+
+
अन्तर्वार्ता : मीन विश्वकर्मा :

‘सुधार चाहने र सुधार गर्न नदिने समूह भनेर नयाँ गुट बनाउन खोजिएको छ’

गुट हुनुहुँदैन भनेर ‘भएका चाहिं हुनुभएन’ अर्को नयाँ गुट बनाउनुपर्छ भनेको बुझें मैले। विद्यमान गुटहरू काम लागेनन्। अर्को गुट बनाऔं भन्ने बाहेक के छ र त्यहाँ ? उहाँहरूले भन्न खोजेकै विद्यमान गुट मन परेन। भएका गुटहरूमा परिवर्तन चाहनुभयो।

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १८:१२

नेपाली कांग्रेसमा परम्परागत गुट सकिएर अब दुई समूह मात्रै रहेको टिप्पणी हुन थालेको छ। खासगरी महामन्त्री गगन थापा पार्टीभित्र सुधार गर्न खोज्ने र परिवर्तन हुन नदिने दुई समूह मात्रै रहेको सार्वजनिक रूपमा बताउँदै आएका छन्। तर संस्थापन पक्ष यसलाई ‘पार्टीभित्र नयाँ गुट जन्माउने प्रयास’ भन्ने ठान्छ।

यसै विषयमा सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग पार्टीभित्र बढ्दो निराशा, भ्रातृ संस्थामा देखिएको भद्रगोल र रूपान्तरण अभियानमा केन्द्रित रहेर अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानी।

२०६४ र २०७४ सालमा कांग्रेस धेरै स्थानमा पराजित भएको थियो। त्यसबेला पराजय भोगे पनि फेरि जित्छौं भन्ने आत्मबल देखिन्थ्यो। अहिले तीन तहका सरकारमा पहिलो दल भएर पनि कांग्रेसमा किन निराशा बढिरहेको होला ?

पार्टी बिग्रने र बन्ने भन्ने कुरा जिम्मेवार नेता, कार्यकर्ता, सदस्य र समर्थकको मनोविज्ञानले निर्धारण गर्दछ। २०६४ र २०७४ सालमा हामी नराम्ररी हारेका थियौं। त्यो बेला हाम्रो मनोविज्ञानमा एक खालको प्रतिशोधको रूपमा ‘हामी उठ्छौं, जुट्छौं, फेरि हामी उही स्थानमा पुग्छौं’ भन्ने थियो। हामीले भने अनुसार पनि भयो।

महाधिवेशन भइसकेपछिका दिनहरूमा पार्टीलाई सहमतीय पद्धतिबाट लिएर जाने भन्दै गर्दा निर्णय प्रक्रियामा केही विलम्ब भएका छन्।

सबै निर्णय प्रक्रिया ढिलो हुँदै गर्दा आम पङ्तिमा कोही हामीभन्दा अघि हिंडिदियो कि हामीभन्दा अघि पुग्ने पो हो कि भन्ने चिन्ता र त्रास छ। त्यसैले गर्दा हाम्रा साथीहरूको मनोविज्ञान कता-कता अलमलिएको छ।

पार्टीभित्र चिन्ताको अवस्था छ। पार्टी अहिले पनि गतिशील रहेको साथीहरूलाई म अनुरोध गर्दछु। जिउँदो मानिस कहिलेकाहीं बिरामी हुन्छ। पार्टी जिउँदो र ठूलो छ।

सबै पार्टीले कांग्रेसलाई टार्गेट गरेका छन्। हाम्रो विरुद्धमा कार्यक्रम बनाएका हुनाले यस्ता घटना, परिघटना स्वाभाविक रूपले आउँछन्। तर्सिनु नै पर्ने गरी केही भएको छैन।

पार्टीप्रति निराश हुनु निर्णय प्रक्रियामा हुने विलम्ब पनि कारण हुन सक्छ भन्नुभयो। तीन तहको सरकारमा ठूलो दल हुँदा समेत नागरिकलाई डेलिभरी दिन नसकेर पनि कार्यकर्तामा निराशा थपिएको हो कि ?

