+
+

विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते २०:१८

३१ जेठ, दमौली। तनहुँको व्यास नगरपालिका-४ चिहानडाँडामा केही दिनदेखि दुर्गन्ध फैलिएको थियो। सुवर्णमार्गको कच्ची सडकबाट आवतजावत गर्नेहरु र स्थानीय वासिन्दाले शव गाडिएको आशंकामा वडा सदस्यलाई खबर गरे।

प्रहरी बोलाएर खोजतलास गर्दा नालीमा राखिएको ह्युमपाइपमा प्लास्टिकको बोराभित्र युवतीको शव भेटियो। शव क्षतविक्षत अवस्थामा थियो भने गल्न थालिसकेको थियो। उक्त शव ब्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षकी रंगिला भुजेलको थियो।

२४ जेठदेखि माइती पक्षको सम्पर्कमा नरहेकी उनको शव बाबुले पहिचान गरेका थिए। भुजेलको गत १ वैशाखमा भानु नगरपालिका-५ का मैबलका २१ वर्षका मनोज विष्टसँग प्रेम विवाह भएको थियो । उनीहरु ब्यास नगरपालिका–४ मा डेरामा बस्दै आएका थिए।

रंगिलाको हत्या गरेर शव लुकाएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले बताए। हत्याको आरोपमा प्रहरीले रंगिलाका श्रीमान मनोजलाई पक्राउ गरेको छ।

श्रीमान श्रीमतीको मनमुटावको कारण हत्या गरेको खुलेको विष्टले बताए। ‘श्रीमतीले श्रीमानलाई जानकारी नै नदिई दुईवटा सिम चलाएको कारण झगडा पर्दा हत्या गरेको खुलेको छ। २६ गते दिउँसो आफनै डेरामा हत्या गरी शवलाई व्यवस्थापन गर्न नालीको ह्युम पाइपभित्र राखेको पाइयो’ उनले भने।

मनोजमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?