+
+
Shares

फेरि फैलिँदै लम्पी स्किन, कोशीका २२ हजार बढी गाईभैँसी संक्रमित

कोशीमा हालसम्म २२ हजार १ सय २२ गाईभैँसीमा लम्पी स्किन संक्रमण देखिएको छ । संक्रमित पशुमध्ये ६ सय ३७ को मृत्यु भइसकेको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ साउन १८ गते २१:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साढे २ महिनामा देशभरि २२ हजार २ सय ५६ गाईभैँसी लम्पी स्किन रोगबाट संक्रमित भएका छन् भने ६ सय ३६ पशु मरेका छन्।
  • कोशी प्रदेशमा सबैभन्दा बढी २२ हजार १ सय १२ पशु संक्रमित भएका छन् र ६ सय ३७ को मृत्यु भइसकेको छ।
  • कोशी प्रदेशमा लम्पी स्किन रोगका कारण १ अर्ब ८ करोड रुपैयाँ बराबर आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।

१८ साउन, काठमाडौं । साढे २ महिना अवधिमा देशभरि लम्पी स्किन रोगबाट २२ हजार बढी गाईभैँसी संक्रमित भएका छन् । पशुसेवा विभागका अनुसार २२ हजार २ सय ५६ गाईभैँसी लम्पी स्किन रोगबाट संक्रमित भएका हुन् । यो रोगका कारण हालसम्म ६ सय ३६ गाईभैँसी मरेको विभागले जनाएको छ ।

हालसम्म देशभरिबाट प्राप्त विवरण अनुसार संक्रमितमध्ये १२ हजार ३ सय २ वटा पशु उपचारपछि निको भएको र ७ हजार ८ सय ६६ अझै सक्रिय संक्रमित रहेका विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठले जानकारी दिए ।

सबैभन्दा बढी लम्पी स्किन रोगको संक्रमण कोशी प्रदेशमा भएको छ भने लुम्बिनी, गण्डकी र मधेस प्रदेशमा मध्यम छ ।

कोशी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ११ जिल्लामा गाईभैँसीमा संक्रमण देखिएको छ ।

कोशी प्रदेशका झापा, मोरङ, इलाम, सुनसरी, उदयपुर, खोटाङ, धनकुटा, पाँचथर, भोजपुर, ताप्लेजुङ र तेह्रथुममा संक्रमण फैलिएको छ । तर संखुवासभा, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा भने संक्रमण देखिएको छैन ।

निर्देशनालयमा कार्यरत पशु चिकित्सक डा. पुरुषोत्तम पाण्डेका अनुसार कोशीमा हालसम्म २२ हजार १ सय २२ गाईभैँसीमा लम्पी स्किन संक्रमण देखिएको छ । संक्रमित पशुमध्ये ६ सय ३७ को मृत्यु भइसकेको छ ।

तथ्यांक अनुसार कुल संख्यामध्ये कोशीमा संक्रमित राँगा र भैँसी संख्या २ सय २४ छ भने गाईगोरु संख्या २१ हजार ८ सय ९८ छ ।

सबैभन्दा धेरै झापामा १४ हजार ६ सय ९२ पशु रोगबाट प्रभावित छन् भने मोरङमा २ हजार ४ सय ३६ र सुनसरीमा १ हजार ७ सय ५७ पशु प्रभावित छन् ।

कुल संख्यामध्ये कोशीमा संक्रमित राँगा र भैँसी संख्या २ सय २४ छ भने गाईगोरु संख्या २१ हजार ८ सय ९८ छ ।

यस्तै इलाममा २ हजार ४२, भोजपुरमा ९७ र सबैभन्दा थोरै तेह्रथुममा ५ र पाँचथरमा १२ वटामा लम्पी स्किन संक्रमण देखिएको छ ।

पशु चिकित्सक डा. पाण्डेले ११ साउनपछि एक साता अवधिमा १ हजार ५ सय ३२ पशु रोगबाट प्रभावित भएको बताए । एक सातामै यो रोगका कारण ८२ पशु मरेका छन् ।

कोशी प्रदेशमा हालसम्म ३ लाख १२ हजार ६ सय ४१ डोज खोप लगाइएको छ ।

लम्पी स्किन रोगका कारण कोशी प्रदेशमा मात्रै १ अर्ब ८ करोड रुपैयाँ बराबर आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।

साना पशुमा रोग संक्रमण बढ्यो

निर्देशनालयका निर्देशक सुशीलकुमार अधिकारीले कोशी प्रदेशमा २ महिना अघिदेखि लम्पी स्किन रोग देखा परेको बताए । पछिल्लो चरणमा भने रोगको प्रकोप घट्दै गएको उनको दाबी छ ।

