+
+

‘जाहेरी दर्ता गर्ने बाहेक प्रहरीले १६ वर्षसम्म केही गरेन’

गौर घटनाको नेतृत्वकर्ता तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादव हुन् भनेर हामीले त्यसबेलै किटानी जाहेरी दिएका थियौं । घटनामा जघन्य अपराध भयो । त्यो उहाँको निर्देशनमा भएको हो । तर, अहिलेसम्म प्रहरीले केही गरेन । 

त्रिभुवन साह, घाइते, गौर घटना त्रिभुवन साह, घाइते, गौर घटना
२०८० जेठ २६ गते १९:४२

म ७ चैत २०६३ को गौर घटनामा घाइते भएको थिएँ । मलाई शरीरका विभिन्न भागमा चोट लागेको थियो । खुट्टामा, ढाडमा र अन्यत्र भाटाहरूले हानेर रगताम्ये बनाइएको थियो । घटनापछि हामीले नै घाइतेहरूको उद्धार गरेर विभिन्न अस्पताल र स्वास्थ्य केन्द्र पठाउने काम गरेका थियौं । शवहरू खोज्ने काम हामीले गरेका हौं ।

घटनापछि सबै शवहरू काठमाडौं ल्याएर टुँडिखेलमा राखिएको थियो । त्यसपछि उनीहरूको सद्गत गर्ने काम भयो । पोष्टमार्टम लगायतका रिपोर्ट बनाउने र कागजातहरू संकलन गर्ने काम गरियो । २८ चैत २०६३ मै हामीले जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिएका थियौं । कतिपयले मुख छोपेका थिए । उनीहरूको साथमा लाठा, भाटा थिए भने कतिपयले घरेलु बन्दुक बोकेका थिए । तर, प्रहरीले त्यतिबेला प्रमाण संकलनमा महत्व दिएन ।

त्यो घटनापछि विभिन्न मानवअधिकारवादी टोली, स्थलगत अवलोकन गर्नेहरूको टोली गौर पुगेको थियो । उनीहरूले आ–आफ्नो ढंगले अध्ययन गर्ने र प्रतिवेदन दिने काम गरे । घटनास्थलको फोटो खिच्नेदेखि अरू विवरणहरू संकलन गरेका थिए । तर, प्रहरीले चाहिं अनुसन्धानमा हुनुपर्ने जति काम गरेन ।

पछि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग पनि गठन गरेको थियो रे ! यिनका कागजात र प्रतिवेदन सबै माथिल्लो निकायमा बुझाए भन्थे । हामीले अहिलेसम्म पनि त्यो पढ्न र हेर्न पाएका छैनौं । त्यसमा के लेखिएको छ भनेर हामीलाई थाहा हुने कुरा पनि भएन ।

घटनापछि दुई वटा जाहेरी परेका थिए । तिनमा त्यो घटनामा संलग्नहरूको नाम किटानीका साथ उल्लेख थियो । प्रहरीले उनीहरूलाई एकपटक पनि बोलाउने, सोध्ने, बयान लिने काम गरेन । घटनाका घाइते, मृतकका आफन्तहरूलाई बोलाउने, सोध्ने, को को संलग्न थिए भनेर बुझ्न खोजेन । उनीहरूसँग बुझ्न त कठिनाइ थियो होला, तर हामी त बोलाएको बेला जाने थियौं । तर १६ वर्षको अवधिमा प्रहरीले घटनाबारे कुनै चासो दिएन ।

घटनापछि हामीले यो घटनाको नेतृत्वकर्ता तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादव हुन् भनेर किटानी जाहेरी दिएका थियौं । त्यस घटनामा जे–जति अपराध र हिंसा भए, जति पनि व्यक्तिहत्या र जघन्य ज्यादती भए, उहाँको निर्देशनमा भएको हो भन्ने हाम्रो भनाइ हो । त्यतिबेला यो विषय छर्लङ्ग थियो । पीडित सबैलाई उहाँको संलग्नताबारे थाह छ । बीभत्स रूपमा ज्यान मार्ने उद्देश्यले घटना भएको थियो भन्ने हाम्रो निष्कर्ष हो । फेरि विभिन्न रिपोर्टमा उपेन्द्र यादवको संलग्नता बारे नामै किटेर भनिएको छ ।

