+
+
कविता :

जिउँदा मान्छेहरू

शिव पलाँस शिव पलाँस
२०८० असार ४ गते १३:०९

बुख्याचाहरूको साम्राज्यमा
जन्मिएका छन् केही जिउँदा मान्छेहरू

काकाकुल सहरमा
पाइपबाट खसिरहेको पानीको धारो
पानी होइन
पसिना हो जिउँदो मान्छेको

भित्तामा टाँगिएको भूमिको मानचित्र
नक्सा होइन
प्रतिरोध हो छिमेकी ज्यादतीको
स्वाभिमान हो जिउँदो मान्छेको

‘मैले चढ्ने गाडी अस्पताललाई दिएँ’
त्यो लुटको राजनीति होइन
उपकार हो
समाजसेवा हो जिउँदो मान्छेको

नवप्रवर्द्धन केन्द्रको छानोमुनि
मैलो जाँगे भिरेर हिंडिरहेको मान्छे
बहुलट्टी होइन
आफैंमा जग हो समृध्दिको
उसको रिस रिस होइन
तपस्या हो जिउँदो मान्छेको

वर्षौं देखिन्
निस्पट्ट अँध्यारो हेरेर बसिरहेका पहाडलाई
दृष्टि दान गर्दै हिंड्ने मान्छे
चिकित्सक होइन भगवान हो
जिउँदो भगवान ।

छन् केही जिउँदा मान्छेहरू
त्यसैले त देश जीवित छ
जनताको आशा जीवित छ
नत्र
बुख्याचाहरूले त उहिल्यै साटेका हुन्
आत्मासँग कुर्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?