२७ जेठ, काठमाडौं । बिक्रम लामाको निर्णायक गोलको सहयोगमा शनिबार जावलाखेल युथ क्लवमाथि १–० को रोमाञ्चक जित निकालेपछि थ्रीस्टार क्लब रेलिगेसनबाट जोगिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सिजनको अन्तिम खेलमा थ्रीस्टारले जावलखेलमाथि संघर्षपूर्ण जित निकालेपछि ए डिभिजनमै आफ्नो स्थान सुरक्षित गरेको हो ।
बिक्रमले खेलको ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी क्षेत्रमा विक्रमलाई खराब ट्याकल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई बिक्रमले नै गोलमा परिणत गर्दै टोलीलाई रेलिगेसनबाट बचाएका हुन् ।
थ्रीस्टार २६ खेलमा ३२ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । थ्री स्टारको जितले विभागीय टोली एपीएफ क्लब भने रेलिगेसनमा परेको छ । २०६२ सालबाट ए डिभिजन लिग खेलिरहेको एपीएफ पहिलो पटक बी डिभिजनमा घटुवा भएको हो । जावलाखेलले २६ खेलमा ३७ अंक जोडेर चौथो स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ ।
लिग अन्तर्गत शनिबार नै दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले एक गोलको अग्रता उल्टाएर मनाङलाई ३–१ गोलले पराजित गरेको छ । मच्छिन्द्रको जितमा आफिज ओलावाले दुई र विमल घर्ती मगरले एक–एक गोल गरे ।
मनाङका विजय श्रेष्ठले १६ औं मिनेट सुरुवाती अग्रता निकालेका थिए । खेलको ८० औं मिनेटमा ओलावालेले गोल गर्दै मच्छिन्द्रलाई १–१ गोलको बराबरीमा ल्याउँदा ८६ औं मिनेटमा विमलले गोल गर्दै मच्छिन्द्रको अग्रता उल्टाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जित दिलाए । यस जितसँगै लिगको उपविजेता मच्छिन्द्रले सिजनको सुखद् अन्त्य गरेको छ । मच्छिन्द्रले २६ खेलमा ४५ अंक जोड्यो । मनाङले २६ खेलमा ३२ अंक जोड्यो ।
शनिबारकै अर्को खेलमा संकटा र न्युरोड टिम एनआरटीले १–१ को बराबरी खेल्दै सिजनको अन्त्य गरेका छन् । पहिलो हाफको इन्जुरी समयमा नेल्शन कोनफरले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८९ औं मिनेटमा बिक्रम धिमालले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याएसँगै खेल बराबरीमा टुङ्गिएको थियो । यस बराबरीसँगै संकटाले २६ खेलमा ३२ अंक जोडेको छ । एनआरटीले २७ खेलमा ३४ अंक जोड्दै सिजनको समापन गरेको छ ।
प्रतिक्रिया 4