‘अहिले रोग धेरै नै नियन्त्रणमा आइसकेको छ, ठूला पशुमा कम र साना पशुमा रोगको संक्रमण बढी छ,’ उनले भने, ‘विगत २ महिनाको तुलनामा घट्दो क्रममा छ ।’

उनले स्थानीय तहमार्फत निःशुल्क लम्पी स्किनविरुद्धको खोप दिइएको र प्रत्येक जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत उपचारमा सहयोग गरिरहेकाले संक्रमण कम हुँदै गएको दाबी गरे ।

यस्तै रुपन्देही, नवलपरासी, चितवन, मकवानपुर, धनुषा, सप्तरी लगायत जिल्लामा पनि लम्पी स्किन रोगको संक्रमण उच्च देखिएको छ ।

विभागका वरिष्ठ पशु चिकित्सक डा. श्रेष्ठका अनुसार २०८१/८२ मा विभागले लम्पी स्किनविरुद्ध १४ लाख ६० हजार डोज खोप किनिएको थियो । त्यसमध्ये रोग नियन्त्रणका लागि हालसम्म १४ लाख ३९ हजार डोज खोप वितरण भइसकेको छ । अब विभागसँग २१ हजार मात्रै खोप वितरण गर्न बाँकी छ ।

पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले रोग नियन्त्रणका लागि सबैभन्दा पहिलो काम खोप वितरणको गरिएको बताए ।

उनका अनुसार खोप लगाउन नजिकैको पशु सेवा केन्द्र वा पालिकाको शाखामा सम्पर्क गर्न सकिने छ ।

‘विगतमा हामीले यस रोगविरुद्ध खोप लगायौं, खोप लगाएका पशुमा देखिएको छैन,’ महानिर्देशक तिवारीले भने, ‘अहिले खोप लगाउन छुटेका र साना पशुमा पुनः रोग देखिएको छ । र, खोप लगाउन छुटेका र ३–४ महिनाका साना बाच्छाबाच्छीमा यो रोग धेरै देखिएको छ ।’

उनका अनुसार अहिले खोप लगाउने काम भइरहेको छ । खोप लगाइसकेको एक डेढ महिनापछि मात्रै खोपले रोगबाट बचाउन काम गर्ने उनको भनाइ छ ।

लम्पी स्किन रोग पहिलो पटक नेपालमा २०७७ सालमा मोरङमा देखिएको थियो । यो रोग पहिलो पटक सुन्दर हरैँचा नगरपालिका–११ का पशुमा देखिएको थियो ।

परीक्षण क्रममा लम्पी स्किन रोग पुष्टि भएपछि पशु सेवा विभागले थप परीक्षणका लागि रोगी पशुका रिपोर्ट र नमुना अस्ट्रियाको भियनामा रहेको विश्व पशु स्वास्थ्य संगठनबाट मान्यताप्राप्त प्रयोगशाला पठाएको थियो ।

रुपन्देही, नवलपरासी, चितवन, मकवानपुर, धनुषा, सप्तरी लगायत जिल्लामा पनि लम्पी स्किन रोगको संक्रमण उच्च देखिएको छ ।

त्यहाँ पनि लम्पी स्किन प्रमाणित भएपछि साउन २०७७ मा विश्व पशु स्वास्थ्य संगठनले लम्पी स्किन रोग फैलिएका देशको सूचीमा नेपाललाई रोखेको थियो ।

विगतमा लम्पी स्किन रोगका कारण विशेषगरी अत्यधिक श्रममा खटिने गोरु, भर्खरै जन्मेका बाच्छाबाच्छी, पाडापाडी, गर्भवती र भर्खरै ब्याएका गाईभैँसी मर्ने गरेका थिए ।

दुई वर्षअघि ७७ जिल्लाका १५ लाख १९ हजार ७ सय ७९ पशुमा लम्पी स्किन संक्रमण देखिएको थियो । त्यो बेला किसानले ७४ अर्ब ६७ करोडको आर्थिक क्षति बेहोर्नुपरेको थियो ।

पशु चिकित्सा परिषद्को अध्ययन अनुसार एउटा स्वस्थ पशुमा संक्रमण भए ४९ हजार १ सय ३५ रुपैयाँ बराबर आर्थिक क्षति हुन्छ । नेपालमा ३१ लाख हाराहारीमा गाई र ४७ लाख भैँसी छन् ।

पशु चिकित्सकका अनुसार यो रोग संक्रमण हुँदा गाईभैँसीमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुनेजस्ता लक्षण देखापर्छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?