+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

घोराही सिमेन्टको आईपीओमा झुटा आवेदनबारे सीडीएससीले गरायो बोर्डलाई जानकारी

झुटो आवेदन नदिन चेतावनी

विजय पराजुली विजय पराजुली
२०८० असार ४ गते १४:५४

४ असार, काठमाडौं । घोराही सिमेन्टको आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको छ । सोमबार एक सूचना जारी गर्दै अध्ययन गर्न नेपाल धितोपत्रको सार्वजनिक निष्कासनमा हुने झुटा आवेदन नदिने सचेत गराएको सीडीएस एण्ड क्लियरिङले घोराही सिमेन्टको आईपीओमा त्यस्तो आवेदन देखिएपछि बोर्डलाई पनि जानकारी गराएको हो ।

कम्पनीको आईपीओमा ठूलो संस्थाको सेयरको लागि आवेदन दिएको तर, बैंक खातामा पैसा नहुँदा ‘रिजेक्ट’ भएपछि झुटा आवेदन देखिएकोले बोर्डलाई जानकारी गराएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए ।

‘संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार झुटा एवम् जालसाजी युक्त कारोबार हुन्छ,’ सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जारी गरेको सूचनामा भनिएको छ, ‘यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई धितोपत्र सम्बन्धी ऐन अनुसार कानुनी कारवाही हुने व्यहोरा जानकारी गराउँदै यस किसिमको कार्य नगर्न नगराउनुहुन सम्बन्धित सम्पूर्णलाई सूचित गराइन्छ ।’

घोराही सिमेन्टमा १४ जनाले १० लाख कित्ताको दरले सेयर आवेदन दिएका छन् । तर, उनीहरुको खातामा उक्त सेयरका लागि आवश्यक ब्यालेन्स भने नभएको आचार्यले बताए ।

१० लाख कित्ताको दरले आवेदन दिएको १४ वटा नै झुटो आवेदन हुँदा १ करोड ४० लाख कित्ताको आवेदन सिधै रिजेक्ट हुनेछ । यस्तै अन्य साना कित्ताको लागि आवेदन दिनेहरुको पनि ठुलो संख्यामा आवेदन रद्ध हुन्छ । जसले गर्दा करिब ७० लाख कित्ता सेयरको लागि आवेदन परेको कम्पनीले २ करोड ४० लाख कित्ता भन्दा बढी आवेदन पर्दा समेत आवेदन बन्द नगरी म्याद थप गरेको हो ।

‘बिहानसम्म ८० लाख भन्दा बढी कित्ता सेयरको आवेदन ‘रिजेक्ट’ भएको थियो । त्यो बढ्दो क्रममा छ । १४ जनाले १० लाख कित्ताको दरले आवेदन दिएको तर उनीहरुको खातामा पर्याप्त रकम छैन भन्ने सूचना आएको छ,’ आचार्यले भने, ‘यसरी झुटा आवेदन दिएर कम्पनीको सेयर राम्रो रहेकोले किन्न सर्वसाधारणलाई प्रोत्साहन गरेको हो । धितोपत्र सम्बन्धी ऐन अनुसार उक्त कार्य जालसाजी हुने भएकोले सर्वसाधारणलाई सेचत गराएका हौं ।’

घोराही सिमेन्टले भने कम्पनीको यसमा कुनै संलग्नता नरहेकोले बदनाम गराउने उद्देश्यले यस्तो आवेदन गरिएको हुनसक्ने भन्दै कारवाही गर्नुपर्ने बताएको आचार्यले बताए ।

सि–आश्वा प्रणालीमा आवेदन दिएपछि सिस्टमले सबै आवेदन देखाउने तर रिजेक्ट भएका आवेदन नदेखाउने हुँदा यस्तो कार्य जालसाजी नै भएको आचार्यले बताए ।

 

लेखक
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?