+
+
साफ च्याम्पियनसिप :

कुवेतविरुद्ध ‘सरप्राइज रिजल्ट’ निकाल्ने नेपालको लक्ष्य

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असार ६ गते ८:२७

६ असार, बेंगलुरु । बेंगलुरुस्थित कान्तरभा स्टेडियममा बुधबार (आज) कुवेतविरुद्ध मैदान उत्रँदै नेपालले १४ औं संस्करणको साफ च्याम्पियनसिप यात्रा सुरु गर्दैछ । नयाँ प्रशिक्षक युवा खेलाडीहरुको आगमन अनि थोरै तयारीसहित नेपाली टोली बेंगलुरु आइपुगेको छ ।

पहिलो पटक साफ च्याम्पियनसिपमा नेपाली टिम हेरिरहेका इटालियन युवा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले कुवेत विरुद्धको खेल राम्रो नतिजा ल्याउने विश्वास राखेका छन् ।

मंगलबार अनलाइनखबरसँगको कुराकानीमा प्रशिक्षक एनेसले प्रतियोगिताको लागि थोरै समय भएपनि राम्रो प्रदर्शन गर्ने बताए । ‘हामीले तयारीका लागि थोरै समय पाए पनि फिजिकल्ली फिट छौँ । कुवेत पनि राम्रो टिम हो तर उनीहरुको स्तर कस्तो छ थाहा छैन । यद्यपि उनीहरुको अनुभवी कोच छन्,’ एनेसले भने । ‘राम्रो विपक्षी हो, हाम्रो लागि धेरै ठूलो चुनौती छ ।’

ए डिभिजन लिग सकिएलगत्तै मैत्रीपूर्ण खेल खेल्न फिलिपिन्स पुगेको नेपालले एकीकृत रुपमा थोरै समय मात्र तयारी गर्न पायो । प्रशिक्षक एनेसले पनि केही दिन तयारी गर्न पाएको भए अझ राम्रो हुने बताए । ‘फिलिपिन्स विरुद्धको जम्मा दुई दिनको तयारी गरेर पनि खेल राम्रो भयो । हामीले दुई अवसर गुमायौँ र एक सेभ गर्न सकेनौँ । तर त्यो खेलअघि १० दिनको समय पाएको भए हामी जित्न सक्थ्यौं,’ उनले समीक्षा गरे, ‘यस खेलबाट धेरै सहयोग पुगेको छ । हरेक खेल र हरेक टे«निङ सेसनले पनि टिमको लागि सहयोग गरेको छ ।’

३८ वर्षीय इटालियन नागरिक भिनसेन्चो नेपालको प्रशिक्षक बनेको जम्मा साढे तीन महिना मात्र भएको छ । यो समयमा नेपालको लिग पनि भएकाले उनले टिमसँग एकसाथ धेरै समय काम गर्न पाएनन् । त्यसैले वास्तविक भएर पनि सोच्नुपर्ने उनलाई थाहा छ ।

प्रशिक्षक एनेसले स्पष्ट लक्ष्य नबताए पनि उनी सकारात्मक रुपमा साफ च्याम्पियनसिप सुरुवात गर्न चाहन्छन् । उनी हल्ला गरेर लक्ष्य राखेर मैदान उत्रँदैनन् । उनको आफ्नै फिलोसोफी छ । ‘मैले अहिलेसम्म फुटबलमा ५ उपाधि जितेको छु । तर फुटबलबारे मेरो विचार के छ भने म कहिल्यै लक्ष्य राखेर अघि बढ्दिनँ,’ एनेसले भने, ‘फुटबल भनेको ९० मिनेटमा बल घुमिरहने खेल हो । लाखौंको सपना पूरा गर्नका लागि बल नेटमा छिराउनुपर्छ । कहिलेकाहीँ तपाईंले चाहेको जस्तो नतिजा नआउन पनि सक्छ ।’

उनले साफ च्याम्पियनसिप मैत्रीपूर्ण खेल नभएर प्रतियोगिता भएको भन्दै यसमा फरक अवस्था हुने बताए । त्यसैले उनी अहिले कुवेत विरुद्धको खेलमा मात्र केन्द्रित छन् । ‘मेरो ध्यान अहिले कुवेतको खेलमा मात्र केन्द्रित छ । एक–एक खेलमा केन्द्रित हुँदै जाने हो । अहिले भारत विरुद्धको खेलबारे सोचेको छैन ।’

कुवेत परिचित विपक्षी

मिडल इस्ट राष्ट्र कुवेत पछिल्लो समय नेपालको लागि परिचित प्रतिद्वन्द्वी जस्तै बनिसकेको छ । २०१९ यता नै नेपालले कुवेतसँग पाँच खेल खेलिसकेको छ । तर नेपालले अन्तर्राष्ट्रिय फुटबलमा कुवेतलाई हराउन सकेको छैन ।

नेपालले अहिलेसम्म कुवेतविरुद्ध ९ खेल खेल्दा एक खेल मात्र बराबरी गरेको छ भने ८ खेलमा पराजित भएको छ । २०१९ मा भएको मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको थियो । त्यही नै अहिलेसम्मको राम्रो नतिजा हो ।

पछिल्लो पटक २०२२ मा भएको एसिया कप छनोटमा नेपाल कुवेतसँग ४–१ ले पराजित भएको थियो । उक्त खेलमा नेपालका लागि दर्शन गुरुङले गोल गरेका थिए । तर उनी अहिले अष्ट्रेलियामा छन् ।

कुवेत आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ च्याम्पियनसिप खेल्दैछ । अहिलेसम्म हराउन नसकेको प्रतिद्वन्द्वीविरुद्ध सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल छ ।

उता पहिलो पटक साफमा खेल्न बोलाएको कुवेतका पोर्चुगिज प्रशिक्षक रुई बेन्टोले साफलाई धन्यवाद दिएका छन् र यस प्रतियोगितामा केही उपलब्धि हासिल गर्ने लक्ष्यमै कुवेती टिम बेंगलुरु आएको उनले बताएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?