+
+

पहाड फोड्ने ‘माउन्टेन म्यान’को कथा : ती माझी, यी चन्द्रवीर

सिनेमाको दशरथ माझी सम्झाउने गरी उनले एक्लै पहाड फोडेर बाटो बनाए, त्यो पनि ७२ वर्षको उमेरमा । चन्द्रवीरको कथा सन्तानका खातिर एउटा बाबुले गरेको संघर्षको कथा हो ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० जेठ ३२ गते १०:५९

३२ जेठ, दाङ । भारतको विकट गाउँमा मजदुरीबाट गुजारा गर्ने दशरथ माझीका बारेमा बनेको सिनेमा ‘माझीः द माउन्टेन म्यान’ तपाईंले हेर्नुभएकै होला । भर्खरै बिहे गरेकी श्रीमती फगुनी देवीलाई माझी (नवाजुद्दिन सिद्दिकी) अथाह प्रेम गर्छन् । सुन्दर दाम्पत्यमा एउटा मोड, जसले उनको जिन्दगीको लय नै खल्बल्याइदिन्छ ।

घर नजिकैको चट्टानी पहाड पार गर्ने क्रममा उनकी गर्भवती श्रीमती बाटोमै लड्छिन् र ज्यान गुमाउँछिन् । पत्नी वियोगकै बीच माझीले चट्टानी पहाड फोडेर बाटो बनाइछाड्ने प्रतिज्ञा गर्छन् । हथौडाका भरमा एक्लै पहाड फोड्न निस्कने माझीलाई देखेर गाउँले ‘पागल’ भन्छन् ।

२२ वर्षसम्म अनवरत पहाड खन्ने माझीकै झल्को दिलाउँछन् दाङ तुलसीपुरका चन्द्रवीर वलीले । उनले पनि दशरथ माझीकै संकल्प सम्झाउने गरी एक्लै पहाड फोडेर बाटो बनाए ।

उनले चाहिं पत्नी वियोगमा होइन, आफ्ना ६ जना दृष्टिविहीन सन्तान र श्रीमतीका खातिर पहाड खनेर बाटो बनाएका हुन् त्यो पनि ७२ वर्षको उमेरमा । चन्द्रवीरको कथा, सन्तानका खातिर एउटा बाबुले गरेको संघर्षको कथा हो ।

*** ***

सानैमा भारत छिरेका उनका बैंसका दिन पनि परदेशमै बिते । घर फर्कंदा उनी ४८ वर्षका थिए । त्यतिञ्जेल उनले विवाह गरेका थिएनन् । घर र्फकेपछि उनले गाउँकै एकजना दृष्टिविहीन महिलासँग बिहे गरे ।

बिहेपछि उनी श्रीमतीसँगै सल्यानबाट झरेर दाङ तुलसीपुरको साततले भन्ने ठाउँमा आएर बस्न थाले । उनले त्यहीं घरगृहस्थी सुरु गरे । बिहे गरेको केही वर्षपछि उनको पहिलो सन्तान जन्मिए, तर दृष्टिविहीन । त्यसपछि अरू ५ सन्तान जन्मिए, तर सबै दृष्टिविहीन । घरमा श्रीमती सहित आठ जनाको दृष्टिविहीन परिवार भयो । ‘दुःख जति मैले पाउन लेखेको रहेछ’ लामो सुस्केरा हाल्छन् उनी । संयोगले उनका कान्छा छोरा भने सबलाङ्ग जन्मिए । अर्थात् उनी चाहिं आँखा देख्थे । चन्द्रवीरको अँध्यारो परिवारमा एउटा उज्यालोको किरण देखा पर्‍यो । उनले भगवान सम्झिए ।

चन्द्रवीरको घर बीच जंगलमा । चारैतिर सन्नाटा । जंगली जनावरको बिगबिगी । तर सबैभन्दा ठूलो समस्या थियो, बाटो । उनको घरसम्म पुग्ने बाटो थिएन । जंगलको भिरालो बाटो भएर हिंड्नुपर्थ्यो । चन्द्रवीरलाई त खास समस्या थिएन, दृष्टिविहीन श्रीमती र सन्तानलाई हिंडडुल गर्न गाह्रो हुन्थ्यो । जसैजसै सन्तान हुर्कंदै गए, चन्द्रवीरलाई लाग्दै गयो-बाटो नबनाए सन्तानले दुःख पाउनेछन् । ‘म त मरेर गइजाउँला तर मेरा दृष्टिविहीन सन्तानले जीवनभर दुःख पाउने भए’, चन्द्रवीरलाई दिन-रात यही पीरले खान थाल्यो ।