घटनापछि मारिएकाहरूको पोष्टमार्टम रिपोर्ट छ । प्रहरीले घटनास्थलको फोटो खिचेको छ । घटना विवरण संकलन गरेको छ । घटनास्थलको मुचुल्का छ । विभिन्न मानवअधिकारको क्षेत्रमा काम गर्ने संघसंस्था घटनास्थलमा गएर रिपोर्ट बनाएका छन् । ती घटनामा संलग्नहरूको बारेमा कतिपय भिडियो रेकर्डहरू अहिले पनि उपलब्ध छन् । तिनलाई प्रमाण बनाएर त्यसका आधारमा पनि अनुसन्धान हुनुपर्छ भन्ने हाम्रो माग हो ।

घटनामा २८ जना मारिएका थिए । (विभिन्न दस्तावेजहरूमा २७ जना भन्ने उल्लेख छ ।) रौतहटका ९ जना मारिएका थिए । मकवानपुरका ८, सिन्धुली, रामेछाप, पर्सा र बाराका मानिसहरूको पनि ज्यान गएको छ । पीडितहरू छरिएकाले पनि सबै एकजुट हुन कठिन भएको छ । हामीले जसोतसो एउटा संघर्ष समिति बनाएका छौं । त्यही समितिले न्यायका लागि आवाज उठाइरहेको छ ।

हामीले बर्सेनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम गरिरहेका छौं । घटना भएको क्षेत्रबाट माधवकुमार नेपालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ । उहाँहरूले पनि केही गर्नुभएन, पहल गरिदिएको भए त हामीलाई राहत हुन्थ्यो । उच्च पदमा रहेकाहरूलाई भेटेर यो घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न भनिरहेका छौं ।

घटनापछि उपेन्द्र यादव लगायत नेताहरू पटक–पटक गौर पुगे । तर उनले पीडित परिवारसँग क्षमा माग्ने वा घटनाप्रति दुःख व्यक्त गर्ने काम गरेनन् । घटनामा संलग्न भएका अरू दोषीहरू पनि दिनदहाडै घुमिरहेका छन्, जसले गर्दा पीडितहरू थप दुःखी छन् । उनीहरू प्रहरीको अगाडि कत्ति पनि हिच्किचाहट नगरी घुमिरहेका छन् । उल्टो हामीलाई धाकधम्की दिइरहेका छन् ।

त्यो घटनामा सय जना भन्दा बढी घाइते थिए । उनीहरूलाई सरकारले कुनै वास्ता गरेन । घाइतेहरू रौतहटमा मात्रै छैनन्, विभिन्न जिल्लामा छरिएर बसेका छन् । फेरि दोषीमाथि अनुसन्धान र कारबाही नभएकाले पीडितहरू डराएका पनि छन् र उनीहरू बीच एकअर्कामा सम्पर्क हुन पनि कठिन छ ।

गौर घटनामा मारिनेहरू कतिपय त १८/२० वर्षभन्दा कम उमेरका थिए । बाबुआमाले आफ्नो किशोर सन्तान अनाहकमा गुमाउनुपरेको छ । यतिका वर्षसम्म न्याय नपाउँदा उहाँहरू विक्षिप्त जस्तै बन्नुभएको छ । अस्ति मात्रै गृहमन्त्रीलाई भेट्न आउनुभएको एकजना आमा उहाँको अगाडि डाँको छोडेरै रुनुभयो ।

त्यतिबेला घटनाका मृतकका परिवारले १० लाख रुपैयाँ राहत पाएका थिए । अरूले केही पाएनन् । पीडितका परिवारको शिक्षा, दीक्षा, अवसरमा कसैले वास्ता गरेको छैन । हाम्रो अरू केही माग छैन । घटनाको अनुसन्धान भएर दोषीमाथि कारबाही होस् भन्ने मात्रै इच्छा छ ।

घटनापछि हामीले हरेक सरकारलाई भेटेका छौं, वर्षैपिच्छे काठमाडौं आएर प्रधानमन्त्री, गृहमन्त्री गुहारेका छौं । हरेकले आश्वासन दिन छुटाएका छैनन्, तर केही काम गर्दैनन् । यसपालि पनि हामीले प्रधानमन्त्रीदेखि गृहमन्त्रीलाई भेटेका छौं । उहाँहरूले घटनाको अनुसन्धान अघि बढाउने आश्वासन दिनुभएको छ । यसपालि चैं माग पूरा होला कि भन्ने आशा छ ।

(१६ वर्षअघिको गौर घटनामा घाइते भएका मध्येका एक साह लगायतले घटना अनुसन्धानको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । उनै साहसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?