+
+

पाठेघर मुखको क्यान्सरबाट हुन्छ हरेक वर्ष दुई हजार महिलाको मृत्यु

९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमको तयारी

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० जेठ २९ गते २०:३९

२९ जेठ, काठमाडौं । धादिङकी ६५ वर्षीया रमा गुरुङ (नाम परिवर्तन) लाई दुई वर्ष अगाडिदेखि यौनाङ्गबाट गन्हाउने पानी आउने, निरन्तर रगत बगिराख्ने लगायत समस्या थियो । तर सञ्चो भइहाल्छ भन्ने आशमा स्वास्थ्य संस्थामा गइनन् । गाउँमा एक महिना अगाडि स्वास्थ्य शिविर बस्यो, उनले आफ्नो समस्या सुनाइन् । चिकित्सकले काठमाडौं जान सुझाव दिए ।

गत हप्ता उपचारका लागि परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, थापाथली पुगेकी बस्नेतको पाठेघरको मुखमा क्यान्सर फैलिसकेको पत्ता लाग्यो । चिकित्सकका अनुसार उनको बिमार जटिल अवस्थामा आइपुगेको थियो । त्यसैले थप उपचारका लागि रेडियोथेरापी गर्न रिफर गरे ।

यौनाङ्गबाट रगत बगिराख्ने समस्या भएपछि रौतहटकी ४५ वर्षीया बुनु थारू (नाम परिवर्तन) ले घर नजिकैको मेडिकलमा गएर औषधि ल्याएर खाइन् । तर उनको समस्या २० को १९ भएन । दुई महिनादेखि समस्या झन् बढ्दै गएपछि गत हप्ता प्रसूति अस्पताल पुगिन् । परीक्षणको क्रममा पाठेघर मुखको क्यान्सर भएको पुष्टि भयो, क्यान्सर नफैलिएकाले चिकित्सकले अपरेशन गरे ।

चिकित्सकहरूका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्थ्यो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ । र, वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।

महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकलाल कर्णका अनुसार असारको अन्तिम साता २० हजार भाइल एचपीभी विरुद्धको खोप नेपाल आइपुग्नेछ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि महिलामा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विस्तार गर्ने घोषणा गरिएको छ । पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई विस्तार गर्ने जनाएको छ । ‘एचपीभी खोप आएपछि कहाँ सञ्चालन गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयलाई निर्देशनका लागि पत्र पठाएका छौं’ डा. कर्णले भने, ‘खोप कार्यक्रम सञ्चालन गर्न निर्देशिका बनाइरहेका छौं ।’

विश्व स्वास्थ्य संगठनले पाठेघरको मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा ल्याउन लागि चीनमा बनेको सकुलेन ब्राण्डको खोप हो । ‘अन्य ब्राण्डका खोप एक मात्रा लगाए पनि प्रभावकारी हुने डब्लूएचओले जनाएको छ, तर नेपालमा आउन लागेको सकुलेन ब्राण्डको खोप ६–६ महिनाको फरकमा दुई पटक लगाउनुपर्ने हुन्छ’, डा. कर्णले भने ।

महाशाखाका अनुसार ९ देखि १४ वर्ष उमेर समूहका बालिका १५ लाखको हाराहारीमा छन् । अहिले खरिद गर्न लागिएको २० हजार भाइल डोजले १० हजार बालिकालाई दिन सकिन्छ । खोप केही मात्रामा खेर जानसक्ने भएकाले ९ हजार हाराहारी बालिकालाई खोप दिन सकिने परिवार कल्याण महाशाखाको अनुमान छ ।

‘एचपीभी खोप हामीले विद्यालय स्तरमा सञ्चालन गर्छाैं’ परिवार कल्याण महाशाखाका प्रमुख डा. कर्ण भन्छन्, ‘पहिलो पटक खोप लगाउन लागिएकाले सुरक्षित छ भनेर अभिभावकलाई बुझाउन पनि जरूरी हुन्छ । त्यसका लागि स्थानीय तहसँग समन्वय गर्छौं ।’

नियमित खोपका रूपमा सञ्चालन गर्ने तयारी

नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघर मुखको क्यान्सरलाई २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने भन्ने नीति लिएको छ । र, ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ ।

यसअनुसार पहिलो चरणमा १५ लाख बालिबालिकालाई एचपीभी खोप दिनुपर्छ । त्यसपछि वार्षिक ५ लाख बालिकालाई खोप दिनुपर्ने महाशाखाको अनुमान छ । सरकारले अनुदानमा खोप उपलब्ध गराउन ग्लोबल भ्याक्सिन एलायन्स (गाभी) लाई आग्रह गरेको छ ।

‘प्राविधिक, आर्थिक र वस्तुगत सहयोग हुने भएकाले गाभीसँग नियमित अनुदानको हिसाबले खोप दिन प्रस्ताव राखेका छौं’ परिवार कल्याण महाशाखाका प्रमुख डा. कर्णले भने, ‘विश्वमै माग धेरै भएकाले केही समयपछि उपलब्ध गराउने आश्वासन पाएका छौं ।’

किन उमेर समूह तोकियो ?

चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ । परोपकार प्रसूति गृहकी स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. स्मिता राईका अनुसार सानै उमेरदेखि असुरक्षित यौनजन्य क्रियाकलापमा सक्रिय हुनु, धेरै बच्चा जन्माउनु, धेरै जनासँग यौनसम्पर्क गर्नु र सरसफाइको कमीले एचपीभी भाइरस संक्रमण हुन्छ ।

एचपीभी भाइरस संक्रमण पुरुषबाट सर्ने गर्छ । त्यसकारण यौन सम्पर्कका क्रममा भाइरस सर्ने जोखिम उच्च हुन्छ । तर सबैमा भाइरस संक्रमण सर्दैन । ‘पाठेघरको क्यान्सर बनाउने भाइरस एचपीभी हो । तर एचपीभी भाइरसको संक्रमण भएका महिलामध्ये केही महिलालाई मात्रै पाठेघरको मुखको क्यान्सर हुन्छ’ डा. राई भन्छिन्, ‘एचपीभी विरुद्धको खोप लगाएपछि शरीरमा एन्टिबडी बन्छ । पाठेघरको मुखको क्यान्सर हुने सम्भावना कम हुन्छ ।’

चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुने स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी बताउँछन् ।

‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन । बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन’ डा. सुवेदी भन्छन्, ‘भाइरसको प्रवेश गर्नुभन्दा अगाडि नै खोप लगाउन सक्दा बढी प्रभावकारी हुन्छ ।’

डा. सुवेदीका अनुसार एचपीभी विरुद्धको खोप सिर्भारिक र गर्डाशिल बढी प्रचलित छन् । एचपीभी भाइरसको विरुद्ध सिर्भारिक खोपले दुई र गर्डाशिलले ९ वटा प्रजातिसँग लड्न बढी प्रभावकारी देखिएका छन् । काठमाडौं उपत्यकामा हरिसिद्धि क्यान्सर, नर्भिक, ह्याम्स, बी एन्ड बी लगायत अस्पतालले एचपीभी विरुद्धको खोप एक मात्राको ८ देखि १० हजार लिएर दिइरहेका छन् ।

चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सर हुँदा योनीबाट गन्हाउने पानी आउने, रगत मिसिएको पानी आउने, पेट दुख्ने, महिनावारी सुकिसकेको महिलालाई समेत रगत देखिने, यौनसम्पर्क गरेपछि रगत देखिने जस्ता लक्षण देखिन्छन् । तर धेरै महिला अन्तिम स्टेजमा मात्रै अस्पताल पुग्छन्, जतिबेला पाठेघरको मुखको क्यान्सर फैलिसकेको हुन्छ । र, अन्तिम विकल्प रेडियोथेरापी हुन पुग्छ ।

नेपालमा क्यान्सर सम्बन्धी जनचेतनाको निकै कमी छ । कुनै पनि क्यान्सर समयमै पहिचान भएको खण्डमा र यसको समयमै उपचार गर्न सके कुनै पनि क्यान्सर समयमा नै निको हुनसक्छ । तर कतिपय मानिस अज्ञानताका कारण क्यान्सर लागेको अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गर्छन् ।

‘धेरै जसो ग्रामीण भेगका महिलालाई पाठेघर मुखको क्यान्सर देखिन्छ । किनकि ग्रामीण भेगका महिलाले पाठेघर मुखको क्यान्सर परीक्षणबारे थाहा हुँदैन’ डा. राई भन्छिन्, ‘दुर्गम भेगहरूमा स्वास्थ्य संस्थाको पहुँचको कमीका कारण पनि नेपालमा क्यान्सर रोगका बिरामी बढ्ने गरेको पाइन्छ ।’

चिकित्सकका अनुसार स्क्रिनिङको माध्यमबाट पनि सम्भावित संक्रमणबारे थाहा पाउन सकिन्छ । त्यसका लागि भीआईएलाई टेष्ट, प्याप स्मेयर र एचपीबी डीएनए परीक्षण गर्न सकिन्छ ।

पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी नेपाली महिलामा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक भएकाले सरकारले यो खोपबारे जनचेतना फैलाउनुका साथै सर्वसुलभ रूपमा उपलब्ध गराउनुपर्ने डा. राई बताउँछिन् ।

चिकित्सकका अनुसार पाठेघर मुखको क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ । पाठेघरको मुखको क्यान्सर पहिलो स्टेज र दोस्रो स्टेजको ‘ए’ स्टेजसम्म छ भने अप्रेसन गर्नुपर्छ । अप्रेसन गर्दा पाठेघर निकालेर फालिन्छ । दोस्रो स्टेजको ‘बी’ देखि लिएर तेस्रो स्टेजमा पुगेपछि किमोथेरापी र रेडियोथेरापी सँगसँगै दिएर उपचार गरिन्छ । चौथो स्टेजमा भने रोग फैलिसकेको हुन्छ ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?