३१ जेठ, काठमाडौं । करिब एक वर्षअघि सुरु भएको एमाले बाहेकका वामपन्थी दलहरुको मोर्चा बनाउने प्रयास निष्कर्ष नजिक पुगेको नेताहरुले बताएका छन् । उनीहरुका अनुसार केही दिनभित्र समाजवादी मोर्चाको घोषणा गर्ने गरी गृहकार्य भइरहेको छ ।
समाजवादी केन्द्र निर्माणका लागि एकीकृत समाजवादीले गठन गरेको वार्ता समिति सदस्य गंगालाल तुलाधारका अनुसार मंगलबार मात्र पनि चारवटा पार्टीका नेता सम्मिलित वार्ता समितिको बैठक बसेको थियो । एक-दुई दिनभित्रै मोर्चा घोषणा गर्ने तयारी भइरहेको भन्दै उनले अनलाइनखबरसँग भने, ‘त्यसको प्रारुप कस्तो हुने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’
छलफलमा सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र संसद बाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने यो मोर्चामा नअटाउने सम्भावना बढेको छ ।
चार दलले समाजवादी केन्द्र बनाउने विषयमा छलफल चलिरहँदा नेसपाका नेताहरू भने यस विषयमा अनभिज्ञ छन् । नेसपा अध्यक्ष भट्टराई गृहजिल्ला गोरखामा छन् । वार्ता समितिमा रहेका पार्टी सहअध्यक्ष गंगानारायण श्रेष्ठ बागमती प्रदेशको बजेट निर्माणसम्बन्धी कामका कारण प्रदेश राजधानी हेटौँडामा व्यस्त छन् ।
समाजवादी मोर्चा बनाउन छलफलमा बसिरहेका चार पार्टीका नेताहरूले यसलाई हाल ‘लुज फोरम’का रूपमा मात्रै अघि बढाउने मोटामोटी सहमति गरेका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार दाङ जाने पूर्वनिर्धारित कार्यक्रम भएकाले बिहीबार वा शुक्रबारसम्म मोर्चा घोषणा हुनसक्छ । ‘प्रधानमन्त्रीजीको कार्यव्यस्तताका कारण बुधबार नै घोषणा गर्न सम्भव छैन । तर एक-दुई दिनभित्रै घोषणा गर्ने सहमति बन्यो,’ ती नेताले भने, ‘हाल चार पार्टीबीच मात्रै घोषणा गर्ने र पछि अरूलाई पनि समेटेर जाउँ भन्ने भएको छ । अब प्रमुख नेताहरूको समय मिलाएर घोषणा हुन्छ ।’
नेताहरुकका अनुसार समाजवादी मोर्चा निर्माणका लागि बनेको वार्ता समितिले कुनै ठोस संरचना नबनाएर सैद्धान्तिक घोषणा मात्र गर्ने प्रस्ताव गरेको छ ।
प्रचण्ड र बाबुरामबीच छैन संवाद
आम निर्वाचनअघि भावी प्रधानमन्त्रीको सपना बुनिरहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेे जनता समाजवादी पार्टी (जसपा)का तत्कालीन संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई समाजवादी केन्द्र निर्माणको प्रस्ताव राखेका थिए । त्यसअघि बाबुराम स्वयं विद्यमान पार्टीहरूले मुलुकको संकट समाधान नहुने र समाजवादी केन्द्र निर्माण गर्नुपर्ने बताउँदै आएका थिए ।
भारत भ्रमणमा गएर फर्केको केही दिनमा नै बाबुराम भट्टराईलाई भेटेरै समाजवादी केन्द्र निर्माण गर्नुपर्ने प्रस्ताव प्रचण्डले अघि सारेका थिए । त्यसपछि दुई नेता बीचको सम्बन्ध यति निकट भयो कि चितवनबाट चुनाव लड्ने योजनामा हिँडिरहेका प्रचण्ड, बाबुरामले निरन्तर चुनाव जित्दै आएको गोरखाबाट उम्मेदवार बन्ने तय भयो । बाबुरामले आफू पार्टी निर्माणको सैद्धान्तिक राजनीतिक काममा लाग्ने र प्रचण्डले नै सांगठनिक तथा राजनीतिक काम गर्ने बताउँदै आएका थिए ।
