+
+
नक्कली भुटानी शरणार्थी प्रकरण :

आरोपितका वकिलको तर्क : पैसा भेटिएकै छैन, कसरी हुन्छ ठगी ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते २१:४०

२४ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणको मुद्दामा बुधबारदेखि जिल्ला अदालत काठमाडौंमा आरोपितहरुका तर्फबाट कानुन व्यवसायीहरुले बहस थालेका छन् । बुधबार कानुन व्यवसायीहरुले यो प्रकरणका योजनाकार मानिएका केशवप्रसाद दुलाल र सानु भण्डारीको बचाउमा बहस गरे ।

केशवप्रसाद दुलालमाथि पीडितको रकम लिएको, शीर्ष नेतृत्वहरुसँगको पहुँचका आधारमा नक्कली शरणार्थी बनाउने काम गरेको, पीडितलाई विश्वासमा पार्न बायोमेट्रिक गरेको लगायतको आरोप छ । साथै दुलाल र तत्कालिन गृहसचिव टेकनारायण पाण्डेबीच पटकपटक सम्पर्क भएको पनि अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

अधिवक्ता योगेन्द्र अधिकारीले केशव दुलालले ठगीबाट लाभ नलिएको भन्दै अनाहकमा प्रतिवादी बनाइएको जिकिर गरे । ‘हाम्रो पक्षलाई भएजति कसुर लगाएर ल्याइयो, केशवप्रसाद दुलालविरुद्ध कुनै प्रमाणै छैन’ उनले भने, ‘यिनले गृह मन्त्रालय गएर बालकृष्ण पन्थीले दिएको प्रतिवेदन कसरी परिवर्तन गर्न सक्नु ?’

नक्कली शरणार्थी प्रकरणका आरोपितमध्येका एक सचिव टेकनारायण पाण्डेले बुधबार इजलासमा सानो डायरी लिएर आएका थिए । प्रतिवादीहरुको पक्षमा बहसको सुरुवात भएदेखि उनले बहस सुन्दै टिपोट गरिरहेका थिए । सरकारी वकिलहरुको बहसमा आफूहरुलाई बारम्बार मुछेकोमा चिन्तित आरोपितहरु आफ्नो पक्षमा बहस हुन थालेपछि अलि हँसिलो र उत्साहित देखिन्थे ।

अधिवक्ता योगेन्द्र अधिकारीले यो घटना ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुर हुन नसक्ने जिकिर गरे ।

‘सबै ठगी राज्यविरुद्धको अपराध हुन्छ ?’ उनले भने, ‘हातहतियार, लागूऔषध र मानवतस्करका गिरोहहरु मात्रै संगठित अपराधमा संलग्न हुन्छन् । केशवप्रसाद दुलालले कहिले यस्तो संगठित समूहको सदस्यता लिए ?, मिलापत्र हुने यो मुद्दामा मेरो पक्षलाई धरौटीमा छाडियोस् ?’

प्रहरीले पेश गरेको आरोपपत्रमा सचिव टेकनारायण पाण्डे र केशवप्रसाद दुलालबीचको च्याट संवादको सूची पनि समावेश छ ।

जहाँ सचिव पाण्डेले, ‘मन्त्रीज्यूको गिफ्ट ल्याएनौ ?’ भनी सोधेका छन् ।

जवाफमा दुलालले भनेका छन्, ‘ओके, गेटमा हजुर तल भन्दिनू ।’

टेकनारायणले फेरि सोध्छन्, ‘मन्त्रालय गेट हो नि ?’

दुलालले ‘हजुर भनी जवाफ फर्काएका थिए ।

सचिव पाण्डेले भने, ‘ल भन्या छु, गिफ्ट माथि लिएर आउनु, गिफ्ट कहाँ छ सँगै लिएर आउनु ।’

अभियोगपत्र अनुसार, सचिव पाण्डेले मन्त्रालयमा भुटानी शरणार्थी मामिलामा हुने सबै गतिविधि र निर्णयहरु केशव दुलाललाई चुहाउथे । दुलालले त्यसअनुसार योजना बुन्थे र मुलुकका विभिन्न भागबाट रकम उठाउथे । उठेको त्यो रकम ‘गिफ्ट’ गृहमन्त्री बालकृष्ण खाँणसम्म पुगेको प्रहरीको दाबी थियो ।

तर आरोपितका कानून व्यवसायीहरुले भने प्रमाणविना नै ठगी मुद्दा चलाइएको भन्दै आफ्नो पक्षको प्रतिरक्षा गरे । ‘कानुनको दफा लगाउदैमा अभियोगपत्र स्थापित हुन्छ र ?’ अधिवक्ता राजन भट्टराईले भने, ‘केशवप्रसाद दुलालको श्रीमती क्यान्सर पीडित हो । उ आफैं ठगिनुभएको छ, यस्तो मान्छेले अरुलाई कसरी ठग्नसक्छ ?’