हामी परम्परागत तरिकाले चल्यौं। पार्टीबाट निर्वाचित जनप्रतिनिधि साथीहरूले पनि त्यही लयमा आफ्ना कार्यक्रम लिएर जानुभयो। सूचना प्रविधिका कारणले समाज दु्रत गतिमा अघि बढिरहेको छ। जनआकांक्षा र चाहना जापानको बुलेट ट्रेनको गतिमा छ। राजनीतिक दलबाट निर्वाचितहरू लोकल बस जस्ता भयौं।

यही ग्यापका कारण जनतामा असन्तुष्टि छाएको छ। नागरिकमा असन्तुष्टि प्रकट हुँदै हुँदै पार्टी सदस्य र पार्टी नेतृत्वसम्म आइपुगेको छ। यसलाई नबुझेको होइन, उपयुक्त उपचारको तयारी गर्दैछौं।

कांग्रेसभित्र सन्नाटा छाउनुमा पार्टी सभापतिको कार्यशैलीलाई कारण मान्ने धेरै छन्। सभापति विधि अनुसार नहिंड्दा यो अवस्था आएको भनिन्छ हो ?

१२औं महाधिवेशनदेखि नै विधान मिच्न सकिने अवस्था छैन। ११औं महाधिवेशनसम्म सभापति प्रणाली मान्यौं। ५० प्रतिशत पदाधिकारी र केन्द्रीय समिति सदस्य मनोनित हुने व्यवस्था थियो। त्यसपछिका महाधिवेशनमा सामूहिक नेतृत्वको परिकल्पना गर्‍यौं।

अहिले २० प्रतिशत मात्रै सभापतिले मनोनित गर्ने व्यवस्था छ। पदाधिकारीमा कोषाध्यक्ष बाहेक निर्वाचित नै गर्छौं। सभापतिले विधान मिचेको ठहर गरे पदाधिकारीले पनि मिचेकै ठहर्छ। सभापतिले विधान नमिचेको भए पदाधिकारीले पनि नमिचेको ठहर्छ।

अहिले पदाधिकारी भनेर जुन प्रचलनमा ल्याइएको छ, यो विधान भन्दा बाहिर छ। पूर्व र वर्तमान पदाधिकारी बैठक भइरहेको हुन्छ। यो अनौपचारिक बैठक हो। अनौपचारिक बैठकलाई औपचारिकमा रूपान्तरण गर्‍यौं भने यो गुनासो बन्द हुन्छ।

पदाधिकारी नै भएकाहरूले आफ्ना आकांक्षा, प्रश्न र ध्येय पूरा नहुँदा सभापतिले गर्दा भनिदिने गरिएको छ। सभापतिले राखेको कुरामा मन पर्‍यो भने समर्थन गरेर हिंड्यो, मन परेन भने विधानका प्रसंग ल्यायो। पदाधिकारीमा मात्रै होइन, यो विषयमा केन्द्रीय सदस्यहरूको व्यक्त’अव्यक्त गुनासो छ। यो गुनासो पदाधिकारी र सभापतिलाई पनि बोध भएको छ।

निर्वाचन, संसद, राष्ट्रिय एजेण्डा जोडेर केन्द्रीय समितिको बैठक सर्दै आएको छ। त्यही एजेण्डाका लागि बैठक बस्नुपर्ने थियो।

बैठक बसेर विभाग गठन, भ्रातृ संस्थाको पूर्णता, केन्द्रीय समितिको पूर्णता दिने वा बैठक अघि तिनीहरूको निर्णय हुनुपर्नेमा पदाधिकारी बीचमै सरसल्लाह भइरहेको छ। त्यही सरसल्लाहका कारणले केन्द्रीय समिति बैठक बस्नमा विलम्ब भइरहेको छ।

सभापति विधान बाहिर जानुभयो भनेर जसले भन्दै हुनुहुन्छ उहाँहरूलाई केन्द्रीय सदस्यहरूले विधान अनुसार तपाइँहरू आउनुस् न भन्दै हुनुहुन्छ। केन्द्रीय कार्यसमितिको बैठक माग गरिरहनुभएको छ।

शेरबहादुर देउवा पहिलो पटक सभापति बनेपछि विधान विपरित चलेको गुनासो आइरहेकै छ। अहिले उही प्रवृत्ति दोहोरिएको त हो नि ?

