+
+
नक्कली शरणार्थी प्रकरणका वकिलको तर्क :

बालकृष्ण खाँणका वकिलको तर्क : गृहका कर्मचारीले व्यर्थमा मुछे

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १९:४७

३० जेठ, काठमाडौं । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मंगलबारदेखि पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षामा बहस सुरु भएको छ । विहान ११ बजेदेखि नै कानुन व्यवसायीहरुले खाँणको पक्षबाट बहस थालिसकेका थिए ।

अधिवक्ता पंकज कर्णले करिव पौने दुईघण्टा बहस गरेपछि वरिष्ठ अधिवक्ता शेरबहादुर केसी बहसका लागि पोडियममा उक्लिए । नेपाल ल क्याम्पसका अध्यापक उनी नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष समेत हुन् ।

‘२३४ पेजको अभियोगपत्रले मेरो पक्ष बालकृष्ण खाँणलाई नक्कली भुटानी शरणार्थी बनायो भन्न सकेको छैन’, उनले बहसको सुरुवातमा भने ।

केसीले मुद्दामा के के छ भनी लामो सूची बताए । ‘मेरो पक्ष जिम्मेवार दलको नेता हो, सरकारमा उहाँको दलसमेत छ’ केसीले भने, ‘मिडियाहरु उहाँका विरुद्ध लागे, राज्य नै उहाँको विरुद्ध खनियो ।’

इजलासबाट न्यायाधीश प्रेमप्रसाद न्यौपानेले उनलाई विषयवस्तुमा केन्द्रित हुन संकेत गर्दै भने, ‘जाहेरी नै नभएको भए (मुद्दा) लाग्थ्यो र ?’

वरिष्ठ अधिवक्ता केसीले बालकृष्ण खाँणको मौकाको बयान (प्रहरीमा गरेको बयान) को लामो अंश वाचन गरे अनि भने, ‘विना आधार नेपाली नागरिकलाई भुटानी बनायो भनिएको छ ।’

इजलासबाट जिज्ञासा भयो, ‘बनाएको हो कि होइन ?’

वरिष्ठ अधिवक्ताले फेरि मौकाको कागज बाचन गर्न थाले । उनले वाचन गर्ने क्रममा कतिपय वाक्य र वाक्यांशलाई जोड (स्ट्रेस) दिइरहेका हुन्थे । उनले भने, ‘कुनै पनि जाहेरीमा मेरो पक्षको नाम छैन ।’

न्यायाधीश न्यौपानेले भने, ‘प्रेमराज पन्थीको जाहेरी छ । त्यसको पेटबोलीमा छ । जहाँ तपाईंको पक्षलाई स्ट्रेस छ, त्यही तपाईंहरुले स्ट्रेस गर्नुहोला ।’

न्यायाधीशले केसीलाई आफ्नो पक्षमाथि लागेको आरोपमै केन्द्रित भई प्रतिवाद गर्न सुझाए ।

यता इजलासमा बसेका पूर्वमन्त्री बालकृष्ण खाँण विषयवस्तुमा केन्द्रित नभई बहस बरालिएकोमा छट्पटाउन थालिसकेका थिए । उनले आफ्नो पक्षको कानुन व्यवसायीहरुको समन्वय गरिरहेका पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाए र कानेखुसी गरे ।

‘कतिपय मान्छे पक्राउ परेपछि बालकृष्ण खाँणलाई समेत समाउन जाहेरी हाल्ने काम भयो’, बहसका क्रममा केसीले भने, ‘खाँणलाई लक्षित गरियो । श्रीमानले नेपाल सरकारबाट कसरी अभियोगपत्र आयो भन्ने बुझ्नुपर्‍यो ।’

उनले सचिव टेकनारायण पाण्डेलाई रानीपोखरीस्थित एआईजी कार्यालयमा बोलाएर सोधपुछ गरिएकोमा आपत्ति जनाए । अनि बालकृष्ण खाँणको घर खानतलासी गर्दा केही नभेटिएको दाबी गरे । त्यसपछि उनको आक्रोश एकाएक गृह मन्त्रालयका कर्मचारीहरुमाथि सोझियो ।