तर अहिले प्रचण्ड र बाबुरामबीच सघन संवाद हुन नसकेको स्रोत बताउँछ । सत्ता समीकरण फेरबदल र अस्थिर राजनीतिका कारण प्रचण्डले समाजवादी केन्द्र निर्माणको विषयमा समय दिन नसकेजस्तो देखिए पनि राष्ट्रपतिको निर्वाचनपछि प्रचण्ड र बाबुरामबीच दुरी बढ्दै गएको उनीहरू निकट नेताहरू बताउँछन् ।
बाबुरामले आफू निरन्तर जित्दै आएको निर्वाचन क्षेत्र नै छाड्नु र प्रचण्डको प्रशंसा गर्नुका पछाडि उनको एउटा स्वार्थ देखिन्थ्यो, माओवादीलगायत वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउने । त्यसका लागि निर्वाचनलगत्तै एमाले र माओवादी केन्द्रलगायत दलबीच गठबन्धन बनेपछि पनि बाबुरामले केपी ओली र प्रचण्डसँग समाजवादी केन्द्र बनाउनु पर्ने विषयमा निरन्तर संवाद गरेका थिए । त्यसमा प्रचण्डले एक कदम अघि बढेर उनीसँग पार्टी एकताकै प्रस्ताव राखे पनि एमाले अध्यक्ष ओलीले भने ‘सोच्न सकिने’ भनेर मात्रै प्रतिक्रिया दिएका थिए ।
तर जब प्रचण्डले एमालेसँग मिलेर प्रधानमन्त्री बनेको एक महिना नपुग्दै गठबन्धन परिवर्तन गरेर कांग्रेससँग सत्ता सहकार्य थाले त्यसपछि उनी र बाबुरामबीच दुरी बढेको नेताहरूको बुझाइ छ ।
प्रचण्डमा बाबुरामसँग एकता गर्दा आफ्नो शक्ति क्षय हुने आशंका बढेको देखिन्छ । राष्ट्रपतिको निर्वाचन पनि प्रचण्ड बाबुरामबीच दुरी बढ्नुको कारण देखिन्छ । प्रचण्डले नै आशा देखाएपछि जब बाबुराम राष्ट्रपति बन्न सकिने देखेर सक्रिय बनेका थिए । तर, प्रचण्डले त्यसैलाई उनको परीक्षाका रूपमा लिए । पार्टी एकताको विषयमा छलफल गर्न पुगेका नेताहरूसँग प्रचण्डले यस विषयमा आफ्नो बुझाइ राख्ने गरेका छन् । ‘बाबुरामजी सैद्धान्तिक काम गर्छु भने पनि राजनीतिक भूमिकामा नै बढी आकांक्षी हुनुहुन्छ भन्ने प्रचण्डको बुझाइ देखिन्छ । उहाँले अहिले एकता गरिहाल्ने र पछि पार्टीभित्र लाइन निर्माण गर्ने गरी सोचेको देखिन्छ,’ निरन्तर संवादमा रहेका एक नेेताले प्रचण्डलाई उद्धृत गर्दैै अनलाइनखबरसँग भने ।
जबकि एमालेसँगको गठबन्धन रहुञ्जेल प्रचण्ड स्वयंले सबैको सहमतिमा राष्ट्रपति बन्नका लागि अनुरोध गरेको बाबुराम निकट नेताहरू बताउँछन् । पार्टी एकताकै सर्तमा आफ्नो निर्वाचन क्षेत्र समेत छाडेका बाबुराम पछिल्लो समय प्रचण्डको स्वभावसँग असन्तुष्ट मात्रै छैनन्, आक्रोशित समेत बनेका छन् । नेसपाका अधिकांश नेताहरू समेत प्रचण्डको शैलीसँग असन्तुष्ट बनेका छन् । अघिल्लो साता बसेको नेसपा केन्द्रीय समिति बैठकमा समेत ‘प्रचण्डलाई गोरखामा जिताउँदा समेत धोका पाइएको’ भन्दै धेरैले आक्रोश व्यक्त गरेका थिए ।
प्रचण्डले वास्ता नगरे पनि नेसपा केन्द्रीय समिति बैठकले माओवादीलाई पार्टी एकताका आधारहरू लेखेर भने पठाएको छ । आगामी असारमा बस्ने तयारी भइरहेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले यस विषयमा छलफल गरेपछि मात्रै नेसपासँगको एकता टुंगिने देखिएको छ । ‘हामीले पार्टी एकताका आधारहरू लिखित रूपमै माओवादी केन्द्रलाई पठाएका छौं । माओवादी केन्द्रले त्यस विषयमा आफ्नो निर्णय गरेपछि पार्टी एकताको विषय अगाडि बढ्छ,’ नेसपा सहअध्यक्ष गंगानारायण श्रेष्ठले भने, ‘अहिले अरू विषयमा ठोस छलफल भएको छैन ।’
प्रतिक्रिया 4