+
+

पदयात्रीसँग देश दुनियाँको हालखबर सोध्ने गाउँ

सागर चन्द सागर चन्द
२०८० असार २ गते १८:१०
आफ्नै होटलमा बालकुमारी लामा

२ असार, रिग्मो (डोल्पा) । देश दुनियाँको खबर मोबाइल फोनमा छिनछिनमा आइपुग्छ । डोल्पाको छेप्का भने विश्वग्रामको यो डिजिटल दुनियाँबाट टाढै छ ।

डोल्पाको सुलिगाढबाट शे–फोक्सुण्डो ताल जान पाँच घण्टा हिँडेपछि पुगिन्छ छेप्का गाउँ । शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने यो गाउँमा जम्मा १० घर छन् ।

हिउँ पर्नेबाहेक अरु मौसममा यो गाउँको बाटो भएर सयौं पर्यटक ओहोरदोहोर गर्छन् । डोल्पा सदरमुुकाम दुनैबाट सामान लादिएका बथानका बथान खच्चड यही बाटो उकालो लाग्छन् ।

यही बाटो ओहोदोहोर गर्ने धेरै पदयात्रीले यहाँ थकाइ मारेर अघि बढ्छन्, कोही बास नै बस्छन् । हालैको एक साँझ हामी छेप्काकै बालकुमारी लामाको होटलमा बास बस्न पुग्दा उनले काठमाडौंको हालखबर सोधिन् ।

काठमाडौंका आमसञ्चार माध्यममा धेरै महत्व पाएको भुटानी शरणार्थी प्रकरणबारे सुनायौं हामीले । हामी उनको अगेनो छेउमै बस्यौ ।

‘यहाँ फोन टिप्दैन ?’ भन्ने जिज्ञासाको जवाफमा उनले सहज जवाफ दिइन्, ‘केही टिप्दैन यहाँ ।’

बस्तीका हरेकजसोसंग मोबाइल फोन छ । तर यो मोबाइल फोन फोटो खिच्न र इन्टरनेट जोडिएको ठाउँबाट डाउनलोड गरेर ल्याएको फिल्म हेर्न मात्र काम लाग्छ ।

बालकुमारीको छोरा भारतको दार्जिलिङमा पढ्छन् । छोरासंग कुराकानी गर्न कि ६ घण्टा उकालो चढेर र्‍याची गाउँ पुग्नुपर्छ कि ५ घण्टा ओरालो झरेर डोल्पा सदरमुकाम दुनै पुग्नुपर्छ । ‘कहिले दुनै जान्छु, कहिले र्‍याची’, उनी सुनाउँछिन्, ‘यहाँ त केही था हुँदैन ।’

त्यसो त बालकुमारीले छोरालाई डोल्पामै पढाउन खोजेकी थिइन् । तर यहाँ नजिक स्कुल नै छैन । छेप्काबासीले छोराछोरी स्कुल पढाउन पनि कि दुनै पठाउनुपर्छ कि र्‍याँची ।

शे–फोक्सुण्डो गाउँपालिकाको सबैभन्दा ठूलो वडा हो वडा नम्बर ८ । सागरतालदेखि छेप्का भन्दा तल पर्ने सागंटासम्म फैलिएको छ ८ नम्बर वडाको भूगोल । छेप्काबाट सागर ताल पुग्न कम्तीमा पनि तीन दिन पैदल हिँड्नुपर्छ ।

०७४ र ०७९ मा भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा छेप्काका बासिन्दाले गाउँमा फोन टावर माग गरेका थिए ।

‘चुनावका बेला त हुन्छ भन्छन्’, उनी सुनाउँछिन्, ‘चुनाव सकिएपछि थोरै जनता छन् छेप्कामा आउँदैन टावर भन्छन् ।’ १० घरका लागि मात्र भनेर फोन टावर हाल्न नमानेपनि भोट हाल्ने समयमा यीनै १० घर पनि महत्वपूर्ण हुन्छन् ।

चुनावमा भोट हाल्न जान बालकुमारी र छेप्काका बासिन्दाले २ दिन छुट्याउनुपर्छ । ‘यहाँबाट ६ घण्टा लाग्छ भोट हाल्ने ठाउँ (र्‍याँची) पुग्न एक दिन जान एक दिन आउन’, बालकुमारीलाई दिक्क लाग्छ, ‘सित्तैमा भोट हाल्या यी नेतालाई ।’

टेलिफोन नहुँदा स्थानीय मात्र होइन पदयात्रीलाई पनि समस्या छ । बालकुमारी सुनाउँछिन्, ‘एउटा टुरिष्ट लोट्यो (लड्यो) । यहाँबाट दौडेर दुनै गएर फोन गर्दासम्म त्यो मान्छे मर्‍यो ।’

स्कुल, अस्पताल र किनमेल सबैका लागि बालकुमारीले कि उकालो चढ्नुपर्छ कि ओरालो झर्नुपर्छ । उकालो चढेर फोक्सुण्डो वा र्‍याची जानुको सट्टा उनी दुनै जान्छिन् सामान किन्न । ‘माथि ७ घण्टा उकालो चढ्नुभन्दा सामान किन्न पाइन्छ, औषधी पनि गर्न पाइन्छ भनेर दुनै जान्छौं ।’

