+
+

पोखरामा एक घण्टा रोकिने छ सिचुवानको एयरबस, यात्रुका रुपमा भीआईपी र खेलाडी

अच्युत पुरी अच्युत पुरी
२०८० असार ४ गते १५:३६

४ असार, काठमाडौं । व्यावसायिक उडानका लागि खुला भएको ६ महिनापछि बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट उडेको सिचुवान एयरलाइन्सको जहाज अवतरण गर्दैछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको अनुमति अनुसार जहाज नेपाली समय अनुसार ९ बजेर २५ मिनेटमा पोखरामा अवतरण गर्दैछ । यो जहाज पोखरामा १ घण्टा रोकिने छ । त्यसपछि जहाज ११ बजे काठमाडौं उड्ने गरी कार्यक्रम तय गरिएको छ ।

सिचुवानले पोखरामा न्यारोबडी ए३१९ जहाज ल्याउने गरी अनुमति पाएको छ । हिमालय एयरलाइन्सले परीक्षण उडान गर्नुबाहेक पोखरामा अवतरण गर्ने सिचुवान पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक कम्पनी हुने छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ का दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार बुधबार बिहान हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारीको काम जारी छ । ‘हामी पहिलो उडानकै तयारीमा आज पनि जुटिरहेका छौं,’ उनले । उनका अनुसार जहाजमा चीनको छेन्दुबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली समेत आउने जानकारी दिइएको छ ।

तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माका अनुसार चीनबाट यो जहाजमा अध्यक्ष तिमिल्सिनासहित १३० जना यात्रु रहने छन् । अध्यक्ष तिमिल्सिना अहिले चीन भ्रमणमा छन् । उनले आफ्नो चिनियाँ भ्रमणबारे पोखरामै सञ्चारकर्मीलाई जानकारी समेत गराउने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।

चिनियाँ दूतावासको सक्रियतामा पोखरामा हुँदैछ पहिलो चार्टर्ड उडान

मंगलबार पोखरामा अवतरण गर्ने जहाजमा चीनबाट नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलमा सहभागी हुने खेलाडीहरु आउँदैछन् । पोखराको फेवातालमा असार ८ र ९ गते (२३–२४ जुन २०२३ )मा फेस्टिभल हुँदैछ ।

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकको आयोजनामा फेस्टिभल आयोजना भएको हो । जसलाई पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनले सहआयोजना गरेका हुन् ।

फेस्टिभललाई होटल एसोसिएसन नेपाल (हान) र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)ले समेत सहयोग गर्दैछ । यस पटक चीनमा पहिलो अन्तर्राष्ट्रिय उडान सम्भव गराउन चिनियाँ दूतावासको सकारात्मक भूमिका रहेको बोर्डका एक अधिकारीले जानकारी दिए । यसले आगामी दिनमा चिनियाँ पर्यटकबीच पोखराको प्रचारमा समेत सहयोग पुग्ने बताए ।

नियमित उडान भने अझै अनिश्चित

पोखरामा पहिलो चार्टर्ड उडान सम्भव भएपनि नियमित उडानको भने अझै टुंगो छैन । विमानस्थलका प्रमुख गौतमका अनुसार पोखरामा नियमित उडान गर्न सिचुवानसँग छलफल जारी छ । यद्यपि ठोस निर्णय केही भएको छैन ।

‘पहिलो यो उडान सफल गराउनमै हामी जुटेका छौं,’ उनले भने, ‘त्यसपछि नियमित उडानका लागि पहल गर्छौं ।’ नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत नियमित उडानका लागि भने छलफल मात्रै भएको जनाएको छ । पोखरा चिनियाँ सहायतामा बनेको परियोजना हो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?