+
+

त्रिकोणीय बहुसंकटमा विश्व व्यवस्था, लोकतन्त्रले खप्न सक्ला ?

युक्रेनमा रुसको हार र चीन–अमेरिका तनावमा कमी आउँदा विश्व नेताहरुलाई जलवायु परिवर्तन विरुद्ध लड्नका लागि केन्द्रित हुने अवसर प्रदान गर्नेछ जसले मानव सभ्यता ध्वंस पार्ने खतरा बोकिरहेको छ । तथापि यो परिणाम प्राप्त हुने मार्ग भने निकै साँघुरो र घुमाउरो छ । त्यसैले यहाँनेर प्रश्न उठ्नु स्वभाविकै हो, के लोकतन्त्रले अहिलेको बहुसंकट खप्न सक्ला ? 

जर्ज सोरोस जर्ज सोरोस
२०८० असार ५ गते ७:१५

हामी अहिले निकै समस्याग्रस्त समयमा बाँचिरहेका छौँ । अहिले धेरै चिजहरु निकै तीव्र गतिमा घटित भैरहेका छन् । मानिसहरु असमञ्जसमा छन् ।

कोलम्बिया विश्वविद्यालयका आर्थिक इतिहासशास्त्री एडम टूजेले यो अवस्थालाई जनाउनका लागि एउटा शव्द प्रतिपादन गरी चर्चित बनाएका छन् । यो अवस्थालाई उनले ‘पोलीक्राइसिस’ (बहुसंकट) नामकरण गरेका छन् ।

यो बहुसंकटका धेरै स्रोतहरु छन् । मेरो विचारमा विश्वमा अहिलेको पोलीक्राइसिस निम्त्याउने प्रमुख स्रोत चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स नै हो ।

त्यस्तै दोस्रोमा जलवायु परिवर्तन आउँछ भने तेस्रो स्रोतको रुपमा युक्रेनमाथि रुसी आक्रमणलाई लिन सकिन्छ ।

बहुसंकटका अन्य स्रोतहरुको सूचि लामो हुनसक्छ । तर यी तीनवटा विषय प्रमुख छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई )

ओपन एआई नामक स्टार्टअप कम्पनीसँगको सहकार्यमा माइक्रोसफ्टले बनाएको च्याट जिपिटी आम प्रयोगका लागि निःशुल्क रुपमा उपलब्ध भएसँगै यसले पूरै विश्वलाई नै हल्लाइदियो । च्याट जिपिटी गत सन् २०२२ को नोभम्बेरमा सार्वजनिक भएको हो । यसले गुगलको व्यवसायिक मोडेलमाथि अस्तित्वकै संकट सिर्जना गरिदिएको छ । जसका कारण गुगल पनि तत्कालै च्याट जिपिटीको प्रतिस्पर्धी आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट बार्ड ल्याउन बाध्य भयो ।

त्यसको लगत्तै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का जन्मदाता मानिने जेफ्री हिन्टनले गुगल कम्पनीबाट राजीनामा दिए । एआईले सिर्जना गरेका खतराहरुको बारेमा स्वतन्त्र र खुलस्त रुपमा बोल्न सकियोस् भनेर उनी गुगलबाट अलग्गिएका हुन् । तत् पश्चात् उनले एआईको विषयमा आफ्नो पूर्वधारणा उल्टाउँदै यसप्रति नैराश्यता प्रकट गरे । एआईले मानिसको सभ्यता नै ध्वस्त पार्नसक्ने उनको भनाइ थियो ।

हिन्टनले गुगलमा रहँदा न्युरल नेटवर्कको विकास गर्ने कार्यमा नेतृत्व गरेका हुन् । यो प्रविधि भाषाहरु बुझ्ने तथा सिर्जना गर्नुका साथै डाटाहरु विश्लेषण गरी सीपहरु सिक्न सक्षम हुन्छ । डाटाको परिमाणमा वृद्धिसँगै एआईको लार्ज ल्यांग्वेज मोडेलको क्षमतामा पनि वृद्धि हुन्छ ।