‘सागरमणि पाठकले आफूलाई महान ठानेको छ । उसले उचालेका कारण शरणार्थी सम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा गएको हो’, वरिष्ठ अधिवक्ता केसीले भने, ‘फणिन्द्र पोखरेलले फाइल अघि बढाउन हुदैन भनेका छन् । तर मन्त्रिपरिषद पुगेको फाइलमा उनको हस्ताक्षर छ । यी मान्छेहरु चोखो भएर बालकृष्ण खाँणलाई उपदेश दिइरहेका छन् ।’

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले केसीको बहसमाथि हस्तक्षेप गरे । अनि भने, ‘अरुलाई नमुछौं, आफ्नो पक्षको कुरा स्पष्ट पारौं ।’

प्रहरीले मुद्दाको अनुसन्धानका क्रममा गृह मन्त्रालयका कर्मचारीहरुसँग सोधपुछ गरेको थियो । उनीहरुले गृहमन्त्री खाँणकै योजनामा प्रस्ताव तयार भएकोदेखि सचिव टेकनारायण पाण्डेले बारम्बार शरणार्थी सम्बन्धी प्रतिवेदन मागेर हेरेको बयान गरेका थिए । त्यसैले आफ्नो पक्षलाई अप्ठेरो परेको महसुस गरेर हुनुपर्छ, केसीले गृहका कर्मचारीहरुमाथि आक्रोश केन्द्रित गरे ।

इजलासले रुलिङ गर्दा समेत केसी रोकिएनन् । उनले थपे, ‘सागरमणि पाठक र फणिन्द्र पोखरेलले फाइल मागेका छन् भनेर कागज गरेका छन् । मुख्य मान्छे यिनै हुन्’, उनले थपे, ‘यिनले मौकाको कागजमा भनेकाले नै बालकृष्ण खाँणलाई मुछेका हुन् ।’

शरणार्थीसम्बन्धी प्रतिवेदनको अनुसूचीमा ४२९ जना शरणार्थीको नाम थियो । केसीले त्यो प्रसंग उक्काए र ४२१ जना भने । इजलासले सतर्क गराएर ४२९ नै रहेको बतायो । केसीले थपे, ‘शरणार्थी सम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा लैजाने काममा पनि सागरमणि पाठक र फणिन्द्रराज पोखरेलले नै थिए ।’

इजलासबाट न्यायाधीश न्यौपानेले सोधे, ‘त्यसमा बालकृष्ण खाँणको संलग्नता….’

केसीले भने, ‘छैन, बरु यन्तोष प्रधानको बयान हेरौं, श्रीमान ।’

यन्तोष प्रधानले प्रतिवेदन आफ्नै जिम्मामा रहेको बताएका थिए । केसीले त्यसमा जोड दिन खोजे । अरुतर्फ ध्यान दिएनन् ।

न्यायाधीश न्यौपानेले थपे, ‘सागरमणि पाठक र फणिन्द्रराज पोखरेलको मौकाको कागज पनि हेरौं ?’

केसीले भने, ‘उनीहरुको बयानले काम गर्छ र श्रीमान् ? उनीहरु आफैले फाइल पठाउन टिप्पणी र सदर गरेका छन् । यो काम सागरमणि पाठक र फणिन्द्रराज पोखरेलले गरेका छन् ।’

वरिष्ठ अधिवक्ता केसीले गृह मन्त्रालयका कर्मचारी यन्तोष प्रधानको वयान वाचन गरे । जसमा, गृह मन्त्रालयको प्रतिवेदन मेरै जिम्मामा हुने भनी उनले स्वीकारेका थिए ।

न्यायाधीश न्यौपानेले कृष्ण बस्यालको मौकाको कागज पढ्न सुझाए ।

केसीले भने, ‘पढिदिउला, पढ्नलाई मलाई के छ र ?’ उनले बयान पढ्न थाले ।

‘फाइलजति युपेश, सागरमणि र फणिन्द्रराजको जिम्मामा हुने रहेछ’ उनले भने, ‘प्रतिवेदन फेर्ने काममा कहाँ टेकनारायण छ ? कहाँ छ नरेन्द्र केसी ? कहाँ छ मन्त्री ? मन्त्रीलाई म्यासेञ्जर (सन्देशबाहक) सरह व्यवहार गरिएको छ ।’