हामी थाहा पाएर, नपाएर वैधानिक प्रक्रिया भन्दा बाहिर गएर सहमतीय प्रक्रियामा प्रवेश गरिसकेका छौं। सुरु-सुरुमा पदाधिकारी साथीहरूलाई त्यो प्रक्रिया रमाइलै लाग्यो। हाम्रो निर्णय प्रभावकारी भयो भन्ने लाग्यो। विस्तारै उहाँहरूको कुरा चुक्न र छुट्न थाल्यो, उहाँहरूले चाहे अनुसारका विषयले प्रवेश पाएनन्। अनि बल्ल विधानको खोजी हुन थालेको हो।

विधानको खोजी हुनु राम्रो कुरा हो। सभापतिसँग मैले बारम्बार अनुरोध गर्दै आएको छु। विधान भन्दा बाहिर गएर सहमतीय कुरा खोज्दा नहुन सक्छ। कुनै बेला सहमति घर परिवारमै त हुन्न। सहमति हुन नसकेका बेलाका लागि त विधानको व्यवस्था गरेको हो।

त्यसैले निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन र धेरै विषयलाई समयभित्रै टुंग्याउनका लागि विधानको सहारा नलिई हुँदैन। विधानलाई व्यावहारिक उपयोग नगरिकन हुँदैन। विधानको उपयोग गर्ने वित्तिकै यी सबै गुनासो र समस्या समाधान हुन्छन्।

महाधिवेशन भएको डेढ वर्ष भयो। यो अवधिमा कांग्रेस सही ट्रयाकमा हिंडेको छ भन्ने तपाईंको निष्कर्ष हो ?

कांग्रेस चाहिं सही ट्रयाकमा हिंडेको छ। सही ट्रयाक हो कि होइन भन्नका लागि १-२ वटा मापदण्ड हुन्छन्। नीतिगत रूपले हामी सही ट्रयाकमा छौं। हाम्रा कार्यक्रमहरू ट्रयाकमा छन् कि छैनन् त भन्दा क्रमिक रूपमा ट्रयाकमै छौं।

जब हामी प्रक्रियामा प्रवेश गर्छौं नि अपूर्ण देखिन्छौं। अरू दलको ३-४ सय सदस्यीय भएर पनि विधान अनुसार बसेकै देखिन्छ। कांग्रेसको १६९ जनाको बैठक बस्न त्यति समस्या छैन।

राजनीतिक दल भनेकै नागरिकसँग डे टु डे बस्नैपर्छ। जनताका समस्या र आकांक्षासँग सके जनप्रतिनिधि नसके पार्टी प्रतिनिधि ठ्याक्क अगाडि उभिनुपर्ने बेलामा देशव्यापी कार्यक्रम लिएर जान सकेनौं। प्रक्रियागत त्रुटिका कारण यो काम हामीले गर्न सकेका छैनौं। विभागहरू समयमा नै गठन गर्न सकेको भए, ती समस्या समाधान हुनेथिए। विभाग गठन गर्न अल्मलिनुको कारणले पनि सहमतीय प्रक्रिया खोज्नु हो।

विभागमा आकांक्षा राख्ने साथीहरूले भन्नुहुन्थ्यो– फलानोलाई फलानो विभाग भनेर केन्द्रीय समितिबाट नै टुंगो लगाउने गरी गयौं भने समस्या हुँदैन। जसले गठन हुन ढिलो भयो भन्नुहुन्छ, सहमति हो भने गर्नुस् होइन भने विधान अनुसार गर्न दिनुस्।

लाखौं क्रियाशील सदस्य र लाखौं मतदातालाई अहिले हल्का निराशा जस्तो छाएको छ, त्यो निराशालाई आशामा ल्याउनुपर्ने अहिलेको आवश्यकता छ। सभापतिलाई दोष लगाउन, गाली गर्न, नङ्ग्याउन त हामीलाई सजिलो छ।

महाधिवेशन सकिएको ६ महिनाभित्र हुने भनिएको नीति महाधिवेशन किन हुन सकेन ?

