
२४ जेठ, काठमाडौं । काठमाडौंको सी लिङ्क्स होलिडेज नामक ट्राभल एजेन्सीमा विभिन्न एयरलाइन्सले आफूले काट्दै नकाटेका ३५ लाख रुपैयाँको टिकटको बिल पठाए । ती बिल पनि नेपालबाट हवाई यात्राका लागि काटिएका थिएनन् ।
भारत, चीन, कतार, यूएईलगायतबाट इराक जानका लागि काटिएका थिए । आफूले काट्दै नकाटेका टिकटबापतको बिल आएपछि एयरलाइन्सहरुमा कम्पनीले जानकारी माग्यो ।
त्यसपछि मात्रै पत्ता लाग्यो, ह्याकरहरुले कम्पनीको लग इन तथा पासवर्ड ह्याक गरी बाहिरैबाट टिकट काटेर ठगी गरेका रहेछन् । यो घटना ४ जेठ २०७९ को कुरा हो । पछिल्लो समय सी लिङ्क्स होलिडेजले भोगेको जस्तै समस्या लिएर अन्य ट्राभल एजेन्सी पनि नेपाल प्रहरीको साइबर ब्यूरोमा जाने क्रम बढेको छ ।
प्रहरीको साइबर ब्यूरोले मंगलबार नेपाल पर्यटन बोर्डलाई एक पत्र लेख्दै नेपालमा विभिन्न हवाई कम्पनीको टिकट बिक्री वितरण गर्ने ट्राभल एजेन्सीहरुलाई ह्याकरले लक्षित गरी आक्रमण सुरु गरेको भन्दै सचेत गराएको छ ।
सी लिङ्क्सका कम्पनीका कानुनी सल्लाहकार अरबिन्द साहका अनुसार सी लिङ्क्सबाट मात्र ३५ लाख रुपैयाँ हाराहारीको हवाई टिकट ह्याकरले सिस्टम ह्याक गरी काटेको पाइएको छ । ह्याकरले लगइन र पासवर्ड परिवर्तन नगरी चलाखीपूर्वक चोरी गरेका थिए ।
‘सामान्यतया हरेक टिकट इस्यू भएपछि एयरलाइन्सबाट इमेल आउने गर्छ,’ उनले अनलाइनखबरसँग भने, ‘तर, खै कसरी हो, इमेल आउने सिस्टम बन्द गराएछन्, एकातिर इमेल नआउने र अर्कोतर्फ पासवर्ड र आईडी नचलाएपछि हामीले सिस्टम ह्याक भएको पत्तै पाएनौं ।’
नेपाल प्रहरीका अनुसार ट्राभल कम्पनीलाई लक्षित गरी ह्याकरले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनधिकृत पहुँच पुर्याउने र चोरी गरी विदेशको टिकट इस्यू गर्ने घटना बढेको गुनासो आएको छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाट्टाका महासचिव कुमार थपलियाका अनुसार यो बाहेक अन्य कम्पनीबाट समेत सिस्टम ह्याक भएको गुनासो आइरहेको छ । कतिपय टिकट दक्षिण अफ्रिका, नाइजेरियाबाट समेत जारी भएको पाइएको उनले जानकारी दिए । यसरी काटिएका टिकट सक्कली नै हुन्छन् । ह्याकरले सिस्टम लिएर टिकट किनेर त्यस्ता टिकट आफूखुसी बिक्री गर्ने गर्छन् । यात्रुबाट पैसा लिन्छन् । तर, यो रकम नेपाली कम्पनीबाट भने उम्किसकेको हुन्छ । अन्त्यमा एयरलाइन्सबाट बिल मात्र हात पर्छ ।
इराक जाने जहाजमा काटिएको छ धेरै टिकट