केसीले अरु थप्दै गए, ‘भएजतिकाले मेरो पक्षलाई हान्ने ? हत्कडी लगाएर मेट्रो १ मा लैजाने ? ७१ जनाको ठाडो कागज छ । बुझिएका व्यक्तिहरुलाई पनि ल्याउनुपर्‍यो ।’

त्यसपछि वरिष्ठ अधिवक्ता केसीले ७१ जना व्यक्तिको नाम खरर पढ्न थाले । यसैक्रममा उनले पढे, ‘…झापाका सीडीओ चोमेन्द्र न्यौपाने…।’

इजलासबाट न्यायाधीश न्यौपानेले सच्याउदै भने, ‘झापाको सीडीओ हैन होला, सहायक सीडीओ हो ।’

केसीले बहस बरालेकामा न्यायाधीश दिग्दार भएको छनक देखिइसकेको थियो । केसीले थपे, ‘आदेश गर्ने क्रममा श्रीमानलाई सजिलो होला भन्ने हो, नत्र बहस लम्ब्याउने मेरो उद्देश्य हैन ।’

इजलासबाट न्यायाधीश न्यौपानेले भने, ‘चिया समयअघि सक्नू । अरुलाई मौका दिनुपर्‍यो । पालो मिच्नुभएन ।’

अब भने तेस्रो लहरमा बसेका पूर्वमन्त्री बालकृष्ण खाँणले आफ्नो अनुहार बिगार्न थाले । र कानुन व्यवसायीहरुलाई पालैपालो बोलाई कानेखुसी गर्न थाले ।

केसीले इजलास दिग्दार भएको छनक पाएछन्, ‘यति भए पुग्यो भन्ने आज्ञा होस्, श्रीमान । म (बहस) अफ गर्छु ।’

इजलासबाट न्यायाधीश न्यौपानेले भने, ‘यति धेरै मिसिल मैले जीवनमा पढेको थिइन । त्यसैले हजुरले भनेको कुरा त्रुटी हुनासाथ थाहा भइहाल्छ र सच्याइदिएको हु । विषयवस्तुमा केन्द्रित भए हुने ।’

वरिष्ठ अधिवक्ता केसीले फेरि ‘केशव लाल’को भनेर बयान वाचन गर्न थाले । इजलासमा हाँसो फैलियो । खासमा उनले ‘केशव दुलाल’को बयान पढिरहेका थिए ।

वयानका अंश पढेर सकेपछि वरिष्ठ अधिवक्ता केसीले भने, ‘यो के लेखेको अभियोगपत्रमा ?’

इजलासबाट न्यायाधीशले भने, ‘मैले तयार पारेको हो र ? हजुरको भनाइले त मैले तयार पारेजस्तो गर्नुभयो ।’

अनि वरिष्ठ अधिवक्ता केसीलाई विषयवस्तुमा केन्द्रित हुन आग्रह गर्दै भने, ‘प्रमाण पेश गर्नु न ।’

वरिष्ठ अधिवक्ता केसीले भने, ‘इजलासलाई सहयोग गर्ने उद्देश्य हो ।’

न्यायाधीश न्यौपानेले भने, ‘उद्देश्यमा खोट लगाएको होइन, विषयवस्तु बहकियो कि भन्नेसम्म हो ।’

उनले खाँणको प्रतिरक्षामा तर्क राख्नुभन्दा पनि आरोपित र साक्षीको बयान वाचनमा समय बिताउन थाले । अलि दिग्दार देखिएका बालकृष्ण खाँणले बहसको समन्वय गरिरहेका खम्मबहादुर खातीसँग पटकपटक कानेखुसी गरे । पोडियममा वरिष्ठ अधिवक्ता केसी रोकिएका थिएनन् ।

‘लागूऔषध तस्कर, सुन ल्याउने मान्छे र सम्पत्ति शुद्धीकरणमा संलग्नहरुलाई संगठित अपराधको अभियोग प्रयोग गर्नुपर्छ’, उनले भने, ‘बालकृष्ण खाँणले जितेको भए अहिले पनि गृहमन्त्री बन्ने सम्भावना थियो । देश र मुलुक बदल्छु भन्नेलाई संगठित अपराधमा मुद्दा चलाउने ? यो मुद्दामा चरम राजनीतिकरण भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?