यसले हिन्टनमा एउटा गहिरो छाप छाड्यो । उनी भन्छन्– यो प्रविधि तथा प्रणालीमा जे कुरा भैरहेको छ, त्यो मानिसको मस्तिष्कमा हुने गतिविधिको तुलनामा धेरै नै उत्कृष्ट हुन्छ । जब एआई शक्तिशाली बन्दै जान्छ, यो खतरनाक पनि हुँदै जान्छ ।

एआईको विकासमाथि नियमनको खाँचो छ । तर यस्तो नियमन विश्वव्यापी हुनुपर्दछ । तथापि एआईमाथि विश्वव्यापी समान नियमनको सम्भावना कम छ किनकि विश्वमा दुई विपरीत विचारधारा तथा शैलीका शासन व्यवस्थाहरु छन् ।

हिन्टनका अनुसार पूर्णरुपमा स्वचालित हतियार प्रणाली अर्थात् किलर रोबोटको विकास यो क्षेत्रको सबैभन्दा भयानक खतराको रुपमा रहेको छ ।

उनका अनुसार हामी पूर्णरुपमा अज्ञात क्षेत्रमा प्रवेश गरिरहेका छौँ । हामीहरु आफूभन्दा पनि शक्तिशाली मेसिनहरु बनाउन सक्षम छौँ तथापि हालसम्म यी मेसिनहरु हाम्रै नियन्त्रणमा छन् । तर यदि हामीले बनाएका मेसिनहरु हामीभन्दा धेरै स्मार्ट भए भने के गर्ने ? उनी प्रश्न गर्छन् । उनको अनुमान अनुसार अबको ५ देखि २० वर्षसम्ममा आर्टिफिसियल इन्टेलिजेन्सले मानिसको बुद्धिलाई जित्नेछ । साथै त्यसबेला आर्टिफिसियल इन्टेलिजेन्सले आफू शक्तिशाली बनेर मात्रै आफ्नो लक्ष्य राम्रोसँग भेटाउन सकिन्छ भन्ने कुरा बुझ्नेछ ।

हिन्टनले भनेको कुरा निकै विचारणीय छ । यसले गोथेको The Sorcerer’s Apprentice शीर्षकको कविताको याद दिलाउँछ । त्यसमा एप्रेन्टाइसले जादू सिकिरहको हुन्छ तर उसको शिक्षकले के पढाइरहेको छ भन्ने कुरा पूर्णरुपमा बुझेको हुँदैन । जब शिक्षकले उसलाई भुईं बढार्न आदेश दिन्छ तब उसले कुचो चलाउनका लागि जादूका शव्द प्रयोग गर्दछ । कुचोले उसको जादूको शव्द मान्दछ । तर कुचोले पानीका बाल्टिन ल्याएर भुईं बढार्ने कुचोको कार्यलाई रोक्न सक्दैन, जसका कारण घरमा पानीको बाढी नै आउँछ ।

वास्तवमा हामी मानवजातिहरु आफू बाँचिरहेको यो दुनियामा सहभागी र पर्यवेक्षक दुवै हौं । सहभागीको हैसियतमा हामीले यो दुनियालाई आफ्नो अनुकूल परिवर्तन गर्न चाहन्छौं भने पर्यवेक्षकको रुपमा दुनियाको वास्तविक यथार्थ जे छ त्यही कुरालाई बुझ्न चाहन्छौं । तर हाम्रा यी दुई उद्देश्यहरुले एक अर्कालाई हस्तक्षेप गर्दछन् । तर एआईले यी सामान्य तथ्यलाई भत्काएको छ, किनकी वास्तविकतासँग यसको कुनै साइनो छैन । एआईले आफ्नै कृत्रिम वास्तविकता सिर्जना गर्दछ र जब आर्टिफिसियल रियालिटी वास्तविक रियालिटीसँग मेल खाँदैन त्यसलाई भ्रमको रुपमा त्यागिन्छ ।

यावत् कारणहरुले गर्दा एआईको विकासमाथि नियमनको खाँचो छ । तर यस्तो नियमन विश्वव्यापी हुनुपर्दछ । किनकि नियमनको काममा छली गर्नेले ठूलो फाइदा उठाउने सम्भावना हुन्छ ।

