+
+

नेपालमा केवलकारको यात्रा : मनकामनादेखि लुम्बिनीसम्म

अच्युत पुरी अच्युत पुरी
२०८० जेठ २५ गते २२:०९

२५ जेठ, काठमाडौं । नेपालको छैठौं केवलकार बिहीबारदेखि व्यवसायिक सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुटवलस्थित गोलपार्क बमघाटमा रहेको लुम्बिनी केबलकारको तल्लो स्टेशनमा ताम्रपत्र अनावरण गरी उद्घाटन गरे ।

तत्कालिन युवराज दीपेन्द्र शाहले ८ मंसिर २०५५ मा नेपालको पहिलो केबलकार मनकामना केवलकार उद्घाटन गरेका थिए । पछिल्लो केबलकारको रुपमा आइएमई समूहको लगानीमा लुम्बनी केबलकार बनेको हो । काठमाडौंको चन्द्रागिरि र नवलपुरको गैडाकोटस्थित मौलाकालिकामा केवलकार सञ्चालनमा ल्याएको आइएमई समूहले तेस्रो परियोजनाका रुपमा लुम्बिनी केवलकार सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए । रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुयाउने विश्वास रहेको ढकालको भनाइ छ ।

अध्यक्ष ढकालले रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउन यो परियोजना कोशेढुङ्गा सावित हुने बताए ।

अध्यक्ष ढकालले केबलकार धार्मिक पर्यटन सर्किट निर्माणको नयाँ अभियान भएको बताए । यस सर्किट अन्तर्गत बुटवलको लुम्बिनी केबलकारबाट धार्मिक यात्रा सुरु गरियो भने यही बाटो हुँदै मौलाकाली, मुक्तिनाथ, मनकामना, चन्द्रागिरि, कालिञ्चोक हुँदै पाथिभरासम्म पुग्न सकिने अवस्था सिर्जना गर्न सकिने उनले बताए ।

मनकामना दर्शनको योगदान

३१ वटा डब्बा (गोण्डला) बाट सुरु भएको मनकामना दर्शन प्रालि नेपालमा धेरै नेपालीलाई केवलकारको अनुभव गराउने कम्पनी हो । ८ मंसिर २०५५ सालदेखि विधिवत रुपमा सञ्चालनमा आएको केवलकारमा अहिले भने ३४ वटा गोुण्डला सञ्चालनमा छन् ।

चितवनको कुरिनटारबाट गोरखाको मनकामनासम्म चल्ने यो केवलकारले नेपालको प्रख्यात मन्दिर मनकामनाको दर्शनलाई सहज बनाएको छ । नेपाली र भारतीय पर्यटकबीच यो केवलकार लोकप्रिय रहेको छ । ३.०२ किलोमिटर लामो यो केवलकारको तल्लो स्टेशनको उचाइ समुन्द्री सतहबाट २८५ मिट र माथिल्लो स्टेशनको उचाइ १३०२ मिटर रहेको छ । १० मिनेटको यात्रामा यो केवलकार पुरा हुन्छ ।

चन्द्रागिरि केवलकार

नेपालको दोस्रो केवलकार परियोजनाका रुपमा ३० मंसिर २०७३ मा चन्द्रागिरि केवलकार व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएका बेला यो परियोजनाको उद्घाटन गरेका थिए । काठमाडौंको थानकोटमा रहेको बेस स्टेशनबाट ९ देखि १४ मिनेटको यात्रापछि चन्द्रागिरि डाँडामा रहेको टप स्टेशनमा पुग्न सकिन्छ ।

यहाँ कुल ३८ वटा गोण्डला जडान गरी सञ्चालनमा ल्याइएको छ । चन्द्रागिरिमा लक्जरी रिसोर्टसहित विभिन्न साहसिक तथा मनोरन्जनात्मक गतिविधि समेत सञ्चालनमा रहेका छन् । पछिल्लो समय भालेश्वर महादेवको दर्शनका लागि समेत चन्द्रागिरि पुग्नेहरुको भिड लाग्ने गर्छ । हिँउद याममा हिउँ खेल्न समेत यो गन्तब्य चर्चित रहेको छ ।