पार्टीले कहिले कुन कार्यक्रम गर्ने भनेर वार्षिक क्यालेण्डर बनाउन चुकेका छौं। निर्वाचन, हिउँदको जाडो, वर्षा पछि भन्ने प्रचलन छ। यस्तो भन्दाभन्दै कांग्रेसका अधिकांश कार्य उधारोमा छन्। त्यसले गर्दा असहजता भएको पक्कै हो।

पहिले पहिलेका महाधिवेशनमा पनि नीतिमा बहस हुँदैनथ्यो भन्ने होइन। महाधिवेशनमा अरू भन्दा पहिले नीति पास गर्दथ्यौं। स्थानीय निर्वाचनको सँघारमा भएकाले महाधिवेशन छोटो गर्ने यसपटक सहमति भयो। लामो समय बहस गर्न तयारी पुगेन। सर्वसम्मत केन्द्रीय समितिबाट नीति महाधिवेशन छुट्टै गर्ने निर्णय पारित भयो।

कांग्रेस ७५ वर्षको भएको छ। अहिलेको समय अनुसार, नेपालमा विकसित घटनाक्रम, विदेश मामिला लगायत विषयमा कांग्रेसले नीति बनाउनुपर्ने हुन्छ। कांग्रेसले लिने नीतिले प्रभावित पार्र्ने, आकर्षित गर्ने र उन्नति र प्रगति जोडिएको हुन्छ।

हाम्रो नीतिका बारेमा बृहत् छलफल गर्न र समयसापेक्ष बनाउने कुरामा हामी सहमत छौं। अनौपचारिक छलफलका क्रममा चाँडै नै नीति महाधिवेशन गर्ने कुरा भएको छ।

महाधिवेशन नभएको वर्ष महासमितिको बैठक बस्नुपर्ने विधानमा व्यवस्था छ। महासमिति बैठक पनि बस्नुपर्ने कारणले नीति महाधिवेशन हुन सक्दैन भन्ने पनि पनि सुनिन्छ नि ?

महाधिवेशन हुन नसक्दा महासमिति बैठक बस्ने परिकल्पना गरेका हौं। त्यसो किन भनिएको भन्दा, महाधिवेशनको विकल्पमा महासमिति बैठक भनियो भने त्यो अलि दुराशययुक्त हुनेथियो। महाधिवेशन गरेका बाहेकका वर्षमा गर्ने भनेर विधानमा त्यो व्यवस्था राखियो।

पार्टीले कहिले कुन कार्यक्रम गर्ने भनेर वार्षिक क्यालेण्डर बनाउन चुकेका छौं। निर्वाचन, हिउँदको जाडो, वर्षा पछि भन्ने प्रचलन छ। यस्तो भन्दाभन्दै कांग्रेसका अधिकांश कार्य उधारोमा छन्। त्यसले गर्दा असहजता भएको पक्कै हो।

नीति महाधिवेशनकै काम महासमिति बैठकले गर्न नसक्ने होइन। तर, नीति महाधिवेशनको ठाउँमा महासमिति बैठक गर्ने बारे सोचिसकिएको भने छैन। नीति महाधिवेशन र महासमिति बैठक जे भनिए पनि गर्ने कुरा चाहिं उही हो।

महासमिति बैठकमा पनि नीतिगत, विधान संशोधनमा छलफल गर्न सक्छौं। त्यसो हुँदा, नीति महाधिवेशनका लागि महासमिति बैठक हुन नसक्ने होइन। अहिले चाहिं हामी अनौपचारिक रूपमा नीति महाधिवेशनकै बारेमा छलफल गरिरहेका छौं।

नीति महाधिवेशन गर्दा ४७ सय प्रतिनिधि हुन्छन्। बर्खा पनि लाग्दैछ। प्रतिनिधिको आकार घटाउन महासमिति बैठक गर्न नसकिने होइन। नीति महाधिवेशनको विकल्पमा महासमिति बैठक गर्ने बारे पार्टी नेतृत्वले अहिलेसम्म सोचिसकेको छैन।

पार्टी कमजोर भएको निक्र्योल सहित नेताहरूको एउटा समूह रूपान्तरणको अभियान लिएर प्रदेशप्रदेश पुगेको छ। संस्थागत रूपमा निर्णय छैन, यसलाई पार्टीले कुन रूपमा लिएको छ ?

रूपान्तरण अभियान भनिएको कार्यक्रम पार्टीको औपचारिक कार्यक्रम भित्र पर्दैन। केही साथीलाई पार्टी चलाउने खराब हुन् भन्ने मनमा लाग्यो। पार्टीमा निराशा बढ्यो, त्यसका लागि नेतृत्व लिनुपर्छ भन्ने केही साथीलाई लाग्यो होला। केही साथीहरूलाई म नै जान्ने हुँ भन्ने लाग्यो।

पार्टीका गतिविधिका विषयमा राम्रा नराम्रा, कहीं आकर्षक र कहीं आक्रामक शैलीबाट विचार राखेर उहाँहरू हिंड्दै हुनुहुन्छ। मेरो विचारमा रूपान्तरण अभियानको नाममा भएको कार्यलाई नेतृत्वले समयमै सम्बोधन गर्नुपर्दछ।

रूपान्तरण अभियानले पार्टीमा ऊर्जा दिने उहाँहरूको तर्कमा संस्थापन पक्ष सहमत छैन ?