तथापि एआईमाथि विश्वव्यापी समान नियमनको सम्भावना कम छ किनकि विश्वमा दुई विपरीत विचारधारा तथा शैलीका शासन व्यवस्थाहरु छन् । उनीहरुबीच के कुरा किन नियमन गर्नुपर्छ भन्ने कुरामा आधारभूत रुपमै मतभिन्नता छ ।

एकातर्फ विश्वका खुल्ला अर्थात् प्रजातान्त्रिक समाज तथा सरकार छन् भने अर्कोतर्फ प्रजातान्त्रिक अधिकारमा कमी भएका बन्द समाज अनि सरकार छन् । खुल्ला समाजमा सरकारको भूमिका व्यक्तिको स्वतन्त्रताको सुरक्षा गर्नु हुन्छ भने बन्द समाजमा व्यक्तिको दायित्व नै शासकको इच्छा मुताविक काम गर्नु रहन्छ ।

एआई अविश्वसनीय गतिमा विकास भैरहेको छ र आम सामान्य मानिसहरुले यसलाई बुझ्न असम्भव छ । यसले हामीलाई कहाँ लैजाँदैछ भन्ने कुराको अनुमान कसैले गर्न सक्दैन । तर हामी एउटा कुरामा भने ढुक्क हुन सकिन्छ, त्यो के भने एआईले बन्द समाज भएका सरकारहरुलाई सहयोग गर्दछ भने खुल्ला समाजमा घातक खतरा पैदा गर्दछ । किनकि आर्टिफिसियल इन्टेलिजेन्सले नियन्त्रणका नयाँ साधनहरुको विकास गर्न र समाजमाथि निगरानी गर्नका लागि सरकारलाई सहयोग गर्दछ ।

आर्टिफिसियल इन्टेलिजेन्समाथि नियमनको खाँचो छ भन्ने कुरा यो प्रविधिको विकास गर्नेहरुले नै बताउन थालेका छन् । तर यसको नियमन कसैले गर्नेवाला छैन । एआई सरकारी संयन्त्रहरुभन्दा पनि तीव्र गतिमा विकसित भैरहेको छ । अमेरिकामा बाइडेन प्रशासनले एआईमाथि नियमन गर्नका लागि केही कार्यकारी कदमहरु चालेको छ । तर कंग्रेसले आर्टिफिसियल इन्टेलिजेन्स बिल अफ राइट जस्तो कुनै कानून पारित गर्ने सम्भावना भने कम छ ।

तर एउटा समस्या भने सम्मुखमै छ र त्यो अवस्यंभावी छ । अमेरिकामा अर्को वर्ष सन् २०२४ मा आम निर्वाचन हुँदैछ र बेलायतमा पनि । ती निर्वाचनमा एआईले निश्चित रुपमै महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ जुन खतरनाक सावित हुनसक्छ ।

एआईको सहयोगमा गलत सूचना, समाचार तथा डीप फेकहरु सजिलै उत्पादन गर्न सकिन्छ र यस्तो कार्य गर्ने मानिसहरु ठूलो संख्यामा हुन्छन् । सायद त्यही कारणले पनि अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्सले सबैको ध्यान तान्नेछ ।

जलवायु परिवर्तन

पोलीक्राइसिसमा दोस्रो तत्व जलवायु परिवर्तन हो । मानवीय हस्तक्षेपले गर्दा विश्वको जलवायु प्रणाली असन्तुलित भएको छ र यसमा कार्बनडाइअक्साइड तथा मिथेनजस्ता हरितगृह ग्यासको ठूलो परिमाणको उत्सर्जन कारक तत्वको रुपमा रहेको छ ।

जलवायु परिवर्तन विरुद्धको लडाइँमा हामी निकै पछाडि छौँ । जलवायु वैज्ञानिकहरुले आवश्यक ठहराएका सबै काम हामीले गर्नुपर्नेछ । जसमा गहन तथा तीव्र रुपमा हरितगृह ग्यासको उत्सर्जन कटौतीदेखि वायुमण्डलबाट अतिरिक्त हरितगृह ग्यास हटाउने र ध्रुवीय हिमक्षेत्रलाई पुनर्स्थापित गर्ने । यसका लागि हामीले आदिवासी समुदायको समर्थन लिनै पर्दछ ।