चन्द्रवीर वली ।

यता, ढिलो बिहे गरेकाले सन्तान हुर्काउँदा हुर्काउँदै उमेर घर्किसकेको थियो । गाला चाउरी परिसकेका थिए । ‘ढिलो बिहे गरियो, छोराछोरी जन्माउँदा हुर्काउँदा उमेर गएको पत्तै पाइनँ’, उनी भन्छन् । उमेर घर्किए पनि उनीसँग पाखुरीमा बल बाँकी नै थियो । त्यसपछि चन्द्रवीरले ७२ वर्षको उमेरमा एउटा अठोट गरे- पहाड फोडेर घरसम्म बाटो बनाउने ।

तर एक्लै पहाड फोड्नु चानचुने कुरा थिएन । त्यसमा पनि भिरालो पहाड । ढुंगैढुंगाले भरिएको । पाखुरीमा पनि बैंसको जस्तो बल थिएन । तर उनीसँग बाँकी थियो, अठोट र आत्मविश्वास । त्योभन्दा धेरै सन्तानप्रतिको जिम्मेवारी ।

२०७४ सालदेखि उनले बाटो खन्न सुरु गरे । बिहान सबेरै घरभान्सा र गाईगोठ गरेर उनी ९ बजे बाटो खन्न निस्कन्थें । ‘श्रीमतीले आँखा नदेख्ने, खाना पनि आफैं पकाइवरी गर्थें’ उनले भने, ‘घरको सबै काम सकेपछि बाटो खन्न निस्कन्थें ।’ दिनभर उनी गैंती, घन, कोदालोको भरमा पहाड खन्थे । ढुंगा फोड्थे, पन्साउँथे । दिनभर बाटो खनेर उनी बेलुकी पाँच बजे घर पुग्थे । फेरि भात-भान्सामा जुट्थे ।

चन्द्रवीरलाई सन्तान जतिकै माया र चिन्ता बाटोको छ । आफू अस्ताउनु अघि उनी बाटो पक्की भएको हेर्न चाहन्छन् । किनभने चन्द्रवीरलाई थाहा छ- उनको मृत्युपछि सडक यसै अलपत्र पर्नेछ । बाटो बिग्रिए, बनाउन कोही आउने छैन

दुई वर्षसम्म उनले लगातार बाटो खनिरहे । चैत-वैशाखको गर्मी भनेनन् । साउने झरी भनेनन् । पुस-माघको कठ्याङ्ग्रिने जाडो भनेनन् । भोक-तिर्खा भनेनन् । मात्र एकोहोरो बाटो खनिरहे, ढुंगा फोडिरहे ।

एक्लै पहाड खनेर बाटो बनाउनु सजिलो थिएन । बाटो खन्दा-खन्दा हातभरि ठेला पर्थे । हात-खुट्टामा चोट पटक लाग्थ्यो । कहिलेकाहीं खन्दा खन्दै लड्थे । एकपटक त उनी नराम्रोसँग थलिए । ‘बर्खाको झरीमा काम गर्दा-गर्दा निमोनिया भएछ’ उनले भने, ‘बल्लतल्ल उपचार गरेर बाँचें ।’ तर जतिसुकै दुःख-बिमार परे पनि उनको हिम्मत कहिल्यै टुटेन ।

चन्द्रवीरको घरको बारी खमारी गाउँ थियो । उनले एक्लै बाटो खन्दै गरेको गाउँलेले नदेखेका होइनन् । तर उनलाई सघाउन कोही आएनन् । चन्द्रवीरले धेरै पटक बाटो खन्न आउन पनि भने । तर कसैले मानेनन् । उल्टो उनलाई बुढेसकालमा के गरेको भनेर गिज्याउँथे, हाँस्थे । ‘गाउँलेले मर्ने बेला यस्तो दुःख नगर छोड भनिरहन्थे’ उनले भने, ‘तर म आफ्नो संकल्पमा दृढ थिएँ ।’

कसैको साथ नपाउँदा उनलाई सुरुमा नरमाइलो लाग्यो । तर मन दुखाएर बसेनन् । कसैलाई केही भनेनन् । मनभित्र भने बाटो बनाएर देखाइदिने प्रण गरे । ‘बाटो बनाउन सक्छु भन्ने अठोट थियो’ उनले भने, ‘जसले जे भने पनि कसैको वास्ता गरिनँ ।’ हुन पनि चन्द्रवीरको इच्छाशक्तिको अघि कसैको केही लागेन । अन्ततः दुई वर्षपछि एक्लै खनेर घरसम्म पुग्ने तीन किलोमिटरको बाटो बनाए । बाटो सीधै राप्ती राजमार्गसँग जोडियो । भनिन्छ नि, ‘असल काम गर्दा अनेक अप्ठ्यारा आउँछन् तर लक्ष्यमा दृढ मानिसले असम्भवलाई पनि सम्भव बनाइदिन्छ ।’

