+
+

‘राजस्वमुखी बजेटले उद्योग क्षेत्र अस्थिर’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २७ गते ९:५८

२७ जेठ,बुटवल । रुपन्देहीउद्योग संघले संघीय सरकारले हालै ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट राजस्व र करमुखी मात्रै भएकाले उद्योग क्षेत्रलाई अस्थिर बनाएको बताएको छ ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ, रुपन्देहीसँगको सहकार्यमा भएको वजेटको समीक्षा कार्यक्रममा बजेटले स्वदेशी उद्योगको प्रवर्द्धनमा बेवास्ता गरेको संघले जनाएको छ ।

संघका अध्यक्ष माधवप्रसाद पौडेलले उद्योग क्षेत्रका समस्या समाधानका लागि बजेटमा उत्साहजनक विषयहरु नआएको बताए । सरकार परिवर्तन पिच्छे नीतिमा गरिने परिवर्तन र साना तथा मझौला उद्योगहरुको प्रवर्द्धनमा बेवास्ता गरिएको बताए ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ, रुपन्देहीका सचिव सगुण खनालले निश्चित व्यापारिक र औद्योगिक घरानाको स्वार्थ अनुकुलको वजेट आउने गरेकाले यसबाट राज्यको अर्बौं राजस्व गुमिरहेको टिप्पणी गरे ।

सरकारले फलामे छड उत्पादन गर्ने उद्योगहरुमध्ये स्पञ्ज र बिलेट्स आयातमा फरक भन्सार दर र अन्तशुल्कमा विभेद गर्दा बिलेट्सबाट छड उत्पादन गर्ने ९ वटा उद्योगहरु संकटमा परेको अध्यक्ष पौडेलले बताए । सरकारको विभेदकारी नीतिले अर्बौंको लगानी धरापमा परेको र हजारौंको रोजगारी गुम्ने अवस्थाआएको बताए ।

नेपाल उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले सरकार उद्योगी व्यवसायीहरुसँग कर र राजस्व कसरी बढी उठाउने कुरामा मात्र ध्यान दिएको तर उनीहरुलाई राहत र सुविधा दिने कुरामा सधै आँखा चिम्लने गरेको बताए ।

सरकारका कतिपय गलत नीतिले स्वदेशी उद्योगहरु धराशायी हुने अवस्थामा पुगेको गुनासो गर्दै बजेट कार्यान्वयनमा राज्यको कमजोरीले उद्योग क्षेत्रको विकास हुन नसक्ने बताए ।

छोटो समयमा सरकारले बजेट मार्फत गर्ने कतिपय नीति र कार्यक्रमले उद्योग क्षेत्रलाई अस्थिर बनाउने गरेको उद्योगीहरुको गुनासो छ ।

औद्योगिक विकासका लागि आवश्यक पर्ने नीति र कार्यक्रमलाई निश्चित अवधि र लक्ष्य बनाएर अगाडि बढाउने कुरामा ध्यान दिनु पर्ने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?