+
+

त्रिवि परिसरबाट व्यापारिक संरचना हटाउन अनेरास्ववियुको माग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १४:१७

२९ जेठ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय परिसरमा रहेका व्यापारमूलक संस्थाका संरचना हटाउन माग गरेको छ ।

आइतबार उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई एक ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले त्रिविको जग्गामा भौतिक संरचना निर्माण गरी नाफामूलक व्यवसाय सञ्चालन गरिरहेको ल्याबोरेटरी स्कुल, त्रिवि लायन्स क्लब, गाडी पार्किङ स्थल र पेट्रोल पम्प लगायतका संरचना ३ महिनाभित्र हटाउन आवश्यक माग गरेको हो ।

अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय परिसरमा नेपाल क्रिकेट संघले सञ्चालन गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पनि सकेसम्म त्रिवि स्वयंले सञ्चालन गर्ने गरी आफ्नो स्वामित्वमा ल्याउन आग्रह गरेको छ ।

त्रिभुवन विशवविद्यालयको स्वामित्वमा रहेको जग्गामा सञ्चालन हुँदै आएको वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरले वर्षौदेखि रकम नतिरेको भन्दै अनेरास्ववियुले पारदर्शी ढंगले उक्त वक्यौता रकम असुल उपर गर्न माग गरेको छ ।

अनेरास्ववियुको त्रिवि जिल्ला कमिटी इन्चार्ज प्रशान्त भण्डारी र त्रिवि जिल्ला कमिटी संयोजक समीरराज विष्टले जारी गरेको विज्ञप्तिमा त्रिवि सेवा आयोगमा पदाधिकारी नियुक्ति गर्न पनि माग गरिएको छ ।

त्रिविमा कर्मचारी र प्राध्यापकको संख्याले समग्र विशवविद्यालय र यसका आंगिक क्याम्पसमा प्रशासनिक तथा शैक्षिक गतिविधि स्वतःस्फुर्त रुपमा सञ्चालन गर्न कठिनाइ देखिएको भन्दै त्रिविले कर्मचारी र प्राध्यापक नियुक्तिका लागि तत्काल त्रिवि सेवा आयोगमा पदाधिकारी नियुक्त गर्न सरकारलाई दबाव दिन आग्रह गरेको छ ।

त्यस्तै त्रिवि सेवा आयोगले प्रयोग गरिरहेको भवन तत्काल खाली गरी छात्राबास प्रयोजनमा प्रयोग गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

वार्षिक रुपमा सञ्चालन हुने सबै परीक्षाको नतिजा परीक्षा भएको मितिले ६० दिनभित्र गर्न माग गरेको अनेरास्ववियुले सेमेस्टर प्रणालीतर्फको परीक्षा सञ्चालन ६ महिनाभित्र र उक्त परीक्षाको नतिजा परीक्षा सकिएको एक महिनाभित्र गर्ने व्यवस्था गर्न पनि माग गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको काम अनलाइन प्रणालीबाट सञ्चालन गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?