सन् २०१५ को पेरिस सम्झौताले तापक्रम वृद्धिलाई औद्योगिक क्रान्ति अगाडिको भन्दा १.५ डिग्री सेल्सियस बढीको सीमामा राख्ने लक्ष्य तय गर्यो । तर तय गरिएको यो लक्ष्य पूरा नहुने देखिन्छ । जलवायु परिवर्तनसँग जुध्नका लागि अपनाइएका विभिन्न प्रयासका बाबजुत उष्णीकरणको दर वास्तवमा बढिरहेको छ ।

बेलायत सरकारका पूर्व वैज्ञानिक सल्लाहकार तथा जलवायु विज्ञ डेभिड किंग र पोस्टड्याम इन्स्टिच्यूटका जलवायु वैज्ञानिक जोन रकस्ट्रोम चाहिँ यो तापक्रम वृद्धिले चरम विन्दुसम्म पुर्याउने र त्यसपछि पृथ्वीमा रहेका सबै जीवित वस्तुहरुको अस्तित्व समाप्त हुने दिशातर्फ अघि बढ्ने चेतावनी दिन्छन् ।

विश्वमा अहिलेकै उत्सर्जनदर तथा हालकै जलवायु नीतिहरु कायमै रहेमा यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम २.५ देखि २.५ डिग्री सेल्सियस सम्मले बढ्नेछ । यो विपदकारी हुने वैज्ञानिकहरुको भनाइ छ ।

साथै यो तापक्रम वृद्धि पश्चात् पृथ्वीमा पछिल्लो ४० लाख वर्षयताकै सबैभन्दा तातो हुनेछ । यसले ग्रिनल्याण्ड, अन्टार्कटिका तथा हिमालय लगायतमा रहेको सबै हिउँ पग्लिनेछ र समुद्रको सतह १० मिटरसम्मले बढ्नेछ ।

रकस्ट्रोम भन्छन्– पृथ्वीमा रहेका सबै ठूला जैविक प्रणालीहरु समाप्त हुनेछन् । उष्ण सदावहार जंगल तथा रेनफरेस्टदेखि धेरै ठाउँका समशितोष्ण वनहरु सबै मासिनेछन् भने ध्रुवीय हिउँ सबै पग्लिएर रित्तिनेछ र सामुद्रिक जैविकता पनि सम्पूर्ण रुपमा नास हुनेछ । जसका कारण पृथ्वीको अधिकांश ठाउँ जीवनका लागि अयोग्य बन्नेछ ।

उनका अनुसार २.५ देखि २.७ डिग्री सेल्सियसको तापक्रम वृद्धि भयो भने भूमध्यरेखीय क्षेत्रमा रहेको पृथ्वीको एक तिहाइ भूमि बसोबासका लागि अयोग्य हुनेछ किनकि त्यहाँको औसत तापक्रम ३० डिग्री नाघ्नेछ जुन स्वास्थ्यजन्य हिसाबले उच्चतम विन्दु हो ।

तर दुर्भाग्यवस जब जलवायु परिवर्तन विरुद्धको लडाइँका क्रममा मानिसको जीविकामाथि दखल पुग्दछ तब मानिसहरु आफ्नो जीविकोपार्जनको सुरक्षामा लाग्दछन् । जर्मनी र नेदरल्याण्डका किसानहरु पनि नाइट्रोजन उत्सर्जन नियमन गर्ने सरकारी कदमको विरोधमा छन् । किनकि यस्तो कदमले उनीहरुलाई गाई पाल्नमा रोक लगाउनेछ । उनीहरु परिचालित भए, चुनाव समेत जिते र अहिले युरोपेली युनियन नै हल्लाइरहेका छन् । अर्कोतर्फ तेल कम्पनीहरु पनि आफ्नो नाफा कायमै राख्न चाहन्छन् ।

जलवायु परिवर्तन विरुद्धको लडाइँमा हामी निकै पछाडि छौँ । जलवायु वैज्ञानिकहरुले आवश्यक ठहराएका सबै काम हामीले गर्नुपर्नेछ । जसमा गहन तथा तीव्र रुपमा हरितगृह ग्यासको उत्सर्जन कटौतीदेखि वायुमण्डलबाट अतिरिक्त हरितगृह ग्यास हटाउने र ध्रुवीय हिमक्षेत्रलाई पुनर्स्थापित गर्ने । यसका लागि हामीले आदिवासी समुदायको समर्थन लिनै पर्दछ । र, यी सबै काम यथाशीघ्र गर्नुपर्दछ ।