केशव दुलालको पक्षमा बहस सकिएपछि सानु भण्डारीको प्रतिरक्षा गर्ने पालो आयो । कसको पक्षमा पहिले बहस गर्ने भनी केहीबेर कानून व्यवसायीहरुबीच अलमल भयो । सानु भण्डारीले ज्याकेटको खल्तीबाट प्लाष्टिकमा रहेको काजु, ल्वाङ, मिठाइ निकाले । केही टुक्रा आफ्नो अघिल्तिर बसेका सचिव टेकनारायण पाण्डेलाई दिए । सानु भण्डारीले अरुलाई पनि पोकाबाट खानेकुरा बाँड्दै गए ।

आरोपितहरु सानु भण्डारी र केशव दुलाल ।

उता अधिवक्ता विनोद शर्मा पोडियममा उक्लिए । र सानु भण्डारीको पक्षमा बहस गर्न फाइल पल्टाए । उनले बहसको सुरुवात गर्दै भने, ‘सानु भण्डारी अपराधमा संलग्न भएको चित्र अभियोगपत्रबाट देखिदैन, श्रीमान ।’

सानु भण्डारीमाथि गृह प्रशासनमा पहुँच बनाएर नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू अनुुकुल निर्णय गराएको, शिक्षण पृष्ठभूमिका गणेश केसीलाई शरणार्थी अध्ययन कार्यदलमा सदस्य बनाएको लगायतका आरोप छन् ।

साथै गृहमन्त्रालयभित्र भएका सबै सूचना र विवरण बाहिर ल्याएर पीडितहरुलाई विश्वासमा पारेको आरोपपत्रमा उल्लेख छ । उनकी पत्नी दीपा हुमागाईको खातामा पीडितहरुले २० लाख रुपैयाँ जम्मा गरेका थिए । उनको घरबाट बरामद डायरीमा कसलाई कति रकम दिएको भन्ने फेहरिस्त थियो । प्रहरीको प्रतिवेदनमा, ‘गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करौडौं रकम उठाई पीडितहरुलाई हानी नोक्सानी पु¥याइ ठगीको कसूर गरेको पुष्टि हुन आएको’ दाबी गरिएको छ ।

अधिवक्ता विनोद शर्माले भने सानु भण्डारीले जग्गा कारोबारको सिलसिलामा केही व्यक्तिसँग रकम लिएको उल्लेख गर्दै त्यो फिर्ता गरेर हिसाबकिताब ‘राफसाफ भएको’ बताए । उनले भने, ‘त्यसपछि त शून्य भयो भनेको हो । यति भन्दा पनि नसुनेर उल्टै पक्राउ गरेर केरकार गर्न थालेकाले उसले आत्मदाह गर्छु भनेको हो ।’

अब भने आरोपितहरुले बहसमा ध्यान दिन थाले । उनले सानु भण्डारीलाई धम्क्याइएको भन्दै ‘तैले यो नाम भन्नुपर्छ, ऊ नाम भन्नुपर्छ भनेर सबैको नाम बकाइएको’ दाबी गरे । उनले टोपबहादुर रायमाझीलाई ४० लाख रुपैयाँ दिएको भनिएको रकम रकम छोराको कम्पनी बेचेबापतको हिसाब मिलाउदाको रकम भएको जिकिर गरे ।

‘२९ करोड रुपैयाँ ठगी भएको आरोप छ’, अधिवक्ता शर्माले भने, ‘साच्चै त्यसमा संलग्न भएको भए टोपबहादुरले ४० लाखमा चित्त बुझाए होलान् त ?’

सानु भण्डारीले मन्त्रालयको पहुँचमा आफू अनुकुलको व्यक्ति कार्यदलको सदस्यमा नियुक्त गरेको आरोपको प्रतिवाद गर्दै अधिवक्ता शर्माले भने, ‘त्यत्रो पहुँच भएको भए त ऊ आफै कार्यदलमा सदस्य बस्ने थियो, राजदूत भएर विदेश जाने थियो ।’

उनले सानु भण्डारीसँग कतिपय पीडितहरुको कारोबार भएको स्वीकार्दै नक्कली शरणार्थी मामिलामा नभई घरजग्गा कारोबारको क्रममा रकम लेनदेन भएको दाबी गरे ।

अधिवक्ता शर्माले रकम बरामद नभएको अवस्थामा ठगीको कसुर स्थापित नहुने तर्क गरे । ‘१८ जना प्रतिवादीबाट एक रुपैयाँ पनि बरामद भएको छैन’ उनले भने, ‘यो दुःख, पीडा, दर्द कसले बुझिदिने ?’

आरोपपत्रमा सानु भण्डारीसँग भुटानी शरणार्थी नेता टेकनाथ रिजालले रकम लिएको दावी छ । कानुन व्यवसायी शर्माले टेकनाथ रिजालको नाममात्रै मिलेको भन्दै पैसा लिने टेकनाथ रिजाल अर्कै व्यक्ति भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?