+
+

‘लम्पी स्किन’को महामारी ७४ जिल्लामा फैलियो, ४ महिनामा मरे साढे ९ हजार पशु

घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ले महामारीको रुप लिएको छ । नेपालमा पहिलो संक्रमण देखिएको झण्डै तीन वर्षको अवधिमा ७४ जिल्लामा यस्तो रोग फैलिएको सरकारी तथ्याङ्‍कले देखाएको छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० जेठ २६ गते १९:४४

२६ जेठ, काठमाडौं । घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ले महामारीको रुप लिएको छ । नेपालमा पहिलो संक्रमण देखिएको झण्डै तीन वर्षको अवधिमा ७४ जिल्लामा यस्तो रोग फैलिएको सरकारी तथ्याङ्‍कले देखाएको छ ।

पछिल्ला केही महिनामा यसले महामारीको रुप ग्रहण गरेको पशु सेवा विभागले जनाएको छ । विभागकाअनुसार धादिङ, मनाङ, मुस्ताङबाहेक देशैभरका ७४ जिल्लामा यो रोग फैलिएको पुष्टि भएको छ । बिहीबार साँझसम्म देशभरका ५ लाख गाई, भैंसी, गोरु, राँगो र बाच्छाबाच्छीमा यस्तो संक्रमण देखिएको छ । संक्रमणबाट ९ हजार ७ सय गाई, भैंसी र बाच्छा-बाच्छी मरेको विभागका सूचना अधिकारी एवम् वरिष्ठ पशुरोग विशेषज्ञ डा.चन्द्र ढकालले जानकारी दिए ।

‘लम्पी स्किनका कारण ५ लाख बढी पशुहरु संक्रमित भएको र ९ हजार ७ सयको मृत्युको विवरण प्राप्त भएको छ,’ ढकालले भने, ‘गत फागुनदेखि यो महामारीको रुपमा देशैभर फैलियो । अझै फैलिरहेको विवरणहरु आएका छन् ।’

विभागका अनुसार नेपालमा गाई, भैंसी, बाच्छा–बाच्छी, गोरु, पाडा-पाडीमा यो रोग देखिएको छ । सुत्केरी अवस्थामा रहेका पशु, रोगी एवम् बिरामी पशु र धेरै दूध दिने पशुहरुमा भएको संक्रमणले ज्यान लिएको विभागले जनाएको छ । भारत, बंगलादेश, भियातनाम र चीनमा देखिएको यो रोग २०७७ असारमा मोरङको सुन्दर हरैजा–११ मा पहिलोपटक देखिएको थियो । सो बेला करिब ३ हजार पशु लम्पी स्किनबाट संक्रमित भएकामा त्यसयता नेपालका सबै भू-भागमा रोग फैलिएको विभागले जनाएको छ ।

नेपालमा पहिलो संकम्रण देखिएको झण्डै ३५ महिनामा अहिले महामारीको रुपमा संक्रमण फैलिएको विभागले जनाएको छ । रोगको मृत्यु दर करिब एक प्रतिशत हाराहारी रहेको विभागले जनाएको छ । यो रोग घरपालुवा पशुबाट जंगली पशुमा सरेको भए पनि अहिलेसम्म मानिसमा सरेको कुनै प्रमाण नभएको विभागले जनाएको छ ।

रोगका लक्षण

विभागका अनुसार यस्ता रोगको संक्रमण लागेका पशुहरुलाई उच्च ज्वरो आउने, नलिका ग्रन्थ सुनिने, शरीरमा गिर्खा र डल्लाहरु आउने हुन्छ । यस्तो खटिराहरु नाक मुख, शरीर, घाँटी र थुनमा धेरै आउँछ । घाउहरु बिस्तारै दुख्दै जाने, घाउ पाक्ने, अल्सर हुने हुन्छ ।

यस्तो संक्रमणका कारण दूध उत्पादन घट्ने र संक्रमित पशुको मृत्यु नै हुने विभागले जनाएको छ । नेपालमा लम्पी स्किनका कारण मृत्यु हुनेमा सुत्केरी पशु, बाच्छा-बाच्छी र पाडापाडीहरु पीडित भएको विभागले जनाएको छ ।

कसरी फैलिन्छ ?

