+
+

प्रेम चलाउनेलाई न्याय दिन र पीडकलाई दण्डित गर्न सरकारसँग माग

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १२:२१

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय दिन र पीडक नेविसंघका विद्यार्थीहरुलाई दण्डित गर्न सरकारसँग माग गरेका छन् ।

आक्रमणमा संलग्नलाई लागेको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति उनले आपत्तिसमेत जनाए ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरणासन्न हुने गरी कुटनेहरुलाई नछोडौं । म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । कृपया, यो गल्तीलाई सच्याउनुस् । पीडितलाई न्याय दिनुस् ।’

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै गत २०७७ साल आसोज २० गते आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेविसंघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । सरकारले यही मुद्दा जेठ ३० गते फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनसन सुरु गरेका छन् ।

सांसद परियारले न्याय मर्न नदिन सरकारलाई आह्वान गरे । उनले भने, ‘आज कमसेकम विश्वविद्यालयहरु शान्ति क्षेत्र हुन भन्ने हाम्रो अवधारणगत बुझाइ हो । प्रहरीले पनि भित्र जान पाउँदैन भन्ने हाम्रो शान्तिको मान्यतालाई गुण्डागर्दीको शैलीमा दिनदहाडै त्यसरी कुटपिट गरेर मरनासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो । न्याय चाहिन्छ । न्यायलाई मर्न नदिऊ । न्याय पनि म¥यो भने हाम्रो आशा रहँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?