+
+

घट्दैछ महानगरीय बजेट, छैनन् नयाँ कार्यक्रम

अमृत चिमरिया अमृत चिमरिया
२०८० जेठ ३१ गते १८:५८

३१ जेठ, काठमाडौं । देशका ६ महानगरपालिकाले १० असारमा आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउनेछन् । संघीय सरकारले यस वर्ष अनुदान कटौती गरेको र लक्ष्य अनुसार राजस्व उठाउन नसकेका कारण महानगरपालिकाको बजेट चालु आर्थिक वर्षको भन्दा कम हुनेछ ।

महानगरहरुले नयाँ कार्यक्रमलाई कम प्राथमिकता दिएर चालु कार्यक्रम सम्पन्न गर्ने गरी बजेट निर्माण गरिरहेका छन् । बजेटमा कुन महानगरपालिकाको के तयारी छ पढ्नुहोस् :

भरतपुरमा ७० करोड बजेट घट्ने

चितवनको भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा ५ अर्ब ७४ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर आगामी आर्थिक वर्षमा झण्डै ७० करोड रुपैयाँ कमको बजेट आउन सक्ने उपमेयर चित्रसेन अधिकारी बताउँछन् ।

‘पुराना, अधुरा काम पूरा गर्न यो पटकको बजेटले काम गर्नेछ । हाम्रो आफ्नै प्रशासकीय भवन, गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको व्यवस्थापन, नारायणी ‘सी बिच’ मोडललाई विस्तार गर्ने योजनालाई बजेटले प्राथमिकता दिनसक्छ,’ उनले भने । भरतपुरको चक्रपथ योजना पनि प्राथमिकतामा रहेको उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर लक्ष्य नभेट्ने उनले बताए । भरतपुर महानगरपालिकाले वडाहरुलाई २ करोड ६० लाख सिलिङ दिएर योजना छान्न भनेको छ । भरतपुरले सन् २०२४ लाई पर्यटन वर्ष घोषणा गर्ने तयारी पनि गरेको छ ।

पोखराको जोड सौन्दर्यीकरणमा

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा शहरी सौन्दर्यकरण र पर्यटन प्रवद्र्वनलाई जोड दिने भएको छ । पोखरालाई आन्तरिक र बाह्य पर्यटकको केन्द्रको रुपमा विकास र विस्तार गर्ने गरी बजेटमा योजना राखिने प्रवक्ता मोतीलाल तिम्सिनाले बताए ।

उनका अनुसार एसियाली विकास बैंकको सहयोगमा ‘लेक टु लेक कनेक्सन’को काम पनि भइरहेको छ । आगामी आर्थिक वर्षमा महानगरले ठूला भौतिक संरचना भन्दा शहरी सौन्दर्यकरण, पर्यटन क्षेत्र विस्तार, फोहोर व्यवस्थापनका योजनाले प्राथमिकता दिने उनले बताए ।

स्रोतका अनुसार पोखराले करिब ८ अर्बको बजेट ल्याउने तयारी गरेको छ । जसमा भौतिक पूर्वाधारतर्फ आफ्नै प्रशासकीय भवन निर्माण प्राथमिकतामा पर्नेछ । महानगरका प्रवक्ता तिम्सिनाका अनुसार पोखराले बजेट निर्माणको लागि वडा तहमा गएर छलफल गरिरहेको छ । चालु आर्थिक वर्षमा ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

वीरगञ्जको छैन ठूलो लक्ष्य

वीरगञ्जले चालु आर्थिक वर्षका लागि ३ अर्ब ३३ करोड रुपैयाँको बजेट ल्याएको छ । बजेट निर्माणमा संलग्न एक कर्मचारीका अनुसार आगामी आर्थिक वर्षका लागि साढे २ अर्बको बजेट ल्याउने तयारी छ । बजेट खर्च र राजश्वको लक्ष्य ठूलो नराख्ने बरु कार्यान्वयन हुने बजेट ल्याउने ती कर्मचारी बताउँछन् ।

वडा नं ३२ का वडाध्यक्ष रियाज अहमद मियाँका अनुसार महानगरपालिकाले बजेट निर्माणको लागि वडा तह र विषयगत समिति मार्फत छलफल भइरहेको छ । ‘यो पटक शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर योजना छनोट गर्न भनिएको छ’ मियाँले भने ।

उनले वडामै वर्थिङ सेन्टर निर्माणको योजनाले प्राथमिकता पाउने बताए । ‘शहरी क्षेत्रमा नाला र ढल निर्माणको योजना पनि बजेटमा आउँछ होला तर शिक्षामा सुधार र स्वास्थ्यमा पहुँच पुर्‍याउने गरी वीरगञ्जले काम गर्न लागेको छ ।’