कोभिडले मान्छे मर्ने वा बिरामी हुने सबैलाई थाहा थियो। तर, मरेका मान्छेको खबर बढी सुनाइदिएपछि आत्मा कमजोर हुने हुन्छ। निराशा छाएको बेलामा केही पनि भएन भन्दै रूपान्तरण अभियानको नाममा थप निराशा बाँड्दै हिंड्दा पार्टीमा ऊर्जा थपिंदैन। झन् निराशा बढाउँछ। पार्टीलाई फाइदा पुगे जस्तो मलाई लागेको छैन।

 पार्टीहित विपरित छ भने किन यस विषयमा निर्णय लिन सक्नुभएन ?

यो कार्यक्रम रोक भनेर निर्देशन होइन नि ! केन्द्रीय समितिले निर्णय नगरेका यस्ता समानान्तर कार्यक्रम गर्न उपयुक्त हुँदैन। पार्टीको केन्द्रदेखि तलसम्म कसैले निर्णय गरेको छैन। त्यसमा संलग्न पनि छैनन्। असन्तुष्ट मनबाट आफूलाई नै विज्ञ ठानिएर गरिएका कार्यक्रम हुन् यी। पार्टीले कि त यसलाई मूलधारमा ल्याउनुपर्दछ कि समीक्षा गरेर बन्द गर्नुपर्दछ।

कार्यकर्ताबाट आएका सुझाव नसुन्ने-नलिने भन्ने हुँदैन। पार्टीका साथीहरूले ती सुझाव दर्ता गर्नुभयो भने निषेध गर्ने कुरा पनि हुँदैन। औपचारिक निर्णयबाट नगरिएको कार्यक्रम भएकाले अफिसियल डकुमेन्ट हुन सक्दैन।

संस्थागत निर्णयबाट नगरिएको कार्यक्रम भए पनि कुनै केन्द्रीय सदस्य वा पदाधिकारीले तलबाट आएका कुराहरू ल्याउनुभयो भने त बैठकमा आउने भयो नि !

अभियानको नाममा हिंड्नुभएका साथीहरूको प्रस्तुति फरक होला। तर, त्यहाँ उठिरहेका कुराको फिडब्याक त हामीले पनि लिएका छौं। मनन पनि गरिराखेका छौं। समीक्षा हुँदै गर्दा राम्रा कुरा त आइहाल्छन् नि !

पार्टीभित्र अब सुधार चाहने र सुधार गर्न नदिने मात्रै समूह रहेको कतिपय नेताको भनाइ आउन थालेको छ। परम्परागत समूह अब सकिएका हुन् ?

गुट हुनुहुँदैन भनेर ‘भएका चाहिं हुनुभएन’ अर्को नयाँ गुट बनाउनुपर्छ भनेको बुझें मैले। विद्यमान गुटहरू काम लागेनन्। अर्को गुट बनाऔं भन्ने बाहेक के छ र त्यहाँ ? उहाँहरूले भन्न खोजेकै विद्यमान गुट मन परेन। भएका गुटहरूमा परिवर्तन चाहनुभयो।

जस्तो कि पार्टी कार्यालय मन परेन भनेर यो राम्रो छैन अर्को ठाउँमा बनाउँ भने जस्तै हो। पार्टी कार्यालय नबनाऔं भन्ने त होइन नि ! गुट नबनाऔं भन्ने चाहिं नरहेछ। अहिलेका गुटले सुधार चाहेनन्, अर्को गुट बनाऔं भन्ने अर्थ लाग्ने गरी प्रस्तुत भएको देखिन्छ।

गुटगुटका बीचमा अर्को गुट थप्ने जस्तो स्थिति देखा परेको छ। कांग्रेसभित्र समूह, उपसमूह भइराखेकै छन्। नेतृत्व, सभापति, पदाधिकारीले किन यस्तो भयो भनेर सोध्नुपर्छ। सुध्रन नचाहने व्यक्ति संसारभरि कोही होलान् र ? जतिसुकै अल्छी मान्छे भए पनि हेल्थ कन्सियस त हुन्छ नि !

