+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ज्ञान र सीपमा ‘अपडेट’ हुनुहुन्न ? नत्र नर्सिङ लाइसेन्स नवीकरण गर्न पाइँदैन नि !

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० जेठ २९ गते १९:५६

२९ जेठ, काठमाडौं । ज्ञान, सीपका साथै पेशागत विषयलाई अभिवृद्धि गर्दै नर्सले निरन्तर पेशागत उन्नयन कार्यक्रमबाट ६ वर्षमा न्यूनतम ६० घन्टाको तालिम नलिए उनीहरूको लाइसेन्स नवीकरण नहुने भएको छ ।

नेपाल नर्सिङ परिषद्ले कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट (सीपीडी) लागू गर्ने भएपछि त्यस्तो अवस्था आएको हो ।

नेपालमा नर्सिङ सेवा प्रवाह गरिरहेका सम्पूर्ण नर्सको ज्ञान र सीपलाई अझ परिष्कृत गर्ने, नर्स र उपचाररत बिरामीको बीच उत्पन्न हुने असमझदारीलाई न्यूनीकरण गर्ने, संक्रमण रोकथाम तथा नियन्त्रण गर्न निरन्तर पेशागत उन्नयनका लागि सो कार्यक्रम ल्याइएको परिषद्ले जनाएको छ ।

हाल नर्सको लाइसेन्स ६/६ वर्षमा नवीकरण हुँदै आएको छ ।

परिषद्की अध्यक्ष सरला केसी स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी र सेवाउन्मुख बनाउनका लागि पनि नर्सको ज्ञान, सीपलाई अपडेट गराउनका लागि संस्थागत रूपमै तालिम दिन लागिएको बताउँछिन् ।

‘मेडिकल विज्ञान समयसँगै निरन्तर रूपमा अपडेट भइरहेको हुन्छ । त्यसकारण पनि नर्स ज्ञान, सीप र पेशागत विषयलाई निरन्तर अभिवृद्धि गरी समयानुकूल प्रशिक्षित भइरहनुपर्छ । जसले गर्दा बिरामीले गुणस्तरीय र प्रभावकारी सेवा पाउने छन्’, केसीले भनिन् ।

नर्सले ६ वर्षभित्रमा न्यूनतम ६० देखि १२० घन्टाको तालिम अनिवार्य रूपमा लिनुपर्नेछ । काम गरिरहेको स्वास्थ्य संस्था वा शिक्षण संस्थाले नै तालिम अनिवार्य रूपमा दिनुपर्छ । संवाद सीप, बेसिक लाइफ सपोर्ट, संक्रमण रोकथाम तथा बचाउ, मेडिकल नैतिकता, ज्ञानको अभिवृद्धि लगायत विषयमा तालिम दिइनेछ ।

यसले नर्सलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अब्बल साबित गर्नेछ ।

सीपीडी कार्यक्रम अनिवार्य रूपमा गर्नुपर्ने भनेर परिषद्ले सूचना जारी गरेपछि दर्ता भएका सबै नर्सले अनिवार्य रूपमा सहभागिता जनाउनुपर्ने हुन्छ ।

विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय कार्यशाला, गोष्ठी, सभा, सम्मेलन पनि मान्यता दिइने परिषद्ले जनाएको छ ।

तर, एकैचोटि उक्त तालिम भने लिन पाइँदैन । परिषद्को रजिष्टार शकुन्तला प्रजापतिका अनुसार कम्तीमा एक वर्षमा १० देखि २० घन्टा तालिम लिएकै हुनुपर्छ । त्यसपछि मात्रै लाइसेन्स नवीकरण हुनेछ ।

‘समय-समयमा विकास भएका ज्ञान, सीपसँग अब अपडेट हुनुपर्छ । हामीले संक्रमण रोकथामको अभ्यास नगरेको होइन । तर, कोरोनाले संक्रमणको बारेमा नयाँ कुरा सिकायो नि’ प्रजापति भन्छिन्, ‘एकपटक पढेपछि सधैंभर त्यही कुरा लागू हुँदैन । मेडिकल पेशामा धेरै परिवर्तन र अपडेट भइसकेको हुन्छ । त्यसकारण पनि समय-समयमा ज्ञान, सीपलाई परिष्कृत गर्दै लैजानुपर्छ ।’