काठमाडौंमा गौरवका आयोजना

संघीय सरकारले पठाउने अनुदान घटे पनि आन्तरिक स्रोत बलियो भएकाले काठमाडौं महानगरपालिकाले बजेटको आकार नघटाउने भएको छ । चालु आर्थिक वर्षमा २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको काठमाडौंले दोस्रो नगरसभाबाट संशोधन गरी २ अर्ब बजेट घटाएको थियो ।

महानगरका प्रवक्ता नविन मानन्धरले चालु आर्थिक वर्षको बजेट सबै कार्यान्वयन नहुने र राजस्व संकलन पनि लक्ष्यभन्दा राम्रो भएकाले आगामी आर्थिक वर्षमा बजेटको आकार नघट्ने बताए । ‘यो पटक हाम्रो बजेटमा घटबढ हुँदैन, केही नयाँ योजना र धेरैजसो पुराना योजनाहरु नै निरन्तर गर्ने भन्ने तयारी छ’, मानन्धरले भने ।

बजेट निर्माणमा सहभागी एक कर्मचारीका अनुसार ‘काठमाडौं शहर, उज्यालो नगर’ र ‘खाल्डामुक्त शहर, हाम्रो रहर’ जस्ता योजनालाई महानगर गौरवको आयोजनाको रुपमा अगाडि बढाउने तयारी छ । ‘केही गौरवको योजनाको रुपमा प्रस्ताव आएका छन्, तर यही नै बजेटमा उल्लेख गर्ने भन्ने निक्र्यौल भइसकेको छैन’, ती कर्मचारीले भने ।

काठमाडौंले चालु आर्थिक वर्षदेखि आवधिक योजना बनाएर काम गर्न थालेको छ । महानगरका योजना आयोग उपाध्यक्ष तपेन्द्र खड्का भन्छन्, ‘यो भन्दा अघि काठमाडौंमा आवधिक योजना बनाएर काम भएको थिएन, अब आउने आर्थिक वर्षबाट आवधिक योजना अनुसार बजेट निर्माण र कार्यान्वयन गरिनेछ ।’

विराटनगरको प्राथमिकता शिक्षा र स्वास्थ्यमा

आगामी आर्थिक वर्षमा विराटनगर महानगरपालिकाको बजेट पनि ठूलो मात्रामा घट्ने भएको छ । चालु आर्थिक वर्षमा ३ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएको विराटनगरले आगामी आर्थिक वर्षमा २ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइने उपप्रमुख शिल्पा निराला कार्कीले बताइन् । ‘शिक्षासँगै सीप पनि हुनुपर्छ भनेर हामीले कार्ययोजनाहरु बनाएका छौं, बजेटले त्यसलाई नै केन्द्रित गर्छ, अर्को चाहिँ मन्टेसरी कक्षालाई अझै व्यवस्थित बनाउन महानगरले बजेटमा व्यवस्था गर्नेछ’ उनले भनिन् । स्वास्थ्यमा पनि धेरै काम गर्नुपर्ने भन्दै उनले बजेटमा त्यसअनुसारका व्यवस्था गर्ने बताइन् ।

चालु आर्थिक वर्षमा बहुवर्षीय योजनाहरु धेरै रहेकाले भौतिक पूर्वाधारका नयाँ योजना धेरै नल्याउने उपप्रमुख कार्कीको भनाइ छ । ‘नयाँ योजनाहरु खासै हुँदैनन्, बजेट पनि छैन, चालु आर्थिक वर्षमै धेरै बहुवर्षीय भौतिक योजना छन्, त्यसकारण अबको बजेटमा सामाजिक विकासका धेरै विषय आउन सक्छन्’ कार्कीले भनिन् ।

ललितपुरको ध्यान सम्पदा संरक्षणमा

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि सम्पदा संरक्षण, शहरी सौन्दर्यकरण, चक्रपथ बाहिरका क्षेत्रको विकास र पर्यटनलाई प्राथमिकता दिने तयारी गरेको छ । चालु आर्थिक वर्षमा ६ अर्ब ३५ करोडको बजेट ल्याएको ललितपुरले आगामी आर्थिक वर्षमा यो भन्दा थोरै कम आकारको बजेट ल्याउने तयारी गरेको छ ।

मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षका लागि करिब ६ अर्बको बजेट ल्याउने बताए । ललितपुर महानगरको सार्वजनिक जग्गामा प्रदेश र संघीय सरकारबाट आउने बजेट प्रयोग नगर्ने तयारी गरेको मेयर महर्जनले बताएका छन् ।

‘यो पटकको बजेटको विशेषता भनेको सार्वजनिक जग्गा प्रयोग हुनेगरी कुनै पनि योजना नयाँ निर्माण हुँदैन, यसको लागि सघीय र प्रदेशका सांसदहरलाई पनि महानगरले अनुरोध गरेका छौं’ महर्जनले भने । ललितपुर महानगरपालिका अनुसार महानगर भित्र जग्गा ३ प्रतिशत मात्रै खुल्ला जमिन रहेको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?