म बाथरुममा लडेर बेहोश भएछु । श्रीमतीले रुँदै र फत्फताउँदै अस्पताल पुर्‍याइछिन् । भगवानको कृपाले म बौरिएँ । छोराछोरीलाई फोन गर्दा सम्पर्क हुन नै सकेन । छोराछोरी नै नआएपछि दाजुभाइ, इष्टमित्र र छरछिमेकीले पनि खासै चासो दिएको जस्तो लागेन, बिरामी पर्दा । नआएकोमा दुःख मनाउ पनि भएन, हामीलाई ।

भएका छोराछोरी साथमा नहुँदा निर्बल भएको महसुस हुँदोरहेछ । सम्पत्तिभन्दा ठूलो साथ रहेछ । हामी बुढाबुढी घरभित्रै रमाउँथ्यौं । बाहृय संसारसँगको नाता दिनानुदिन संकुचित बन्दै गएको थियो ।

‘छोराछोरी के भएका हुन् ? यहाँ हुँदा त कति माया गर्थे, बाबामामु भन्दा भुतुक्कै हुन्थे । सँगै खाइन्थ्यो, घुमिन्थ्यो, सँगै रमाइन्थ्यो । बिर्से कि क्या हो, नेपालमा बाबुआमा पनि छन् भनेर ?’ श्रीमती पुराना यादहरू सम्झेर छक्क परिरहन्थिन् ।

पुरानो रमाइलो फर्केला त हाम्रो घरमा ? एउटा गम्भीर जिज्ञासाले श्रीमतीलाई छोप्दथ्यो । उनी उदास हुन्थिन् । आँसुले टिलपिल आँखा लिएर मेरो काखमा पल्टिन्थिन् । म उनको कपाल सुमसुम्याउँदै सम्झाउँथें र आफैं पिलपिलाउँथें ।

म बुढीलाई बुढी मलाई सम्झाउने गर्दथ्यौं । लाख कोसिस गरे पनि चित्त बुझाउन सकिंदैनथ्यो । हाम्रा आँखाहरू धेरै रोए, भित्तामा झुण्डिएका उनीहरूका फोटोहरू हेर्दै र पुराना दिनहरू सम्झँदै ।

तैपनि उनीहरू फर्कन्छन् भन्ने आशाले हामीलाई तानिरहेको हुन्थ्यो । दिन गुजार्ने बाटो ।

हुर्केका छोराछोरीको आफ्नै संसार हुन्छ । बुढेसकालमा छोराछोरीले सेवा गर्लान् भन्ने आश गर्नु नै गल्ती हो जस्तो लाग्यो । छोराछोरी सानो छँदा राम्रोसँग हुर्काउनु, बढाउनु र पढाउनु बाबुआमाको कर्तव्य थियो भनेर छोराछोरीहरूले उम्कन मिल्छ र ? उनीहरूको पनि त कर्तव्य हुन्छ, बाबुआमाप्रति । हामीले पनि हाम्रो जवानीका रहरहरूलाई तिलाञ्जली दिएर हुर्काएको, पढाएको हो नि उनीहरूलाई ? हामी बुढाबुढी प्रश्नै प्रश्नको तलाउमा खस्थ्यौं ।
तैरिने प्रयासमा हाम्रा वर्षौं वर्ष बितेर गए ।

बाबुआमा छोराछोरी सानो हुँदा स्याहार गर्ने लौरी हुन् भने छोराछोरी बुढा बाबुआमालाई भर दिने ‘बुढेसकालको लौरी’ पनि त हुन् नि ! हाम्रो अठोट थियो । पढे-बढेका छोराछोरीले एकदिन आफ्नो कर्तव्य बुझ्छन् र फर्कनेछन् भन्ने आशामा हाम्रा दिन-रातहरू निरन्तर बगिरहे । सम्झेर पाक्किने क्रम पनि चलिरहृयो । लौरीहरू बर्सेनि विदेश पनि गइरहे । हामीलाई छोराछोरी फर्कने आशामा बाँच्ने बानी पनि पार्दै गयौं । हामी अन्त्यहीन पर्खाइमा बाँचिरहृयौं ।

लेखकको बारेमा
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?