हुन सक्छ, अल्छी लागेको होला। खुट्टा दुःखेको होला। अथवा, फुर्सद नभएको होला। सुधार नचाहने त कोही छँदै छैन। सुधार चाहने जसले भनिरहनुभएको छ, केमा सुधार भन्ने हुन्छ। नीतिगत, कार्यक्रमिक, विधिगत सुधार होला। परिवर्तन गर्छु भनेको पार्टीमा परिवर्तन हुन्छ नै।

यो संसदमा ७८ वर्ष र २८ वर्षका सांसद कांग्रेसकै छन्। त्यो परिवर्तन वा सुधार होइन ? संवैधानिक राजतन्त्र मान्ने कांग्रेस गणतन्त्र मान्ने भयो। एकात्मक राज्य व्यवस्था मानिरहेको कांग्रेसले संघात्मक प्रणाली मान्यो। मुलुकमै सबैभन्दा पहिले कांग्रेसले समावेशी पार्टी संरचना बनायो। यो बीचमा भएका सबै परिवर्तनको वाहक कांग्रेस हो। यसलाई परिवर्तन नभनेर के भन्ने ?

प्रक्रियागत सुधारका लागि पनि सभापति बाधक बन्नुभयो भन्ने असन्तुष्टि देखिएको छ नि ?

कार्यसमितिले भनेको कुरा सभापतिले मान्नुभएन वा बहुमत साथीहरूले भनेको कुरा इन्कार गर्नुभयो भने सभापति बाधक हो। विधान कार्यान्वयनका लागि यो दफा मान्दै मान्दिनँ भन्नुभयो भने बाधक हो। विभाग गठन, कार्यसमितिलाई पूर्णता, भ्रातृ संस्थाको पूर्णता दिने कुरामा आजसम्म मान्नुभएन भन्ने आएको छैन।

भ्रातृ संस्थामा एक जना मात्रै किन बनाएको भन्न सबै जना सभापतिकहाँ पुग्नुभएको छ। सभापतिकहाँ पुग्नेले एक जनाले मात्रै भ्रातृ संस्था चल्छ ? विभाग खै ? गठन गर्नुपर्दैन ? भन्नुहुन्छ। सभापतिले १-२ दिन पख, फलानोलाई भनेको छु; फलानोलाई भनेको छु भन्नुहन्छ। सभापतिले सहमति गर्न प्रयत्न गर्दागर्दै विलम्ब भएको हो।

सभापति बाधक होइन, उहाँले लिएको विधिले आफैं अप्ठ्यारोमा चाहिं पर्नुभएको छ। वैधानिक विधि भन्दा बाहिर गएर सहमतीय विधिको प्रयत्न गर्दै हुनुहुन्छ। त्यसको उद्देश्य छ। वैधानिक विधिमा जाने वित्तिकै बहुमत, अल्पमतमा जानुपर्‍यो। बहुमतमा निर्णय गर्न १३औं महाधिवेशन पछि केहीमा खोज्दा बहुमतको निर्णय गरेर पेल्न खोज्ने ? भन्दै प्रश्न उठाउनुभयो। त्यो कुरा सभापतिको मानसपटलमा झल्झली छ। बहुमतीय प्रणालीमा जानु भनेको केही साथीहरूलाई असहज बनाउनु हो भन्नेमा सभापति स्पष्ट हुनुहुन्छ। सहमतिमा निर्णय गर्छु भन्नुभएको छ।

सभापतिको कार्यशैली र क्षमताले कार्यकर्तामा निराशा तथा मतदातामा वितृष्णा पैदा भएकाले उहाँले बाटो खालि गरिदिनुपर्छ भन्ने मत पनि पार्टीमा उठ्न थालेको छ नि ?