चन्द्रवीरले बनाएको त्यही सडक पछि ‘चन्द्रवीर मार्ग’ नामकरण भयो । स्थानीय सरकारको सहयोगमा बाटो केही चौडा गरियो । चन्द्रवीरको घरसम्म मात्र होइन खमार गाउँसम्मै बाटो पुग्यो । मान्छेसम्म हिंड्न मुश्किल हुने बाटोमा साना गाडी, मोटरहरू कुद्न थाले ।

हिजो उनैलाई गिज्याउने गाउँले अहिले उनैले खनेको बाटोमा हिंड्छन् । गाईबस्तु हिंडाउँछन्, मोटर गुडाउँछन् । चन्द्रवीर यही हेर्दै दंग पर्छन् । गाउँलेले गरेको असहयोगप्रति गुनासो पनि छैन । मन दुःखाएर बसेका छैनन् । भन्छन्, ‘बाटो बनाइछोड्छु भन्ने अठोट गरेको थिएँ, पूरा गरें । मलाई कसैप्रति केही गुनासो छैन ।’

अचम्म त के भने अक्सर ७० नाघेपछि मानिसलाई कसैको सहारा विना उभिन समेत मुश्किल पर्छ । तर यहाँ त चन्द्रवीर एक्लैले पहाड पल्टाए । त्यो कुनै चानचुने कुरा थिएन । आखिर यत्रो ताकत उनले कसरी ल्याए ? जवाफ छ- आफ्नो सन्तानप्रति एउटा बाबुको माया । नत्र त उनी पहाड खनेर बाटो बनाउने भन्ने कुरा कल्पनासम्म गर्दैनथे । भन्छन्, ‘मलाई यो ताकत सन्तानको मायाले नै दियोे । उनीहरू हुँदैनथे त म बाटो खन्ने आँट गर्दिनथें हुँला !’

पछि उनले खनेको त्यही बाटो हिंडेर उनका सन्तान जंगलको अँध्यारोबाट बाहिरी संसार चियाउन निस्किए । ज्ञानको अक्षर चिन्न पाए । दाङदेखि काठमाडौंसम्मको यात्रा तय गरे । अभावै सही आफ्नो खुट्टामा उभिन सके । आफूले खनेको बाटोले सन्तानलाई जीवनको मार्ग देखाउन सकेकोमा चन्द्रवीरलाई सन्तोष हुन्छ ।

तर चन्द्रवीर यतिमै चित्त बुझाएर बसेका छैनन् । भलै उनले सन्तानका लागि बाटो बनाएका थिए । तर अब त्यो बाटो सिंगो गाउँकै भइदियो । त्यसैले त उनले बाटो बनाएर मात्र छोडेका छैनन् । त्यसलाई रेखदेख पनि गर्छन् । हरेक बर्खामा पहिरो खस्दा चन्द्रवीर गैंती लिएर बाटो खोल्न पुगिहाल्छन् । पहिरोमा खसेका ढुंगा-माटोहरू एक्लै पन्साउँछन् । बाटोका कारण कसैले दुःख नपाउन् भन्ने चाहन्छन् उनी । ‘यो बुढाले बाटो बनाएर दुःख भयो भनेर कसैले नभनुन् भन्ने लाग्छ’, उनी भन्छन् ।चन्द्रवीरको चाहना छ- सडक अझै फराकिलो होस् र पक्की पनि । ‘बर्खामा हिलोकिचोले बाटो बिग्रिरहन्छ’ उनी भन्छन्, ‘बाटो ग्राभेलसम्म भइदिए पनि बर्खामा दुःख हुँदैनथ्यो !’

चन्द्रवीरले खनेको सडक ।

चन्द्रवीरलाई सन्तान जतिकै माया र चिन्ता बाटोको छ । आफू अस्ताउनु अघि उनी बाटो पक्की भएको हेर्न चाहन्छन् । किनभने चन्द्रवीरलाई थाहा छ- उनको मृत्युपछि सडक यसै अलपत्र पर्नेछ । बाटो बिग्रिए, बनाउन कोही आउने छैन । त्यसैले उनी स्थानीय सरकारलाई बाटो बनाइदिन हारगुहार गरिरहेका छन् । तर कसैले उनको कुरा सुनेको छैन ।

जस्तो कि, चलचित्र ‘माझी : द माउन्टेन म्यान’ मा गहिरो संवाद छ । जहाँ दशरथ माझी भन्छन्, ‘भगवानको भरोसामा न बस, के थाहा भगवान पो तिम्रो भरोसामा बसेको छ कि !’

अर्थात् कर्म गर, कसैको भरोसामा नबस ।

चन्द्रवीर पनि भगवानको भरोसामा बसेनन् । सायद उनी कसैको भरोसामा बस्दा हुन् त आज बाटो बन्ने थिएन । ‘कसैले बनाइदिन्छ भनेर बसेको भए, बाटो बन्दैनथ्यो होला’ उनी भन्छन्, ‘भगवानले त बाँच्नलाई सबै दिएकै छन् नि, कर्म गर्ने त हामी आफैंले हो !’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?