‘सानो गाउँ भनेर हेप्छन्, स्कुल, अस्पताल, फोन केही पनि दिदैंनन्’, उनी गुनासो गर्छिन् ।

अवस्था कस्तो छ भने छेप्कामा बिजुली पुगेपनि छेप्काबासीले बत्ती बाल्न पाएका छैनन् । गत वर्ष असोजमा बिजुलीको पोल पहिरोले बगाएपछि यो गाउँ बिजुलीविहीन भएको छ । ‘एक वर्ष हुन लागिसक्यो अझै बनाइदिएनन्’, बिजुली आउने छाँट नदेखेपछि उनले सोलार किनिन् ।

बिजुली, फोन, स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सेवाबाट वञ्चित छेप्काबासीले आफ्नो गाउँको बाटो हुँदै फोक्सुण्डोसम्म सडक लैजाने कुरा सुनेका छन् । सडक बनिहालेमा पदयात्री बास नबसेर व्यवसाय डुब्ने हो कि भन्ने चिन्ता छ ।
स्थानीय नोर्बु लामा चिन्ता गर्छन्, ‘यतैबाट रोड जान्छ भनेर तल सागंटासम्म नापिसक्यो भन्छन् । यताबाट रोड गयो भने हाम्रो होटल व्यवसाय सकिन्छ ।’

फोक्सुण्डो जानका लागि सडक मार्गबाट दुनै वा सुलिगाढसम्म पुगिन्छ । हवाई मार्गबाट जुफाल विमानस्थलमा ओर्लेपछि पनि दुनै वा सुलिगाढ आउनुपर्छ । सुलिगाढबाट एक दिनको पैदल यात्रा गरेपछि छेप्का पुगिन्छ ।

गाउँपालिकाको केन्द्र साल्दाङ गाउँमा छ । छेप्काबाट साल्दाङ पुग्न कम्तीमा चार दिनको पैदल यात्रा गर्नुपर्छ । ‘साल्दाङ जानुपर्‍यो भने त आउजाउ गर्न नै ८ दिन लाग्छ’, बालकुमारी गाउँपालिका र वडा कार्यलय जान नपरे हुन्थ्यो झै गर्छिन् । फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो ठाउँमा जीवन कष्टसाध्य छ ।

आफ्नै टी हाउसमा डोल्मा लामा ।

छेप्काबाट एक घण्टा उकालो लागेपछि ध्वाने पुगिन्छ । फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने यो ठाउँमा डोल्मा लामाको खाजा पसल (टी हाउस) छ । त्रिपालको छानो हालेर बनाइएको यो अस्थायी टि हाउस डोल्माको आम्दानीको एकमात्र स्रोत हो ।

मामा, श्रीमान र दुई छोराका साथमा बस्छिन् डोल्मा । उनका छोराहरु भने यार्सागुम्बा टिप्न लेक गएका छन् । ‘छोराहरु किडा (यार्सागुम्बा) टिप्न भोट (माथिल्लो डोल्पा) गएका छन् । तर, यसपटक जेठको पहिलो साता समेत हिउँ प¥यो । ‘माथितिर हिउँ प¥यो किडा भेटिएन अब छोराहरु फर्किन्छन्’, उनले सुनाइन् ।

१ जेठदेखि डोल्पामा यार्सागुम्बा संकलनका लागि अनुमति प्रदान गरिएको थियो । ४ हजार मिटर माथिको उचाइमा रहेका मैदानमा पाइने यार्सागुम्बा नपाएपछि डोल्माका छोराहरु कामको खोजीमा दुनैदेखि तल नेपालगञ्ज वा सुर्खेत लाग्नेछन् । यता डोल्मा भने जंगलको बीचमा टि हाउस कुरेर बस्नेछिन् ।

राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकले डोल्मालाई टी हाउस हटाउन भनेका छन् । ‘निकुञ्जमा बनाउन पाइदैन हटाऊ भनेका छन्’, तर, डोल्मा पनि कहाँ सजिलै मान्छिन्, ‘कात्तिकसम्म पर्यटक आउँछन् त्यतिबेलासम्म चलाउँछु । त्यसपछि हिउँ पर्छ यो दोकान आफैं बन्द हुन्छ ।’

अग्ला पहाडको खोँचबाट बग्ने फोक्सुण्डो खोलाको किनारमा छ छेप्का । फोक्सुण्डो र उपल्लो डोल्पा पद यात्रामा जाने यात्रीहरु छेप्कामा नै पहिलो बास बस्छन् । २६ सय मिटर उचाइमा रहेको यहाँबाट धेरै टाढा छैन, घोडाबाट लडेर क्याराभान फिल्मका नायक थिन्लेको प्राण पखेरु उडेको भिर ।

थिन्लेको सम्झनामा गाउँको मुखमै सानो गुम्बा पनि बनाइएको छ । हिउँ पर्न थालेपछि पदयात्री आउँदैनन् । छेप्काको बाटोमा खच्चडका बथान पनि हिँड्दैनन् । अनि देश दुनियाँको खबरबाट बेखबर हुन्छन् बालकुमारीहरु ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?