एउटा वडाको साथी आफू काम नगरेर उसको अकर्मन्यताको दोष सभापतिलाई लगाउँछ। एउटा चौकीको इन्स्पेक्टरले चोर पक्रन सकेन भने आईजीपीलाई दोष लगाए जस्तै अवस्था हो, यो।

भ्रातृ संस्थामा एक जना मात्रै किन बनाएको भन्न सबै जना सभापतिकहाँ पुग्नुभएको छ। सभापतिकहाँ पुग्नेले एक जनाले मात्रै भ्रातृ संस्था चल्छ ? विभाग खै ? गठन गर्नुपर्दैन ? भन्नुहुन्छ। सभापतिले १-२ दिन पख, फलानोलाई भनेको छु; फलानोलाई भनेको छु भन्नुहन्छ। सभापतिले सहमति गर्न प्रयत्न गर्दागर्दै विलम्ब भएको हो।

पार्टीगत संरचना किन बनाएको त ? जनता कहाँ सीधै जाने त केन्द्रीय सभापति होइन। नगर, वडा सभापतिहरू हो नि ! एकले अर्कालाई आरोप लगाएर राख्ने र फाल्ने होइन। हामी सबै एउटै डुंगामा छौं। उत्साह साथ जनतामा सुखद् सन्देश प्रवाह गर्नुपर्छ।

सर्वाधिकार सभापतिमा हुने अनि जिम्मेवारी चाहिं उहाँले नलिने हुँदा यो समस्या उत्पन्न भएको केही नेताहरूको ठम्याइ छ। उहाँहरूको बुझाइ गलत हो र ?

भ्रातृ संस्थाको कार्यसमितिमा कति संख्या र क-कसलाई बनाउने बनाउनुस् भनेर सभापतिले भनिदिनुभयो। मेरो नाम पनि नजोड्नुस् र बाधक पनि नसम्झनुस् भन्नुभयो।

भ्रातृ संस्थाको पूर्णता तपाईंहरूले गर्नुस् भनेर पदाधिकारीलाई जिम्मा दिनुभएको हो। सभापतिले साउनमा पदाधिकारीलाई जिम्मेवारी दिनुभएको हो।

साउन मसान्तभित्र गर्ने भनिएको अहिले जेठ मसान्त पुग्न लाग्यो। एक महिना धेरै भयो, एक सातामा गर्नुपर्छ भनेर त्यो बेला धेरै कराउने म नै थिएँ। सबैतिरको नाम आउनुपर्छ, साउनभरिमा गरौं भन्ने पदाधिकारीहरू हुन्। अहिले उनीहरूलाई सोध्दा अँ त्यतिबेला भ्याइएन, गरौंला नि भन्नुहुन्छ।

ती साथीहरू नै फेरि आरोप सभापतिलाई लगाउँछन्। निराशा छाएको एकतातिर हामीले नै समाचार सम्प्रेषण गरिरहेका छौं। निराशा छाउने प्रक्रियाको आफैं पात्र पनि बनिरहेका छौं। त्यस्तो प्रवृत्ति देखाउन हुन्न। एक ठाउँ बसेर बैठकमा भनाभन, बाझाबाझ गर्ने हो भने त्यही गर्नुपर्दछ। तर विधान, निर्णय प्रक्रिया भित्र रहेर गर्नुपर्दछ।

यसरी एकअर्कालाई गाली गरेर, आरोप लगाएर त आफू ठूलो भइँदैन। आफ्नो क्षमता देखाएर हुने हो। पार्टीका लागि सबै साथी उत्तिकै मूल्यवान्, जिम्मेवार हुनुहुन्छ। कसैको इतिहास लामो कसैको छोटो होला। सबैको समान हैसियत छ पार्टीभित्र। आरोप-प्रत्यारोप भन्दा पनि सहकार्यको आवश्यकता छ।

तपाईं महत्वपूर्ण विभागमा जिम्मेवारी पाउनेमा पर्नुहुन्छ। भ्रातृ संस्थाले पूर्णता पाउन नसक्दा कार्यकर्तामा असन्तुष्टि सुनिन्छ। भ्रातृ संस्थाले कहिलेसम्म पूर्णता पाउँछन् ?

निर्वाचन अघि नै सबै भ्रातृ संस्थालाई पूर्णता दिने भनेका थियौं। योग्यता पुगेका, उमेरले भ्याएका धेरैभन्दा धेरै साथीलाई समेटेर निर्वाचनमा सेना जस्तो भएर खटाउने भन्ने थियो। हाम्रो त्यही धारणाकै कारणले साउन मसान्तसम्म पूर्णता दिने गरी समयावधि तोकिएको हो। तर, त्यतापट्टि कसैको ध्यान गएको छैन।

हेर्नुहोस् भिडियो :

फोटो र भिडियो  : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?