+
+

दाम्पत्य जीवनमा यौनसुखको कुरा

करुणा कुँवर, मनोविद् करुणा कुँवर, मनोविद्
२०८० जेठ २८ गते १४:०६

दम्पतीबीच झगडा भइरहनु, मायाप्रेममा कमी आएको महसुस हुनु, स्वर सुन्नै झर्को लाग्नु विभिन्न कारण हुन सक्छन् । यसमा यौन असन्तुष्टि प्रमुखमध्ये एक कारण हुन सक्छ । नेपाली दम्पतीबीच आफ्नो यौन चाहनाबारे खुलेर अभिव्यक्त गर्ने परिपाटी पूर्ण रुपमा विकास भइसकेको छैन ।

इच्छाअनुसार यौन सन्तुष्टि परिपूर्ति हुन नसक्दा दम्पतीबीच असझदारी पैदा हुने कारण बन्छ । असन्तुष्ट यौनजीवनकै कारण सम्बन्धविच्छेद, यौनसाथी धेरै बनाउने र विवाहेत्तर सम्बन्धसम्मका अवस्था आएको धेरै सुनिन्छ ।

पहिले पहिले यौन जीवन निरस भए पनि सहेरै बस्ने हुँदा सम्बन्धमा उस्तो दरार आइहाल्दैनथ्यो, तर अहिलेको आधुनिक समयमा सम्बन्धमा फाटो आउने बित्तिकै सम्झौता गरिहाल्न तयार नहुने  देखिन्छ । समाजमा यो  एउटा समस्याकै रुपमा देखिएको छ । तर यसबारे विरलै बहस हुने गर्छ ।

यो समस्याको कारण के त ?

यौनलाई सहजीकरण नगर्नु

यौनलाई सृष्टिलाई चलायमान राख्ने कुरा मात्र नभई दम्पतीबीच सुमधुर सम्बन्धको कोसेढुंगा पनि मानिन्छ । यौन जीवन सुखद् रहेका दम्पतीको ८० प्रतिशत सम्बन्ध बलियो पाइएको विभिन्न अध्ययनले देखाएको छ । सुखद् यौन जीवनले शारीरिकसँगै मानसिक स्वास्थ्य पनि बलियो बनाउन भूमिका खेल्छ । यौन जीवनलाई सुखमय बनाउन आपसी सद्भाव, माया, एकअर्काको इच्छामा विचार पुर्‍याउने, यौनका बारेमा खुलेर कुरा गर्ने आयाम पर्छन् ।

तर नेपाली समाजमा यौनबारे खुलेर कुरा गर्नुलाई छाडाको संज्ञा दिइन्छ । त्यसकारण यौन जीवन होइन, यौन स्वास्थ्यकैबारे धेरैमा अन्योल हुने गर्छ । फलस्वरूप, धेरैजसो दम्पती यौनसुख प्राप्त गर्न सक्दैनन् ।

परम्परागत विचारको ढाँचालाई नै मान्यता दिने धेरैजसो नेपाली दम्पती अहिले पनि आफ्नै जीवनसाथीसँग खुलेर आफ्ना चाहना प्रकट गर्न हिच्किचाउँछन् । पुरुषभन्दा बढी महिलामा यो समस्या देखिन्छ । जसले गर्दा धेरैजसो दम्पती यौन जीवनको पूर्ण आनन्द लिन असमर्थ हुन्छन् । त्यसैले कारण यौन तर अनेक बहाना देखाई विवाद हुने धेरैको देखिएको छ ।

पहिलेको तुलनामा अलि खुल्न थाले

समाज शिक्षित हुँदै गएको छ । व्यक्तिमा यौन स्वास्थ्यका बारेमा पनि चेतना बढ्दो छ । यस्तोमा पहिलेको तुलनामा अहिले यौन जीवनबारे खुलेर कुरा गर्ने, आसनको रोजाइबारे इच्छा प्रकट गर्ने, यौनजीवनलाई अझै सुमधुर बनाउन बेलाबखतमा लामो दूरीको यात्रा गर्ने गरेको देखिन्छ । तर गाउँघरमा भने अझै पनि खुलेर कुरा गर्न सक्ने वातावरण छैन । यौनका विषयमा पनि खुलेर चर्चा हुनुपर्छ वा यौन जीवन कस्तो हुनुपर्ने हो भन्नेबारे धेरै दम्पती अन्योलमा छन् । धेरैले त आफ्नो साथीसँग यौनको बारेमा कुरा गर्दा चरित्रमै औंला उठाउने हो कि भन्ने डरले आफ्ना कुरा अभिव्यक्त गर्न सकेका हुँदैनन् । यसले गर्दा चाहिएको र खोजेको जस्तो सन्तुष्ट लिन सकिरहेका हुँदैनन् ।

व्यस्तताले यौन जीवनमा असर

व्यस्त जीवनशैलीले दम्पतीको यौन जीवनमा असर पारिरहेको छ । काम, आर्थिकपाटो, परिवारको जिम्मेवारीले थिचिंदा मानिसले यौन जीवनलाई कम महत्व दिंदै गएको देखिन्छ । त्यससँगै चिन्ताले व्यक्तिमा डर, बेचैनी र तनाव बढाउँछ । यसले व्यक्तिमा यौनप्रतिको चाहनामा कमी गराउँछ । यौन सम्बन्ध कायम राखेमा पनि यौन व्यवहार अघि र पछि सोच्ने क्षमतालाई असर गर्छ ।

त्यति मात्र होइन अहिले हरेक कुरा डिजिटल भएपछि खाली समयमा आफ्नो पार्टनरसँग गुणस्तरीय समय बिताउनुको साटो मोबाइल र कम्प्युटरमै धेरै समय खर्चिरहेका हुन्छन् । यसले पनि यौनजीवनमा समस्या ल्याइरहेको छ ।

यौन व्यवहार कस्तो हुनुपर्छ ?

धेरैलाई यो शारीरिक सन्तुष्टिको मात्र कुरा हो भन्ने बुझाइले यौन सम्बन्ध बनाउँदा दिमागलाई पूर्ण तयार गराउँदैनन्, जुन अनिवार्य छ । दाम्पत्य जीवन होस् वा प्रेम जोडी सम्बन्ध कायम गर्नुअघिबाट नै एकअर्काबीच कुराकानी आदानप्रदान गर्ने, तारिफ गर्ने, यौनमा कसरी सन्तुष्ट लिन सकिएला भनेर छलफल गर्ने गर्नु आवश्यक छ । सम्मान पनि हुन उत्तिकै जरुरी छ ।

यससँगै यौन सम्बन्ध बनाउनुअघि शरीरका अंगहरुको प्रशंसा गर्ने, स्पर्श गर्ने, जीवनमा पार्टनरको महत्वको बारेमा चर्चा गर्ने, सहज र आनन्द हुने आसनबारे सोध्ने र सोहीअनुरुप सम्बन्ध राखेमा दुवै जनाले सन्तुष्टि पाउँछन् ।

यौन जीवनको प्रभाव दैनिकीमा पनि देखिने गर्छ । दम्पतीबीच विश्वासको वातावरण घरभित्र वा बाहिर पनि उत्तिकै सन्तुलनमा भए यौन जीवनमा मात्र नभई दैनिक कार्यमा सहजता र सरलता मिल्छ ।

(मनोविद् कुँवरसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?