कालिञ्चोक केवलकार

दोलखाको कालिञ्चोक गाउँपालिकामा सञ्चालनमा आएको कालिन्चोक केवलकार परियोजना नेपालको तेस्रो केवलकार परियोजना हो । १७ कात्तिक २०७५ देखि व्यवसायिक रुपमा सञ्चालनमा आएको यो परियोजनाको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमा औपचारिक उद्घाटन गरेका थिए ।

कालिञ्चोक तुलनात्मक रुपमा सानो परियोजना हो । जसमा ४ वटा गोण्डलाबाट मात्र यात्रु ओसार्ने गरिन्छ । एक डब्बामा १० जनाले यात्रा गर्न सक्छन् । कालिञ्चोक नेपालकै चर्चित धार्मिक गन्तब्यमध्ये एक हो । जहाँ सबै उमेर समूहका भक्तजनहरुको भीड लाग्ने गर्छ । यो केवलकार कुरी बजारबाट ९ सय मिटर लम्बाइको छ ।

अन्नपूर्ण केवलकार

२०७८ फागुनबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको अन्नपूर्ण केवलकार नेपालको चौथो केवलकार परियोजना हो । कास्की जिल्लामा रहेको पोखरा महानगरपालिका १८ स्थित सेदीबाट सराङकोटसम्म यो केवलकार सञ्चालनमा रहेको छ । २.१६ किलोमिटर लामो यो केवलकार मार्फत फेवाताल किनारबाट ९ देखि १० मिनेटमा सराङकोट पुग्न सकिन्छ ।

फेवाताल हेर्दाहेर्दै एकै पटक हिमाली दृष्यावलोकन गर्न सकिनु यो केवलकारको विशेषता हो । केवलकारको टप स्टेसनमा जिपलाइन, रक क्लाइमिङ, रेष्टुरेन्टसहितका सुविधा छन् । यो केवलकारमा १७ वटा गोण्डला छन् ।

मौलाकाली केवलकार

नेपालको पाँचौं केवलकार परियोजनाका रुपमा मौलाकाली केवलकार सञ्चालनमा आएको हो । १८ वैशाख २०८० मा प्रधानमन्त्री पुष्पकमल दाहालले गैडाकोट १ मा रहेको बटम स्टेशनमा रहेको ताम्रपत्र अनावरण गर्दै औपचारिक उद्घाटन गरेका हुन् ।

१२ सय मिटर लामो यो केवलकारमा १४ वटा गोण्डला रहेको छ । बटम स्टेशनबाट ५ मिनेटको यात्रापछि टप स्टेशनमा पुग्न सकिन्छ । माथिल्लो स्टेशनमा होटेल, हल, स्वीमिङ पुल, रेष्टरेन्टसहितका संरचना निर्माण भइरहेका छन् । यो परियोजना समेत आइएमई समूहको लगानीमा निर्माण भएको हो ।

लुम्बिनी केवलकार

लुम्बिनी प्रदेशको पहिलो केवलकार परियोजना तथा मुलुकको छैठौं केवलकार परियोजना बिहीबारबाट औपचारिक सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यो परियोजनाको औपचारिक उद्घाटन गरेका हुन् ।

बटम स्टेशनबाट १० मिनेटको यात्रापछि माथिल्लो स्टेशन (पाल्पा) को बसन्तपुरमा पुग्न सकिन्छ । ५ अर्ब रुपैयाँ लागतमा प्याकेजमा निर्माण भइरहेको यो केवलकार परियोजना अन्तर्गत माथिल्लो स्टेशनमा पाँचतारे होटेलसहितका संरचना निर्माणाधीन रहेका छन् । यो परियोजनामा २५ वटा गोण्डला छन् ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?