सी लिङ्क्सबाट काटिएका धेरैजसो टिकट चीन, दुबई, भारत, कतारसहितका मुलुकलाई डिपार्चर बनाएर इराक जाने जहाजमा काटिएको पाइएको छ । यसरी ह्याकरद्वारा काटिएका अधिकांश टिकट ‘इमर्जेन्सी’ प्रकृतिका रहेको समेत उनले बताए । त्यसो हुँदा यात्रुले गन्तव्य परिवर्तन वा मिति परिवर्तन गर्न थप सोधखोज गर्ने मौका नै पाउँदैनन् । जसले गर्दा ह्याकरले काटेको टिकटबारे ट्राभल कम्पनी थप अनभिज्ञमै रहने गर्छन् । अर्कोतर्फ इमर्जेन्सीमा काटेको टिकटका जहाज केही घण्टामा उडिसक्छन् । यस्तो बेला ह्याक भएको पत्ता लागे पनि टिकट रिफण्ड वा क्यान्सिल गर्ने मौका टिकेटिङ एजेन्सीसँग रहन्न ।
‘नेपालमा आउने जहाजका टिकट काटेको, लामो समय राखेर टिकट काटेको भए केही न केही गुनासोसहित यात्रुले चासो लिन्थे,’ उनले भने, ‘विदेशबाटै विदेशकै अर्को गन्तव्यमा जाने टिकट हाम्रो ट्राभल एजेन्सीबाट काटिएको छ ।’
के कम्पनीले जति पनि मूल्यको टिकट इस्यू गर्न पाउँछन् ?
टुर तथा ट्राभल एजेन्सीले टिकेटिङको काम गर्ने कम्पनीहरुले अन्तर्राष्ट्रिय टुर एण्ड ट्राभल संघ (आयटा)को सदस्यता लिनुपर्छ । ती सदस्यले काट्न सक्ने मूल्यको ग्यारेन्टी आयटाले गरेको हुन्छ । उक्त सीमाभित्रको मूल्यमा ट्राभल एजेन्सीहरुले टिकट काट्न सक्छन् । यसरी काटिएका टिकटको कमिसन कटाएर ट्राभल कम्पनीहरुले एयरलाइन्सलाई भुक्तानी गर्छन् । वायुसेवा कम्पनीले दिएको बिल तिरेन भने ट्राभल कम्पनीहरु सो वायुसेवाको कालोसूचीमा पर्छन् । जसले गर्दा उनीहरुको व्यवसाय नै धरापमा पर्छ ।
प्रहरीले गरायो सचेत
नेपालमा विभिन्न हवाई कम्पनीको टिकट बिक्री वितरण गर्ने ट्राभल एजेन्सीहरुलाई ह्याकरले लक्षित गरी आक्रमण सुरु गरेको भन्दै नेपाल प्रहरीले सचेत गराएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोर्डलाई मंगलबार एक पत्र लेख्दै यस्तो जानकारी गराएको हो ।
ट्राभल कम्पनीलाई लक्षित गरी ह्याकरले फिसिङको माध्यमबाट लग इन नेम र पासवर्डमा अनधिकृत पहुँच पुर्याउने र चोरी गरी विदेशको टिकट इस्यू गर्ने घटना बढेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा टिकेटिङ गर्ने ट्राभल एजेन्सीलाई यसबारे समयमै जानकारी गराउन र अनुसन्धानका सिलसिलामा प्रहरीले मागेका सूचना सम्बन्धित एयरलाइन्स र सफ्टवेयर कम्पनीसँग समन्वय गरी उपलब्ध गराउन समेत प्रहरीले अनुरोध गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरिक्षक पशुपतिकुमार रायका अनुसार लगातार ३/४ वटा कम्पनीबाट ब्यूरोमा उजुरी आएपछि कम्पनीहरुलाई सचेत गराइएको हो ।
‘हाम्रो काम जनचेतनाको पनि हो, त्यसकारण थप क्षति हुन नदिन हामीले सरोकारवाला निकायमार्फत् एजेन्सीहरुलाई सचेत हुन भनेका हौं,’ उनले भने । उनका अनुसार कम्पनीहरुले लाखौं रुपैयाँ ठगीको उजुरी गरेका छन् । थप विषय भने अनुसन्धानपछि नै खुल्दै जाने उनले बताए ।
प्रतिक्रिया 4