अध्यक्ष केसीका अनुसार पछिल्लो समय गुणस्तरीय नर्सको उत्पादन घट्दै गएकाले पनि यस्ता प्रावधानको व्यवस्था गरिएको हो ।

नर्सिङ मेडिकल कलेजमा उचित सामग्री सहितका सीपको अभाव, राम्रोसँग सिकाउन सक्न प्रशिक्षकको कमी जस्ता कारणले धेरै नर्सले यस्तो सीप सिक्न पाएका हुँदैनन् ।

‘शिक्षण संस्थामा अध्ययन गर्ने क्रममा सिक्नुपर्ने कुरा सिकेका हुँदैनन् । त्यसलाई पनि अभिवृद्धि गर्ने र नयाँ-नयाँ रोग, नर्सको व्यावसायिक सीप, दक्षता, सक्रियता र संलग्नतालाई बढाउनका लागि अनिवार्य रूपमा तालिम दिन लागिएको हो’, केसीले थपिन् ।

४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय छ । तीमध्ये नेपाल सरकार अन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् । करिब १७ हजार निजी अस्पतालमा र बाँकी शैक्षिक क्षेत्रमा काम गरिरहेका छन् । करिब ३० हजार बेरोजगार रहेको अनुमान छ । यस्तै, करिब २९ हजारले विदेश जानका लागि भेरिफिकेशन लिएका छन्

परिषद् आगामी आर्थिक वर्षबाट सम्पूर्ण स्वास्थ्य संस्था तथा शिक्षण संस्थालाई पत्राचार गर्ने जनाएको छ । यसको लागि परिषद्ले कुन-कुन विधामा कति तालिम लिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

शिक्षण संस्था, स्वास्थ्य संस्था वा नेशनल हेल्थ ट्रेडिङ सेन्टरबाट लिइएको तालिमलाई मात्र मान्यता दिइने परिषद्ले जनाएको छ । दक्षता, अनुभव, उपलब्धि आर्जन, सक्रियताको आधारमा मूल्यांकन हुने भएकोले यसका लागि नर्सलाई कुनै आर्थिक दायित्व पर्ने छैन ।

‘नर्स तथा सेवाप्रदायक अस्पतालका नाममा नर्सिङ परिषद्मा आएको गुनासो हेर्दा अधिकांशमा संवादको कमी नै समस्याको रूपमा देखिन्छ’ केसी भन्छिन्, ‘संवाद गर्ने सीपको कसरी विकास गर्न सकिन्छ भनेर उक्त कार्यक्रम ल्याइएको हो । जसले गर्दा बिरामी र नर्स बीचको दूरी नजिक बन्न जान्छ ।’

उक्त कार्यक्रमको कार्यान्वयनले नर्सलाई निरन्तर अद्यावधिक रहन मद्दत गर्ने हुँदा समग्र स्वास्थ्य क्षेत्रलाई नै फाइदा पुग्ने रजिष्टार प्रजापतिको भनाइ छ ।

‘हामीले यो कार्यक्रमको तयारी अघिल्लो वर्षदेखि नै लागू गर्ने तयारीमा थियौं । तर, सीपीडीको गाइडलाइनले स्वीकृत नभएकाले अगाडि लैजान सकेका थिएनौं । अब परिषद्ले तालिमलाई संस्थागत गर्दै व्यवस्थित रूपमा तालिम दिने वातावरण निर्माण गर्छ’, प्रजापतिले भनिन् ।

दूरदराज तथा ग्रामीण भेगमा कार्यरत नर्सलाई पनि निःशुल्क र सहज रूपमा तालिमको पहुँचको व्यवस्था गरिएको परिषद्को दाबी छ ।

‘हामीले सम्पूर्ण स्वास्थ्य संस्था र नर्सिङ कलेजलाई अनिवार्य रूपमा तालिम दिन परिपत्र गछौं  । नर्सको ज्ञान, सीप अपटेड हुने खालका कार्यशाला, गोष्ठी, सभा सहभागिता हुनुपर्नेछ’ केसीले भनिन्, ‘बाजुरा, दार्चुला जस्ता दूरदराज क्षेत्र र सुगम क्षेत्रमा काम गर्ने नर्सका लागि फरक-फरक कार्यविधि बनाएका छौं ।’