युक्रेन-रुस युद्ध

यो बहुसंकटको तेस्रो हिस्सा हो । युक्रेनमाथि रुसी हस्तक्षेप र आक्रमण विश्वको लागि नकारात्मक धक्काको रुपमा आयो जसले खाद्यान्न आपूर्तिमा अवरोध खडा गर्नुका साथै प्रमुख भूराजनीतिक पुनर्आबद्धता सिर्जना गर्यो । तर यति हुँदाहुँदै पनि यसको वास्तविक नतिजा भने अपेक्षा गरिएको भन्दा राम्रो छ ।

युक्रेनी सेनाले नायकी प्रतिरोध गरेको छ र अमेरिका तथा युरोपको बलियो सहयोगका कारण परिस्थिति बदलिएको छ । रुसी सेना कागजी बाघ सावित भएको छ, खराब नेतृत्व र पूर्णरुपमा भ्रष्टीकृत ।

युक्रेनमा आक्रमण गर्नका लागि केही समय खडा गरिएको निजी भाडाका सैनिकहरुको समूह द वाग्नर ग्रुुप अन्ततः युक्रेनलाई हराउन असफल रह्यो ।

फलतः पश्चिमा मुलुकहरुले प्रतिबद्धता गरे अनुरुपका सबै सामग्रीहरु आएसँगै युक्रेन अहिले जतिसक्दो छिटो रुसमाथि जवाफी आक्रमण गर्ने तयारीमा छ । अमेरिकी राष्ट्रपतिले त युक्रेनलाई एफ १६ युद्धक विमान पनि दिन सहमत भएका छन् ।

युक्रेनको जवाफी हमला सफल हुने अपेक्षा गर्न सकिन्छ र यसक्रममा उसको निसाना चाहिँ क्रिमिया प्रायद्वीप हुनेछ जहाँ रुसी नेभीको घरेलु बेस रहेको छ । क्रिमियालाई रुससँग जोड्ने पुल यसअघि भएको आक्रमणबाट क्षतिग्रस्त भएकोमा त्यसलाई ध्वस्त बनाएसँगै युक्रेनले रणनीतिक सम्पत्तिलाई रणनीतिक दायित्वका रुपमा परिणत गर्न सक्दछ किनकि क्रिमियामा पानी छैन । पुल ध्वस्त भएसँगै क्रिमिया पानीका लागि युक्रेनमाथि निर्भर हुनुपर्नेछ ।

युक्रेन युद्धको अन्त्य विश्वका लागि सकारात्मक झट्काको रुपमा आउनेछ । यसले बाइडेनलाई चीन र अमेरिकाबीचको तनाव कम गर्ने अवसर प्रदान गर्नेछ । आर्थिक गिरावटका कारण चिनियाँ राष्ट्रपति पनि अमेरिकासँग मिल्न इच्छुक हुनेछन् । वास्तवमा बाइडेनले चीनमा सत्ता परिवर्तन चाहेका छैनन्, क्रिमियाको स्टाटसको अर्थात् यथास्थितिको अवस्था कायमै होस् भन्ने अमेरिकाको चाहना हो ।

युक्रेनमा रुसको हार र चीन–अमेरिका तनावमा कमी आउँदा विश्व नेताहरुलाई जलवायु परिवर्तन विरुद्ध लड्नका लागि केन्द्रित हुने अवसर प्रदान गर्नेछ जसले मानव सभ्यता ध्वंस पार्ने खतरा बोकिरहेको छ । तथापि यो परिणाम प्राप्त हुने मार्ग भने निकै साँघुरो र घुमाउरो छ । त्यसैले यहाँनेर प्रश्न उठ्नु स्वभाविकै हो, के लोकतन्त्रले अहिलेको बहुसंकट खप्न सक्ला ?

(सोरोस फण्ड म्यानेजमेन्ट कम्पनी तथा ओपन सोसाइटी फाउन्डेसनका अध्यक्ष रहेका जर्ज सोरोसको यो आलेख प्रोजेक्ट सिन्डिकेटबाट भावानुवाद गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?