+
+

पर्यटन र हवाई सेवामा कर हटाउन व्यवसायीको माग

विज्ञ समूहबाट अध्ययन गराउन माग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १२:३८

२६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि घोषणा गरेको विभिन्न प्रकारको दरमाथि पर्यटन तथा हवाई व्यवसायीले संयुक्त रुपमा असन्तुष्टि जनाएका छन् । शुक्रबार राजधानीमा व्यवसायीले सरकार समक्ष नयाँ प्रस्ताव समेत गरेका छन् ।

जसमा पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघ÷संगठन सम्मिलित विज्ञ समूह÷समिति बनाएर गहन अध्ययन गर्नुपर्ने र घोषित करहरु १ वर्षपछि मात्र लागु हुने गरी व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

टे«किङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), होटेल एशोसिएशन अफ नेपाल (हान), वायुसेवा सञ्चालक संघ (आयोन)सहित डेढ दर्जन संघ संस्थाले शुक्रबार संयुक्त रुपमा यस्तो प्रस्ताव गरेका हुुन् ।

कोभिड १९ महामारीबाट भर्खरै लयमा फर्कदै गरेको पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउन भन्दै व्यवसायीले यस्तो प्रस्ताव गरेका हुन् । बजेटमा भएका घोषणाले पर्यटन उद्योगमा गम्भीर र नकारात्मक असर गर्ने भन्दै सरकारले यस तर्फ ध्यान दिनुपर्ने समेत बताए ।

सरकारले आगामी आवबाट टे«किङ तथा टूर प्याकेज सम्बन्धी सेवा र हवाई टिकटलाई भ्याट लगाउने सूचीमा राखेको छ । पाँच तारे र सो भन्दा माथिका तारे होटेल तथा लक्जरी रिर्सोटले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शूल्क घोषणा गरेको छ ।

विदेशमा पर्यटन भ्रमणमा जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशत वैदेशिक पर्यटन शूल्कको घोषणा गरिएको छ । यसबाट नेपालको टूर प्याकेज महंगो हुने र नेपाल आउने पर्यटक छिमेकी मुलुक र उस्तै अनुभव भएका अन्य गन्तब्यमा जाने चिन्ता व्यवसायीको छ ।

यसबाट सरकारले यस वर्ष १० लाख पर्यटक भित्राउने लक्ष्य प्रभावित हुनुका साथै कर संकलनका लागि राखिएका लक्ष्यसमेत प्राप्त नहुने देखिएको निजी क्षेत्रको चेतावनी छ । पर्यटन क्षेत्रलाई उद्योगको मान्यता नदिँदा राज्यबाट पाउनु पर्ने सहुलियतपूर्ण ब्याजदर तथा विजुली शूल्कबाट समेत बन्चित हुनु परेको व्यवसायीको भनाइ छ ।

हवाई टिकट विदेशबाट काट्ने सम्भावना

सरकारले नेपालमा हवाई टिकटका भ्याट लगाउँदा विदेशी एजेन्सीबाट टिकट बुकिङ बढ्न सक्ने चेतावनी समेत व्यवसायीले दिएका छन् । भ्याट लगाउँदा विदेशी पर्यटकको टूर प्याकेज महंगो हुने भन्दै व्यवसायीले नेपाल भ्रमणबाट निरुत्साहित हुने बताएका छन् ।

 

हिमाल आरोहण, पदयात्रा, जलयात्रा, टूर तथा सफारी प्याकेज कम्तिमा १ वर्ष अगाडीबाटै बुकिङ गरी सोअनुसारको मूल्य राखिने गरेको भन्दै नयाँ थप भएका कर र शुल्कले व्यवसायी मारमा पर्ने उनीहरुको भनाइ छ । व्यवसायीले पर्यटकको सवारीको हकमा सवारी साधनको पूर्ण फिटनेश जाँच गरी ३० वर्षे आयु कायम गर्न समेत माग गरिएको छ ।

पर्यटन व्यवसायीले माफ्नो माग पुरा नभए दवावमुलक कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् । आफूहरुको माग सरकारका विभिन्न निकायमा बुझाएको भन्दै व्यवसायीले माग सम्बोधन नभए दबाबमुलक कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

पर्यटन व्यवसाय कुनै पनि वस्तु आयात नगरी दृष्य देखाएको भरमा सञ्चालन हुन सक्ने भन्दै सरकारले यसलाई गम्भीर रुपमा लिनु पर्ने टानका अध्यक्ष निलहरी बास्तोलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?