यो रोग रगत चुस्ने किरा प्रजातिबाट एक पशुबाट अर्को पशुमा सर्ने गरेको विभागको भनाइ छ । लामखुट्टे, भुसुना, किर्ना, रगत चुस्ने झिंगाबाट अहिलेसम्म यो रोग फैलिएको पाइएको डा. ढकाल बताउँछन् । यो रोगलाई सीमाविहीन पशुरोग भनिने उनी बताउँछन् ।

दूध र प्राकृतिक सम्पर्क, सुई, रोगी पशुलाई टोकेको लामखुट्टेले अर्को स्वस्थ पशुलाई टोक्दा, रोगी र स्वस्थ पशु एक अर्कामा सम्पर्कमा आउँदा, रोगी ठाउँबाट मानिसले भाइरस बोकेर स्वस्थ पशु भएको ठाउँमा पुग्दा पनि रोग फैलिन सक्ने विभागले जनाएको छ । घर तथा समुदायका पशुमा यस्तो रोग देखिएमा तत्काल प्राथमिक उपचार थाल्न र नजिकको पशु स्वास्थ्यकर्मीहरुको सल्लाहमा पुग्न विभागले किसानहरुलाई आग्रह गरेको छ ।

रोग संक्रमण देखिहालेमा तत्काल ज्वारो कम गर्ने सिटामोल प्रयोग गर्न, बिरामी पशु र स्वस्थ पशु फरक-फरक राख्न, घाउहरु तत्काल सफा गर्न र स्वास्थ्यकर्मीको सहायता लिन विभागले भनेको छ । साथै बिरामी पशुलाई नरम खाना र भिटामिनको मात्रा बढाएर रोग प्रतिरोधी क्षमता विकास गर्न पनि विभागले सुझाएको छ ।

रोग नियन्त्रणमा सरकारी निकाय अलमल

लम्पी स्किन महामारीले सिंगो मुलुक आक्रान्त हुँदा यसको नियन्त्रणका लागि काम गर्नुपर्ने सरकारी निकाय भने निकै कमजोर देखिएका छन् । संघीय संरचनाका कारण स्थानीय तह, प्रदेश र संघको सरकारबीच कृषिको सूचना आदान प्रदानदेखि सबै खाले सहकार्य टुटेका कारण महामारी नियन्त्रणमा एकीकृत पहल हुन नसकेको पशु सेवा विभागले जनाएको छ ।

प्रदेश र स्थानीय तहमा यस्ता महामारी न्यूनीकरणका लागि बजेट र अन्य स्रोत पहिल्यै जाने र ती निकायहरु संघका मन्त्रालय र विभागसँग उत्तरदारी हुनु नपर्ने कारण ठूलो समस्या देखिएको विभागले जनाएको छ ।

स्थानीय तहमा बजेट हुने तर त्यहाँ रोगको गाम्भीर्यता र जटिलता बुझ्ने जनशक्ति नहुने कारणले लम्पी स्किन महामारी फैलिएको पनि विभागको आरोप छ । रोग फैलिएको सार्वजनिक गुनासोपछि बल्ल विभागले डेडिकेटेड रुपमा रोगको फैलावटको विवरण लिएको र उपचार र रोकथामका उपायबारे सहकार्य गरिरहेको ढकालले बताए ।

विभागले रोग नियन्त्रणका लागि सबै स्थानीय तहहरुलाई भर्चुअल मिटिङ गरेर नमूना संकलन, रोग निदान र उपचारका लागि प्राविधिक सहयोगका लागि उपचार गाइडलाइन सूचना जारी गरिरहेको विभागले जनाएको छ ।

रोग नियन्त्रणका लागि थप काम गर्न विभागसँग बजेट नभएको पनि ढकालले बताए । खोपलगायतका औषधोपचारका लागि स्थानीय तह र निजी पशु औषधालयहरुलाई सहजीकरण गरिरहेको विभागले जनाएको छ । धेरै रोग देखिएको ३ सय ४६ वटा पालिकालाई पशु चिकित्सक नै करारमा राख्ने गरी आर्थिक स्रोत जुटाउन पहल गरेको विभागले जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?