कतिपय नर्समा तत्काल बचाउन सकिने कार्डियो पल्मोनरी रिसस्सिटेसन -सीपीआर) को ज्ञान समेत छैन ।

‘सही तरीका र समयमा गरिने सीपीआर जीवनदायी बन्न सक्छ । तर, कतिपय नर्सले यस विषयमा तालिम पाएका हुँदैनन् । नर्सले उचित तालिम पाएसँगै स्वास्थ्य सेवा गुणस्तरीय बनाउन सकिन्छ’, उनी भन्छिन् ।

हृदयघात वा श्वास-प्रश्वासमा समस्या आउनासाथ तुरुन्तै अस्पताल लैजाँदा पनि बीचको समयमा सीपीआर आवश्यक हुन्छ ।

कुनै पनि व्यक्तिलाई कतिबेला अचानक हृदयगति रोकिन सक्छ भन्ने कुनै पूर्वानुमान गर्न सकिंदैन । तर मुटुमा झट्का पर्दा अचानक मुटुले काम गर्न छाड्छ । यसबारे हरेक व्यक्तिमा ज्ञान जरूरी हुन्छ । तर दुर्भाग्यवश, नेपालमा सामान्य व्यक्तिलाई मात्र नभई धेरै स्वास्थ्यकर्मी समेत यस्ता सीपमा अद्यावधिक भएका छैनन् ।

नेपाल नर्सिङ परिषद्को तथ्यांक अनुसार हालसम्म नेपालमा ७३ हजार ८८९ जना नर्स, ३७ हजार २०३ एएनएम, ५१ मिडवाइफी, १ हजार ३४१ विशेषज्ञ र ८४८ जना विदेशी नर्सले सेवाका लागि अनुमति (लाइसेन्स) लिएका छन् ।

तर, यसमध्ये २६ हजार ३९३ जना नर्स र १२ हजार ६६० जना एएनएमले मात्र लाइसेन्स नवीकरण गरेका छन् । यो काउन्सिलले ११ वैशाखमा अद्यावधिक गरेको तथ्यांक हो ।

तर, परिषद्सँग भने नेपालमा कति सक्रिय र कति विदेशी नर्स छन् भन्ने यकिन तथ्यांक छैन ।

सीपीडी कार्यक्रम लागू भएसँगै कुन ठाउँमा कति नर्स कार्यरत छन् ? भन्ने आधिकारिक तथ्यांक समेत अपडेट परिषद्ले जनाएको छ ।

रजिष्टार प्रजापतिका अनुसार परिषद्सँग कामका लागि विदेश जानेहरूले हामीसँग स्वीकृति नलिने हुँदा यति नै संख्यामा नर्सहरू विदेशमा छन् भन्ने यकिन तथ्यांक छैन ।

पढाइका लागि विदेश जानुअघि नर्सहरूले नर्सिङ काउन्सिलको स्वीकृति लिनुपर्छ । तर, पढाइ बाहेक अन्य कामका लागि विदेश जानेहरूले स्वीकृति लिंदैनन् ।

नेपालमा ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको नेपाल नर्सिङ संघको अनुमानित तथ्यांक छ । तीमध्ये नेपाल सरकार अन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् । यस्तै, करिब १७ हजार नर्स निजी अस्पतालमा र बाँकी शैक्षिक क्षेत्रमा काम गरिरहेका छन् । यस्तै, करिब ३० हजार नर्स अहिले पनि बेरोजगार रहेको हुनसक्ने अनुमान छ । यस्तै, करिब २९ हजारले विदेश जानका लागि भेरिफिकेशन लिएका छन् ।

उक्त तालिमको देशभर विस्तार भइसकेपछि नर्सको ज्ञान र सीप थप परिष्कृत हुनुका साथै बिरामी तथा तिनका आफन्तबीचको संवाद बढ्ने, समन्वयात्मक सम्बन्ध बलियो हुने, गुणस्तरीय सेवा प्रवाह हुने अपेक्षा गरिएको छ ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?