+
+

पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन

हरि अधिकारी हरि अधिकारी
२०८० जेठ २४ गते १२:५६
मुख्यमन्त्री हिक्मत कुमार कार्की र वार्ता टोली संयोजक तिलकुमार मेन्याङ्वो (दायाँ) ।

२४ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश नामांकनको विरोधमा आन्दोलनमा उत्रिएको पहिचान पक्षधरसँग वार्ताका लागि  तीन सदस्यीय टोली गठन गरेको छ ।

मंंगलबार माओवादी केन्द्रले सरकार छाडेपछि अल्पमतमा परेलगतै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेका हुन् ।

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वो नेतृत्वको समितिमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता तथा कृषि मन्त्री भक्तिप्रसाद सिटौला सदस्य छन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले वार्ता टोली गठन गरेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेपछि त्यसको विरोधमा पहिचान पक्षधरहरु आन्दोलनमा छन् । आन्दोलनकै क्रममा चैत १० गते पदम लिम्बुको मृत्यु भएको थियो ।

गत  जेठ १४ गते बसेको दोस्रो तथा बजेट अधिवेशनको पहिलो  बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले पहिचान पक्षधरसँग तत्काल वार्ता गर्न दबाब दिएका थिए । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीले वार्तामा आउन आग्रह गरेका थिए ।

पहिचानको आन्दोलनलाई सम्बोधन नगरेको भन्दै जेठ १७ गते जसपाले सरकार छाडेको थियो । मंगलबार माओवादी केन्द्रले पनि सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गर्न लगाएर पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेका हुन् । पहिचान पक्षधरहरुले   जेठ १४ गतेबाट प्रदेशसभा भवन केन्द्रित आन्दोलन घोषणा गरेका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?